मकवानपुर / बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा द्वन्द्वपीडित समुदाय र मानवअधिकारवादी संस्थाहरूद्वारा देशका पीडित / प्रभावितहरूको न्याय प्राप्तिमा भइरहेको ढिलाइको अन्त्यका लागि माग गरेको छ ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२० को अवसरमा पीडित /प्रभावितहरूको संघसंस्था र नेपालस्थित जवाफदेहिता निगरानी समिति,वकालत मञ्च, शान्तिका लागि साझा अभियान (कोक्याप) द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, संचारिका समुह नेपाल, महिला कानून तथा विकास मञ्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत ४८ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले ऐक्यवद्धता जनाउँदै पारदर्शी तथा परामर्शयुक्त विधिको प्रयोग गरी संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
नेपालमा वि.सं. २०५२ देखि २०६२ सम्म चलेको १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूलाई न्याय दिलाउन आग्रह गरिएको छ । ‘द्वन्द्व पीडितका परिवारको सहनशीलता र अडिगपनाको नेपालका पीडित / प्रभावित समूह र मानवअधिकारवादी संस्थाहरू सराहना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल पक्षराष्ट्र भएको महासन्धिहरूसहित अन्तर्राष्ट्रिय कानून अनुसार राज्यहरूले बेपत्ताका परिवार र बेपत्ताका कारण क्षति पुगेका अन्यहरूलाई प्रभावकारी उपचार उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा भनिएको छ । २०७२ मा सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनमा रहेका गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्न पीडक र पीडितहरूबीच मध्यस्थता /मेलमिलाप गराउन सक्ने र आममाफी दिन सक्ने प्रावधानलगायत विभिन्न भागहरू असंवैधानिक र नेपालको अन्तर्राष्ट्रिय दायित्वहरूको विरुद्धमा रहेको निर्णय गरेकोमा वि.सं. २०७७ वैशाख १४ गते सो निर्णय पुनरावलोकन र संशोधन गर्ने सरकारको निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
आयोगहरूले सत्य र न्यायलाई विलम्ब र वञ्चित गराउने नभई सत्य र न्याय प्रदान गरेको सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवअधिकार कानून र सर्वोच्च अदालतको निर्देशन अनुरूप यससम्बन्धी कानूनको संशोधन गर्न नयाँ परामर्शको थालनी गर्ने, पीडितहरूको सत्य र न्यायको आधारभूत अधिकारलाई सम्मान गर्ने संशोधित ऐन अन्तर्गत नयाँ आयुक्तहरूको नियुक्ति गर्ने, पीडितहरूको परिपूरणको अधिकार अन्तर्गत बलपूर्वक बेपत्ता पार्ने कार्यबाट पीडित र परिवारहरूलाई तत्काल सामाजिक, सांस्कृतिक, आर्थिक, मनोसामाजिक र कानूनी सहायता प्रदान गरिएको सुनिश्चित गर्ने, फौजदारी संहितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन संशोधन गर्ने लगायतको कार्य तत्काल गर्न माग गरिएको छ ।
मकवानपुरमा भदौ १६ पछि निषेधाज्ञाको स्वरुप परिर्वतन हुने
Tags: No Comments
मकवानपुर । हेटाैडा उपमहानगरमा सहित मकवानपुरका विभिन्न स्थानीय तहमा लागु भएकाे निषेधाज्ञा आगामी भदौ १६ गते पछि आवश्यक व्यवस्थापनका साथ स्वरुप परिर्वतन गर्नु पर्ने सराेकारवालाहरूले माग गरेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका र मनहरी गाँउपालिकाकाे राजमार्ग क्षाेत्रमा साउन २६ गते राती बाट लागू भएकाे सहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ गतेसम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गर्न जिल्लाकाे सर्वपक्षिय बैठकमा सुझाव दिइएकाे हो ।
बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षिय/सर्वदलिय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिर्वतन गर्न सुझाव दिएको हाे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्न बसेको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्डको कार्यान्वयन व्यवस्थित गर्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नुपर्ने साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितीलाई क्रमश सहज बनाउदै लानुपर्ने सुझाव दिएको छ ।
प्रमुख खुलालले निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दै लानु पर्ने सबैको सुझाव आएको बताए । बैठकमा प्रमुख खुलालले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । कोरोना संक्रमितलाई अपमान गर्ने काम नगर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दुर्वव्यहार नगर्न, होम आइसोलेसनमा बस्नेहरुलाई नियमको पालना गर्न, राजनैतिक दलहरुलाई सकारात्मक समाज निर्माण योगदान गर्न खुलालले आग्रह गरे । ‘सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु अहिलेकाे आवश्यकता हाे’ उनले भने । साथै जिल्लाभरिको कोरोनाको अवस्था निर्क्याैल गर्न स्थानीय तह समन्वय बैठक तुरुन्त बस्ने समेत उनले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्र बहादुर बाँनियाले समुदायमा कोरोना संक्रमण बढ्दो रहेकाले सचेत बन्नु पर्ने तर, सधैंभरी निषेधाज्ञा राख्न नहुने बताए। उनले हेटौंडाका होटलहरुलाई क्वारेन्टाई र आइसोलेसनका रुपमा प्रयोग गर्नुपर्ने, परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, तुरुन्त रिपोर्ट आउने वातावरण बनाउनु पर्ने, जसका लागि मेसिन खरिद गर्नुपर्ने, दक्ष र भरपर्दो चिकित्सक प्राविधिकको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिए । यस्तै राप्रपाका जिल्ला अध्यक्ष मधु अधिकारीले निषेधाज्ञालाई तयारी गर्ने समयका रुपमा प्रयोग गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्वाब दिएकालाई बाहिर निस्कन नदिने साथै कन्ट्रयाक ट्रेसिङ प्रभावकारी बनाउनु पर्ने र कोरोना नियन्त्रणमा सबै जुट्नु पर्ने धारणा राखेका छन् । बैठकमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले स्थानीय तहले थुप्रै कामहरु गरेको भएपनि जस भने पाउन नसकेको बताइन ।
त्यस्तै बैठकमा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले संक्रमितको नाम सार्वजनीक नगर्दा उनिहरु बहिर हिडडुल गर्ने गरेकाले नाम सार्वजनकि गर्नुपर्ने जसले अरु व्यक्ति सचेत भएर संक्रमण हुने सम्भावना कम हुने धारणा राखेका थिए । उनले संकलन गरिएको स्वाबको तत्काल रिपोर्ट आउने वातावरण मिलाउनु पर्ने, बैंकिङ क्षेत्र सुचारु गर्नुपर्ने, बजार खुलाउने समय थप गर्नुपर्ने, बिस्तारै बजार खुकुलो पार्दै लानु पर्ने, चेतना अभिबृद्धि तर्फ लाग्नु पर्ने र मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य सम्बन्धि अन्य मापदण्ड पालना नगर्नेलाई कारकाही गर्नुपर्ने धारणा राखेका थिए ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले सधैंभरी निषेधाज्ञाले मात्र नहुने भन्दै निषेधाज्ञा खोल्दा बिहान ६ बजे देखि साँझ ६ बजे सम्मको सिफ्टमा उद्योगहरु संचालन गर्नुपर्ने, सार्वजनीक यातायात पुर्ण रुपमा रोक लगाउनु पर्ने, सिमा नाकामा कडाई गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको कडा रुपमा प्रयोग गर्न लगाउने साथै स्थानीय तहहरु अहिले भन्दा बढी सक्रिय रहनु पर्ने धारणा राखेका थिए । बैठकमा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सबै कुरामा अस्पतालको मात्र भर पर्दा समस्या आएकाले सबैले मिलेर काम गर्नुपर्ने बताए ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले