मकवानपुर । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले १९ र २० असोज बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिने निर्णय गरेकाे हाे ।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएकाे तथा विपद्काे अवस्था सृजना भएकाेले बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएकाे छ । लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरकाे हेटौंडा उवमहानगरपालिका वडा नम्बर १५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ काे सिमानासुथित चुरियामाई मन्दिरको उकालोमा भएको सवारी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान भएकाे दुर्घटनामा घाइते ६ मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जनकपुरबाट काठमाडौं जान आउँदै गरेको ना ७ ख ८५३७ नम्बरको बस चुरियामाई मन्दिर नजिक उकालोमा ब्रेक फेल भई पछाडि गुड्दा ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिदाँ ६ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी रहेकाे बारा प्रहरीले जनाएकाे छ । गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ ।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी जनाएकाे छ । त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका प्रहरी कार्यालयहरुलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने निर्णय गरेको छ । प्रदेशका इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि उक्त सवारीसाधन उपलब्ध गराइने प्रदेश सरकारले निर्णय गरेकाे हाे ।
निर्णयअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा दुई पांग्रे सवारी साधन उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा क्षतिले सवारी साधनकाे अभाव रहेकाे छ ।
सवारी अभावमा सुरक्षामा चुनौती सिर्जना भएको सन्दर्भमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर सवारी साधन दिन लागिएकाे तामाङले बताए । सरकारले यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारस्थित पूर्व–पश्चिम राजमार्गमा ३ वटा सवारी साधन ठोकिएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको चितवनबाट बिरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्किंदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि उक्त ट्रक समेत अनियन्त्रित भई काठमाडौंबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किदा दुर्घटना भएको हो ।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य तथा मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उद्दार कार्यसँगै सवारीसाधन हटाउने काम गरिरहेको छ ।
मकवानपुर । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । उक्त सडकखण्डकाे तुइन खोलामा पहिरो खसेककाे कारण अवरुद्ध भएकाे हाे ।
शुक्रबार साँझदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको डिभिजन सडक कार्यालय चितवनले जनाएकाे छ । निरन्तर पहिरो गइरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको बताइएकाे छ।
शनिबार (आज) बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ । हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी सडककाे दुवैतर्फबाट पहिरो हटाउन प्रयास भइरहेको छ। ढुंगा खस्ने क्रम नरोकिएकाेले सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना नरहेकाे सडक कार्यालयले जनाएकाे छ।