मकवानपुर । बागमती प्रदेशभित्रका सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को सुरु गरिएको छ।
सोमबार यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराबाट बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरेका हुन् ।
डिजिटाइजेशनका लागि मन्त्रालयले १ सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको यातायात मन्त्री महर्जनले बताए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताए।
यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न डिजिटाइजेशन सफल हुने विश्वास लिएको बताउँदै मन्त्री महर्जनले भने ‘भीआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि पटकौ कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरेका छौं।’
उनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको बताए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव बिरेन्द्रदेव भारती, यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।
मकवानपुर । मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट उद्योगले लामो समयदेखि कार्यरत ९७ मजदुरलाई रोजीरोटी खोसेर कामबाट निकालेपछी उद्योगमा झण्डै एकसाताबाट चरणबद्ध आन्दोलन जारी छ ।
नेपाल कै ठुलो र पुरानो औद्योगिक क्षेत्रको रुपमा रहेको हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको एन्टारटीक बिस्कुट प्रा. लि.ले एकै साथ कर्मचारी अवकाश गरेपछि अहिले आन्दोलन चर्काइएको हो । उक्त बिस्कुट कारखानामा करिब ४०० जना श्रमिकहरु काम गर्दै आएका छन्।
जसमध्ये उद्योगले ९७ श्रमिक मजदुरलाई निष्काशन गरेपछि उद्योगमा जिफन्टको नेतृत्वमा सशक्त विरोध र चरणबद्ध आन्दोलन सुरु भएको हो । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको विरुद्धमा १ फागुनदेखि थालेको आन्दोलनलाई थप चर्काउने श्रमिकहरुले चेतावनी दिएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले यस कार्य तुरुन्त बन्द गरेर श्रमिकलाई यथासिघ्र पुनर्बहाली गर्न माग गरेको छ ।
समग्र उद्योग ट्रेड यूनियन नेपाल मकवानपुरका अध्यक्ष केशव प्रसाद अधिकारीका अनुसार उद्योगले बिना कारण स्थायी तथा करारका समेत गरी ९७ जना नियमित रुपमा काम गर्दै आइरहेका श्रमिकलाई गैरकानूनी ढंगले निष्काशन गरेको हो। उद्योगले श्रमिकको मौलिक हक हनन नगर्न माग गर्दै श्रमिकहरु गैरकानूनी तरिकाबाट निष्काशनमा परेकालाई पुनर्वहाली गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको हो ।
उद्योग व्यवस्थापन पक्षको गलत कदम नसच्चिए आन्दोलन थप चर्काउने चेतावनी जिफन्टले दिएको छ । श्रमिकहरुलाई निष्काशन गरिएको विरुद्धमा जारी संघर्ष र थप योजना निर्माणका लागि हेटौंडास्थित जिफन्ट प्रदेश कार्यालयमा समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याललगायतको उपस्थितिमा बसेको बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय लिएको छ ।
त्यस्तै समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरिएको छ । विरोध अन्तर्गत आबद्ध घटक र जन संगठनहरुबाट ऐक्यबद्धता जाहेर गर्ने, मिडिया परिचालन गर्ने, फागुन ६ गते पत्रकार सम्मेलन गर्ने लगायतको निर्णयहरू सार्वजनिक गरिएको छ ।
मजदुरलाई काममा फर्काउन बर्तौलाको ध्यानाकर्षण

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक विस्कुटबाट निकालिएका मजदुरलाई तुरुन्तै काममा फर्काउन मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदमा ध्यानाकर्षण गराउनु भएको छ ।