थोरै कर्मचारी राखेर सहकारीहरु सञ्चालन गर्नुपर्ने धारणा राखे । सहकारीबाटै संक्रमित फैलिने संभावना भएकाले त्यसलाई ध्यानमा राखेर थोरै कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर सहकारी संस्थाहरु संचालन गर्नुपर्ने उनकाे भनाइ थियो । उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव न्यौपानेले बजारका अन्य पसलहरुलाई पनि सहज बनाउँदै लानु पर्ने सुझाव दिएका छन् । न्याैपानेले मापदण्डको परिपालना नगर्नेलाई तुरुन्त बन्द गर्नुपर्ने र बजार बिस्तारै खुलाउनु पर्ने बताए। यस्तै उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले मापदण्ड बनाएर उद्योग स१चालन गर्नुपर्ने धारणा राखेका छन् । मापदण्ड नियमानुसार कायान्वयन हुनु पर्ने तर उद्योग संचालन गर्नुपर्ने उनकाे भनाई थियो ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले कोरोना संक्रमण समुदायमै गइसकेकाले थप सजगता अपनाउनु पर्ने धारणा राखेका थिए । उपाध्यायले सधैं निषेधाज्ञा मात्र गरेर नहुने भन्दै देखिएका समस्याको समाधान गर्न तर्फ सचेत हुनु पर्ने बताए। पिसीआर गर्न स्वाब दिन भिड गर्ने तर स्वाब दिएर बजार डुल्ने प्रबृतिका कारण समस्या थपिदै गएको उनले बताए । यस्तै कन्ट्रयाक ट्रेसिङका क्रममा भेटिएको भोलिपल्टै पिसिआएका लागि जाने गरेको समेत जानकारी गराए । उनले होम आइसोलेसनमा बसेको कम्तीमा १४ देखि २१ दिनमा मात्र पिसिआरका लागि जानु पर्ने बताए । शंका लाग्ने वित्तिकै क्वारेन्टाईनमा बस्न समेत उनले सुझाव दिए । ‘लक्षण देखिएकालाई मात्र आइसोलेसनमा राख्नुपर्छ’ उनले भने ‘अनुशासन आइसोेलेसन र क्वारेन्टाई नै कोरोनाबाट बच्ने उपाए हाे ।’
प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले आएका सुझावका आधारमा आगामी कार्य तय गरिने बताए । प्राप्त सुझावहरुका आधारमा कमाण्ड पोष्टको बैठकले थप निर्णय गर्ने समेत प्रजिअ नेपालले जानकारी दिए ।
- अनिल पराजुली
कतार/सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुर बकैया गाउँपालिकाकी एक महिलाले उदयपुर गाइघाटका चित्रबहादुर कामी बिरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । पुर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएका चित्रबहादुरले ति मकवानपुरे महिलासँग माफी मागेका छन् भने आर्थिक कारोबार सम्बन्धी लेनदेन मिलाउने कागज समेत गरेका हुन् ।
फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे महिलाले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् । पीडक कामीले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको प्रति सार्वजनिक माफी माग्दै आफुबाट गल्ती भएको स्र्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहा-याउने भन्दै माफी मागेका हुन् । पीडक कामीले मकवानपुरे महिलालाई प्रयोग गरि एउटै कम्पनीका अन्य महिला कामदारबाट पैसा ब्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिना भित्र फिर्ता गर्ने शर्तमा सम्बन्धित महिला कामदारहरुको नाममा कागज गरेका छन् ।
राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबिच मिलापत्र पश्चात साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् । राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँ, बिश्वकर्मा समाजका सल्लाहकार पिताम्बर बिश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक सरोज पुडासैनीलगायतकाको उपस्थितीमा पीडित र पीडक पक्षबिच मिलापत्र गरिएको हो ।
