चितवन । चितवनको टिकौली जंगलमा ट्रकमा बस ठोकिएर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा शुक्रबार बिहान इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको बस ठोक्किएर थियो । उक्त बसमा जनकपुरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको बससमेत ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि सडकमा पल्टिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनको सुरक्षा टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवनका विभिन्न अस्पताल पुर्याएको थियो । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारी साधन हटाएर सडक एकतर्फी सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गत २४ भदाैकाे घटनालाई पूर्ण फौजदारी अपराधको संज्ञा दिँदै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मङ्गलबार आयोजित भदौ २३ र २४ को घटनाको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । गत २३ भदौको घटना आन्दोलन र २४ भदौको आगजनी तथा लुटपाटका फरक–फरक प्रकृतिको घटना भएको बताएका छन् । ‘२३ गतेको घटना आन्दोलनको रुपमा भयो तर २४ गतेको घटना आगजनी, लुटपाट र डकैतीसहितको पूरै फौजदारी अपराध हो, यसमा कुनै विवाद छैन’ उनले भने ।
आयोगकाे तर्फबाट प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेकोले ढिलाइ हुन नहुने उनले बताए । ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानबिन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो। हामीले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ’ उनले भने ।
उक्त घटनाबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको उनले बताए । ‘क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्छ’ उनले भने । ‘हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रूपमा पनि नोक्सानी बेहोरेकालाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्याङ्कन हुनुपर्छ ताकि भोलि अदालतमा पनि प्रमाण पुगोस’ उनले भने ।
आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीले जानकारी दिए । उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए । आयोगले कुनै पनि व्यक्ति वा पक्षलाई हेरेर नभई निष्पक्ष रूपमा काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष कार्कीले बताए ।
‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन। अपराधी हो भनेर हामी आफैँले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानुन छ । कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले भने । उच्च मनोबल राख्ने गरी प्रहरीलाई काम गर्ने वातावरण बनाउन र उनीहरुले गरेका सही कामलाई सबैले समर्थन गर्नुपर्ने उनले बताए । आयोगले घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न समेत जनाकारी गराएकाे छ ।
मकवानपुर । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न प्रशासन तयार रहे पनि माथिल्लो निकायबाट स्पष्ट निर्देशन नभएकाे बताएकी छिन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहितको टोलीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ श्रेष्ठले भदौ २३ गतेको आन्दोलन र २४ गते भएका आगजनी तथा लुटपाटका घटनालाई फरक प्रकृतिको भएको बताइन् ।
उनले आन्दोलन र अपराधलाई एउटै डालोमा राख्न नहुनेमा जोड दिइन् । भएका घटनाहरूमा आन्दोलन र आपराधिक गतिविधिलाई फरक–फरक रूपमा हेरिनुपर्ने बताइन् । घटनालगत्तै प्रहरी कार्यालयहरूमा आक्रमण गर्नेहरूको पहिचान भइसकेको र कारबाही सुरु गर्न खोजिएको उनले बताइन् । ‘आन्दोलन गर्ने र आन्दोलनको नाममा क्षति गराउने वर्ग फरक छ । व्यक्तिगत प्रोफाइल र भिडियो फुटेज हेर्दा तोडफोडमा संलग्नहरू वास्तविक आन्दोलनकारी नभई विभिन्न आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू देखिन्छन्’ उनले भनिन् ।
‘प्रहरीकाे बयानका आधारमा हामीले दोषीहरूको खोजी कार्य सुरु गरेका थियौँ । तर दुई–तीन दिनमै ‘अहिले केही नगर्नू, राय प्राप्त भएपछि मात्र कारबाही गर्नू’ भन्ने निर्देशन आयो’ उनले भनिन् ‘काठमाडौँमा पक्राउ परेका व्यक्तिसमेत छुटेपछि जिल्लामा पनि खोजी कार्य रोक्यौं फेरि ‘फौजदारी कसुरमा कानुनबमोजिम अघि बढ्नु’ भन्ने अर्को निर्देशन आए पनि पहिलेको निर्देशनले गर्दा कारबाही प्रक्रियामा अन्योल छाएको थियो । के गर्ने भन्नेमा केही स्पष्टता भए पनि कार्यान्वयन गर्न स्पष्ट निर्देशन हामीले पाएनौँ ।’
प्रजिअ श्रेष्ठले सुरक्षा निकायलाई काम गर्नका लागि ‘घुमाउरो’ नभई ‘सोझो र स्पष्ट’ निर्देशन चाहिने बताइन् । ‘सुरक्षा निकायलाई सोझो भाषामा ‘गर्नेलाई गर, नगर्नेलाई नगर’ भन्ने आदेश आएमा काम गर्न अत्यन्तै सजिलो हुन्छ’ उनले भनिन् । आयोगको स्थलगत भ्रमण र यथार्थ जानकारीपछि अब राज्यले गर्ने काम–कारबाहीमा थप स्पष्टता आउने र पीडितले न्याय पाउनेमा आशा गर्न सकिने उनले बताइन् ।
आयोगको देश भ्रमणपछि गृह मन्त्रालयबाट स्पष्ट निर्देशन आउने अपेक्षा व्यक्त गर्दै उनले भनिन् ‘केन्द्रको निर्देशनको अभावमा सुरक्षा निकायको मनोबल केही खस्किएपनि आफूहरू मनोबल उच्च राखेर शान्ति सुरक्षा कायम गर्न सक्षम छौं ।
मकवानपुर । मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
बुलेटकाे ठक्करबाट केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठ घाइते भएकाेमा उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनु्सार स्कुटरमै सवार केदार र सरस्वतीका छोरा २ वर्षीय प्रविन श्रेष्ठ पनि घाइते भएका छन् । उनकाे पनि एलाईभ अस्पतालमा उपचार भइरहेकाे तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ग्यास बुलेट र ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिन नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार मकवानपुर सहितका ३६ प्रमुख जिल्ला अधिधकारीहरुकाे सरुवा गरेकाे हाे ।
मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई एक जिल्लाबाट अर्काे जिल्लामा पठाइएको छ। मकवानपुरका सिडिओ स्किम श्रेष्ठकाे सिन्धुली जिल्लामा सरुवा भएकाे छ । यसैगरी मकवानपुरकाे सिडिओमा सिराहाबाट वसन्त अधिकारी आउने भएका छन् । श्रेष्ठले १५ फागुन २०८१ बाट मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् ।


