मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले बागमती प्रदेश अन्तर्गतका मातहत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ब्यारिकेट वितरण गरेकाे छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका निमित्त ट्राफिक व्यवस्थापन एवम् सुरक्षा चेकजाँचलाई प्रभावकारीता दिन ब्यारिकेट वितरण गरिएको हाे ।
सवारी साधनको प्रयोग गरी दुर्घटना तथा विभिन्न अपराधिक घटना घटाई अपराधी फरार हुने हुँदा भरपर्दो सुरक्षा चेकजाँचका लागि बागमती प्रदेश अन्तर्गतका विभिन्न प्रहरी ईकाईहरुलाई १२ थान ब्यारिकेट वितरण गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीलाई साधनस्रोत सम्पन्न गराई समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्युनिकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश प्रहरी कार्यालयको पहलमा उक्त ब्यारिकेट वितरण गरी प्रयोगमा ल्याईएको अधिकारीले बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा नागरिक यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नजिकिदै गरेको नेपालिहरुको महान चाड दशैं , तिहारमा यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई परेको सम्स्यामा तत्काल सहायता गर्न तथा हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरण गर्न नागरिक यात्रु सहायता कक्षको स्थापना गरिएको सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० का अध्यक्ष प्रदीप कडेलले जानकारी दिए ।
सामुदायिक प्रहरी सेवा उपकेन्द्र अध्यक्ष कडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उक्त सहायता कक्षको उद्घाटन गरेका हुन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष किताब सिंह लामा ,सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी , सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्ट , वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण प्रसाद विष्ट लगायतको उपस्थिति थियो ।
मकवानपुर / देशभरका ६२ जना बालिका तथा किशोरीहरुले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । हरेक अक्टोबर ११ मा नेपाल सहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरुमा बालिका तथा किशोरीहरुलाई पदभार ग्रहण गराउने ‘गल्र्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो ।
यसवर्ष बालिका तथा किशोरीहरुको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गल्स टेक ओभर कार्यक्रम हुन लागेको हो । यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ ।
आजदेखि शुरु भएर अक्टोबर ११ सम्म ‘गल्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेशनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिइन । उनले भनिन् “यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरुलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौँ, उहाँहरु त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरुलाई अझ सहज हुनेछ ।”
मकवानपुरलगायत सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले पद ग्रहण गर्नेछन् । यसक्रममा उनीहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन् । यसरी पद ग्रहण गर्नेहरुलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन् । ‘आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अहिले तयारीमा छु । एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु ।’
बालिका, किशोरीको अनलाइन प्रयोग बारेको प्रतिवेदन सार्वजनिक
आजै प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोग बारेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार किशोरी तथा बालिकाहरुले कोभिड १९, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा जानकारी लिन अनलाइन प्रयोग गर्ने गरेको पाइएको छ ।
यो अध्ययन २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरुसँग गरिएको प्लानले जनाएको छ । अध्ययनमा सहभागी किशोरी, बालिका मध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा रिक्वेस्ट पठाउने र कुरा गरेर तनाव दिने जस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको बताएका छन् ।
अध्ययन प्रतिवेदन अनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरता सम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि गरिएको छ ।
मकवानपुर । मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्न आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
पक्राउ १० जना मध्य १ जना बालक रहेकामा उनलाई अविभावकको जिम्मा लगाईएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । मकवानपुर प्रहरीले गत असोज ३ गते बकैया-११ मा गाई काटेको आरोपमा घटनास्थलबाट ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका थिए । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।
मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस, २०७८ का अवसरमा आइतबार हेटौंडामा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडाको कर्रा खोला किनारमा आज वृक्षारोपण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं.५ क्याम्पाडाँडास्थित कर्रा खोलाको किनारमा रहेको खाली स्थानमा अमला,आँप, कटहर लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएकाे हाे ।
वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्की, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामुदायीक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, सामुदायीक उप सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कंडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधी, भद्रभलादमी र स्थानिय सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
यस्तै ६६ औ प्रहरी दिवसको अवसरमा माक्स बितरण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको विभिन्न स्थानमा माक्स बितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १० बुद्धचोक र हेटौडा–११ थानाभर्याङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “तपाईको माक्स खै ?” कार्यक्रममा माक्स वितरण गरिएकाे हाे । दुवै स्थानमा गरी माक्स २ हजार ६ सय ५० थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । साथै, सवारी साधनहरुमा जनचेतनामुलक पर्चा २ सय थान र स्टिकर ७ सय थान समेत टाँस गरिएको रिमालले बताए ।