मकवानपुर/बागमती प्रदेशमा बाढी पहिरोको कारण घरबास उठेकाहरुले समस्यामा रहनु नपर्ने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । बाढी पीडितहरुको लागि प्रदेश सरकारको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने मुख्य मन्त्री पौडेलले बताएका हुन् । विशेषतः बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरोको बिषयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
तीनै तहको सरकारले गर्ने काम बाँडफाड गरेर आफ्नो तहको सरकारले गर्ने काम पुरा गर्ने उनले बताए । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद व्यवस्थापनका लागि सरोकारवालाबिच छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताएका थिए । “त्यहाँको जमिन सबै तिर धुजाधुजा भएर फाटेको र चर्केका जमिनमा पाल टाँग्ने समेत ठाँउको अभाव छ” मुख्यमन्त्री पौडेलले भने । छलफलमा उनले त्यहाँको बस्ती सक्दो चाँडै स्थानान्तरण गर्नु पर्ने भएकोले बताए । प्रदेश सरकारले यहाँको बस्ती स्थानान्तरणको लागि पहल थालेको र यसकार्यको लागि संघीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी भएको उनले बताए ।
उनले बस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत ग्यारेन्टी गरि हुन जरुरी रहेको बताए । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा बस्ती स्थानान्तरणका लागि निश्चित बजेट छुट्टाएर कार्यान्वयनमा लैजानु पर्ने उनले बताए । छलफलमा गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पुर्वाधार मन्त्री बसन्त नेमवाङ,बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, संघीय सरकारका पुर्वमन्त्री शेर बहादुर तामाङ,भौतिक मन्त्रालयका सचिव, राष्ट्रिय पुननिर्माण र विपद व्यवस्थापनका प्रतिनिधिहरु प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु एवम् सरोकारवालाहरुको उपस्थिति रहेको छलफलमा मुख्यमन्त्री पौडेलले स्थानीयवासीको सुरक्षाको लागि प्रदेश सरकारले स्थानीय र संघीय सरकारको हातेमाले आवश्यक भएको बताए ।
हेटौंडामा निषेधाज्ञा भदौ १५ गतेसम्म
Tags: No Comments
मकवानपुर । हेटाैंडामा काेराेना संक्रमित बढे पछी गत साउन २६ गते राती १२ बजेदेखि लागू भएकाे निषेधाज्ञा भदौ १५ गतेसम्म थप भएको छ । साेमबारकाे कमाण्ड पोष्टको बैठकले दाेस्राे पटक निषेधाज्ञाकाे अवधी थप गर्दै भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
पहिलाे पटक थप गरिएकाे निषेधाज्ञा भाेली मंगलबार राती १२ बजे सम्म कायम रहने थियो । साेमबारकाे बैठकले भदौ ९ गते राती १२ वजेबाट १५ गतेसम्म निषेधज्ञालाई अहिलेकै अवस्थामा जारी गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गड्ताैलाले जानकारी दिए । सूचना अधिकारी गड्ताैलाका अनुसार निषेधाज्ञाकाे समयमा अर्काे बैठक बस्न सक्नेछ । उक्त बैठकमा व्यवसाय र जनजीवन खुला गर्ने माेडलमा छलफल भइ केही निर्णय हुन सक्ने उनले बताए ।
हेटाैडा लगायतकाे मकवानपुर जिल्लामा काेरोना संक्रमणकाे जोखिम कम नभइ बढ्दै गएकाे र कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुकको अझैपनि स्वाब परीक्षण भैनसकेकाे कारण १५ गतेसम्मलाई निषेधज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन् ।
यसै बीच हेटौंडामा निषेधाज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाकाे अवधीमा बैंक तथा वित्तिय सस्थालाई समय ताेकेर खोल्ने तयारी गरेको थियो । छिमेकी जिल्लामा समेत निषेधाज्ञा रहेकाे र त्यहाँ बैंक तथा वित्तिय सस्था समेत बन्द रहेकोले मकवानपुरका बैंकमा सेवाग्राहीकाे चाप बढी काेराेनाकाे जाेखिम बढ्ने भन्दै हेटौंडामा पनि बैंक तथा वित्तिय सस्थालाई बन्द गर्ने निर्णय गरिएकाे बताइएकाे छ ।