मुख्य सचेतक बतौलाले ५ फागुन सोमबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै श्रमिकको अधिकार सुनिश्चित गर्न उद्योग व्यवस्थापनसँग माग र आवश्यक सहजिकरणकोलागि श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र भित्र एउटा अन्टार्टिक विस्कुट फ्याक्ट्री छ । त्यहाँ लामो समय देखी कार्यरत मजदुरहरु र व्यवस्थापनको बिचमा श्रमसंग सम्बन्धीत विवाद भयो । विवादको प्रकृया चल्दै गर्दा वार्ता पनि चलिरहेको थियो । वार्ताकै क्रममा व्यवस्थापनले ९६ जना श्रमिकहरुलाई रोजगारीबाट हटाउने काम भयो । त्यस पछी त्यहाँ आन्दोलन चलिरहेको छ ।
रोजगारबाट हटाईएको श्रमिकहरुलाई व्यवस्थापनले अविलम्ब काममा फर्काउने वातावरण बनाउन बर्तौलाले माग गरे । संविधानको धारा ३४ को श्रमको हक र श्रमसंग सम्बन्धीत ऐनको दिएका प्रावधानहरु वमोजिम श्रमीकका हक अधिकारको सुरक्षित गरियोस् भन्नेमा आवाज उठाएका हुन् । “यसका लागि श्रम मन्त्रालयको आवश्यक सहजीकरणको लागि ध्यानाकर्षण गराउँछु” प्रतिनिधि सभाको शुन्य समयमा बर्तौलाले भने ।
जिफन्ट बागमती प्रदेश कमिटीको ध्यानाकर्षण
उद्योगमा कार्यरत मजदुरको रोजिरोटी नै खोसेर अवकाश गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमतीले ध्यानाकर्षण जनाएको छ । जिफन्ट प्रदेश कमिटी अध्यक्ष रामहरी नेपालका अनुसार उचित श्रम अभ्यास तथा संगठन स्वतन्त्रतालई श्रमिकहरुको मौलिक हकको रुपमा स्थापित जिफन्टसँग आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल एन्टारटीक बिस्कुट प्रा. लि. प्रतिष्ठान स्तरिय युनियन स्थापना गरिएको छ ।
सोहि युनियनको पहलमा त्यस प्रतिष्ठानमा कार्यरत श्रमिकहरु मध्ये ८४ जना श्रमिकलाई गत २०८० माघ ७ गते श्रम कार्यालय हेटौंडामा भएको वार्ताको माध्यामबाट नियमित रोजगार संझौता गर्ने र बाँकी श्रमिकहरुका हकमा कानुनः योग्य व्यक्तिहरुलाई क्रमशः नियमित रोजगार सम्झौता गर्दै जाने सहमती गरिएको थियो ।
व्यवस्थापकले बिगतमा गरिएको सहमती बमोजिमको कार्य अगाडी नबढाएपछि ९ साउन २०८१ मा ७२ जना श्रमिकहरुले हस्ताक्षर गरि नियमित रोजगार संझौताको लागि उद्योग व्यवस्थापकलाई निवेदन दिएका थिए ।
यस सन्दर्भमा व्यवस्थापकले श्रम विवाद समाधान गर्ने तर्फ ध्यान नदिएकोले प्रचलित श्रम ऐन बमोजिम ५ भदौ २०८१ मा श्रम कार्यालय हेटौंडामा ८५ जना श्रमिकहरुको हस्ताक्षर सहित मेल मिलापका लागि अनुरोध गरिएको थियो । यस सम्बन्धमा ९ कात्तिक २०८१ मा श्रम कार्यालयमा दुबै पक्ष बिच छलफल भई उद्योगमा कार्यरत रहेका मध्ये ११० जना नियमित प्रकृतिको काममा रहेको र उनीहरुको नियमित प्रकृतिकै रोजगार संझौता हुनु पर्नेमा ट्रेड युनियनका वार्ता प्रतिनिधीहरुको अडान रहेपछि प्रतिष्ठानमा छलफल गर्न समय दिइएको नेपालले बताए ।
तर रोजगारदाताले खराब नियत राख्दै ट्रेड युनियन प्रदत्त अधिकार माथी वन्देज लगाउन प्रयत्न गरेको उनले बताए । यसैको विरोधमा जिफन्टले विभन्न माग राख्दै आन्दोलन चर्काउँदै आएको छ । एन्टरटीक बिस्कुट प्रा. लि. मा कार्यरत श्रमिकहरु मध्ये ११० जना श्रमिकहरुलाई बिगत ५ वर्ष देखि नियमित प्रकृतीको काम लगाएको भएता पनि श्रम ऐन २०७४ को मर्म र भावना बिपरीत १४ माघ २०८१ मा उद्योगको तर्फबाट सुचना प्रकाशित गरि ९६ जना श्रमिकहरुलाई २९ माघ २०८१ बाट रोजगारी अन्त गर्ने निर्णय गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले ट्रकमा गोरु तस्करी गरि लैजादै गरेकाे अवस्थामा बाराकाे पथलैयाबाट नियन्त्रणमा लिएकाे छ । हेटौंडा हुँदै बारातर्फ गइरहेको २५ वटा गोरु बोकेको बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रक आइतबार कार्यालयले सशस्त्र प्रहरीकाे सहयोगमा नियन्त्रणमा लिएको हाे।
सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइए लगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भएका छन् । ट्रक चालक फरार भएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौंडा ल्याइएकाे पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएकाे उनले बताए । ‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिदै गरेकाे देखाउन खोजिएको रहेछ’ उनले भने ‘भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख थियो।’ प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नभएकाे उनले जानकारी दिए ।
छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा २ दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको कार्यालय प्रमुख ठाकुरले बताए । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौंडाको नाममा बिजक जारी गरिएको थियो।
तनहुँ जिल्ला आबु खैरेनीबाट काकडभिट्टा तर्फ जाँदै गरेकाे उक्त ट्रक बारा जिल्ला पथलैया राजश्व कार्यालयकाे समन्वयमा नियन्त्रणमा लिइ पशु सेवा कार्यालय मकवानपुरलाई जिम्मा लगाइएकाे ठाकुरले बताए ।
यसरी भएकाे थियाे तस्करी नियन्त्रण
४ फागुन आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए। सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगेकाे उनी बताउँछन् । ‘त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे’ उनले भने । उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।
प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराएकाे बताउँछन् ।तरपनि, प्रहरीले ट्रक नियन्त्रणमा नलिएकाे उनले बताए । “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराए’ उनले भने । प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिएकाे ठाकुरले आराेप लगाए ।
रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागेर गएकाे उनले जानकारी दिए। स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्टका सशस्त्रका असईलाई जानकारी गराएकाे बताए । ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरेर पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएकाे जानकारी दिए ।
रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको भन्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए। प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ।
नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ्गमा शुक्रबार ट्रककाे ठक्करबाट अटोमा सवार मनहरीकी पुजा बम्जनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
थानाभर्याङ्ग स्थित यातायात कार्यालय अगाडी पुर्व पश्चिम राजमार्गकाे हेटौंडा चितवन सडकखण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा बम्जनसहित ३ जना घाइते भएका थिए । मनहरी ६ खयरघारी की ३५ वर्षीय बम्जनकाे उपचारकाे क्रममा हेटौंडा स्थित सीएमसी चुरेहिल अस्पताल उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
ट्रककाे ठक्करबाट अटो चालक हेटौंडा १९ बासघारी बस्ने २५ वर्षीय राजु थिङ र अटौमा सवार मृतक बम्जनका छोरा अमृत घिसिङ घाइते भएका छन् । थिङको टाउकोमा चोट लागि अबस्था गम्भीर रहेेकाे तथा घिसिङकाे अनुहारमा चोट लाग्दा अबस्था मध्यम रहेकोमा उनीहरुकाे सीएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएकाे छ ।
ट्रक चालक चितवन राप्ती नगरपालिका वडा नम्बर २ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राई, अटो, ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।
मकवानपुर । मकवानपुरकाे भीमफेदीमा ग्यास बुलेट दुर्घटना भएको छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–१, रातोमाटेमा उक्त बुलेट दुर्घटना भएकाे हाे ।
दुर्घटनाका कारण उक्त सडक खण्डमा एकतर्फी मात्रै बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ । हेटौंडा बजारबाट भैंसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको भारतीय ग्यास लोड बुलेट आइतबार राती दुर्घटना भएको हो ।
बुलेट पल्टिएकाे स्थानमा भित्तातर्फ खोलेर अस्थायी रुपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार बुलेट चालक र सहचालक दुबैजना सकुशल छन् भने बुलेट उठाउन केही समय लाग्ने भएकाे छ ।