मकवानपुर । मकवानपुरको मनहरीमा बस र म्याजिक गाडी ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ बस्ने ३२ वर्षीय सन्देश कोईरालाको मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।
शुक्रबार बिहान मनहरी गाउँपालिका ६ लोथर बजारस्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना घाईते भएका चालक कोइरालाको उपचारको क्रममा चितवन स्थित नयाँ मेडिकल कलेज भरतपुरमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक नियन्त्रणमा लिएको बताइएको छ । मृतकका आफन्तले अहिले पुर्व पश्चिम राजमार्ग बन्द गराएका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा देवरले भाउजुको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीय राहुल भन्ने रमेश दासले जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । ३ सन्तानकी आमा गुडियालाई रमेशले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरी जानकारी दिएको छ ।।
रमेशले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएको बताइएको छ ।
प्रहरीका अनुसार रमेशले खुकुरी प्रहार गरी भाउजुको हत्या गरेको, दाइमाथि पनि आक्रमण गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार रुपेशमाथि भाइले गरेको सांघातिक आक्रमण र जेठी भाउजुको हत्या गर्नुको कारण खुलेको छैन ।प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रकारिता भएकाेले हनन गर्न नपाइने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, निर्देशक समिति, द्रूत उद्धार टोली, प्रदेश र जिल्ला स्तरमा संयन्त्र र सञ्जाल गठन गर्ने व्यवस्था गरेको उनले बताए । नियमनका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नपाइने उनले बताए । ‘कुनै पनि बहाना बनाई नागरिकलाई अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन तथा वञ्चित गर्न पाइदैन’ उनले भने । कसैको असक्षमता र नबुझेका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ठिक होइन र छैन भन्नु उचित होइन भन्दै उनले पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको माध्यम भएको बताए ।
आयोगका सहसचिव यज्ञप्रसद अधिकारीले पछिल्लो समयमा पत्रकारमाथि हुने भौतिक आक्रमणका घटना कम भएपनि सुरक्षा चुनौतीका स्वरुप परिवर्तन भएको बताए । ‘अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको केन्द्र विन्दु हाे’ उनले भने ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिने दायित्व सरकारको रहेकाे छ ।’ फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले नियन्त्रण र नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रमाथि चुनौती बढेको बताउँदै सबैको साझा प्रयासमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न सकिने बताए ।
कार्यक्रममा मानव आधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवनकुमार भट्टले प्रदेश स्तरीय अभिव्यक्ति स्वतन्त्रता संरक्षण संयन्त्रको गतिविधि र संयन्त्रका समस्या सम्बन्धमा जानकारी गराएका थिए । यसैगरी फ्रिडम फोरमकी अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अनुगमनकर्ता नानीमैया खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र घटनाहरुको जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सञ्चारकर्मीहरु कृष्ण सारु, कुमार अधिकारी, सुरेश श्रेष्ठ, वसन्त पराजुली, माधव न्यौपाने, राजन सिंह, अधिकारकर्मीहरु कुमारी वाइवा, कमल विश्वकर्मा, शर्मिला श्रेष्ठ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव विनोद अमात्यलगायतले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्रको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका ८ र हेटौंडा १० बाट एकैदिन प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौंडा ८ ओमनगरस्थित रनिश थापाको घरबाट लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मंगलबार ३७ वर्षीय रनिशसहित ३५ वर्षीय सुनिल खड्गी र हेटौंडा–१५ का ३२ वर्षीय धन सिंह वाईबालाई नियन्त्रणमा दिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुको साथबाट २ ग्राम २९० मिलि ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको थियो ।
यस्तै हेटौंडा–१०, न्युरेनीस्थित हुम बहादुर थापा मगरको घरबाट लागूऔषध खैरो हेरोईन कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार नै ४३ वर्षीय हुम बहादुर हेटौंडा–२ चौकीटोलका २४ वर्षीय बिजय आले मगर तथा हेटौंडा–१८ का २० वर्षीय रविन सुनारलाई नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरीले उनिहरुको साथबाट १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ । लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा बसले स्कुटरलाई ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ भने अर्का १ जान घाइते भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर– ६ भुलचोक स्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा ४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जादै गरेको बा प्र ०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिएकाे थियाे । बसकाे ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको तथा अर्का १ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बसको ठक्करबाट भरतपुर महानगरपालिका वडा नम्बर–२ क्षेत्रपुर बस्ने २८ वर्षीय आकास बरामुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २८ वर्षिय बुद्ध लामा गम्भिर घाइते भएका हुन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।
बस चालक उदयपुर चौरण्डीगढी नगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय नविन थापालाई मनहरी ७ मनहरी बजारबाट नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।