मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ नेवारपानीमा बसकाे ठक्करबाट २ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ । गए राति देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिं ठकुरी रहेका छन् ।
गएराति करिब १० बजेको समयमा दूर्घटना भएको हो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरी पूर्ण क्षती गरिदिएका छन् । सडकमा आगो लागिरहेको बसका कारण केही समय राजमार्ग अवरुद्ध समेत भएकाे थियाे ।
बसकाे ठक्करबाट घाइते हुनेमध्ये १ जना सामान्य घाइतेको उपचारपछि राति नै घर पठाइएको थियाे । घाइतेहरुमध्ये ५ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरको बकैयामा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । बकैया -३ हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किदा बकैया-४ अजिङ्गरेमा बस दुर्घटना भएका हाे ।
कार्तिक १८ गते राती राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३-००१ ख १३०९ नंबरको बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा २१ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीया निरु खड्का, हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो, राक्सिराङ् ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ्, हेटौंडा-११ नवलपुर बस्ने ३६ वषीया सम्झना बिष्ट र हेटौंडा-५ पिप्ले बस्ने ४८ वर्षीया लक्ष्मी तिमिल्सिना रहेको छन् ।
गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अन्य घाइतेहरुकाे उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल,संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् । बुधबार एक समाराेहका बिच शर्माले भीमफेदी ६ मा रहेकाे चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास तथा गढी परिसरमा राष्ट्रिय झण्डोतोलन समेत गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए । ‘चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ प्रधान सेनापति शर्माले भने यस्ता गढीहरुकाे संरक्षण गर्न अती आवश्यक छ ।’ गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले खुशी व्यक्त गरे ।
नेपालको अन्य गढी, किल्ला, गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ । मल्ल राजा, शाहवंश, राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्य–अवैद्य रुपमा नेपाल छिर्नेहरुको लागि भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय, अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो ।
मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनले बताए ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म देउसी भैलो खेल्न पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरले तिहारको समयमा राति ८ बजेसम्ममात्र देउसी भैलो खेल्ने पाईने जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलयले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउन समेत आग्रह गरिएको छ ।
सूचनामा चाडपर्वको बहानामा कुनैपनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरिएको छ । पटकाजन्य पदार्थको ओसार–पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउन समेत भनिएकाे छ ।

मकवानपुर । मकवानपुर प्रहरीले सालको चिरान काठसहित १ जना पक्राउ गरेकाे छ । साेमबार १०५.६६ क्यूफिट चिरान काठ सहित उमेश लामालाई प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षको लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाएर राखेको अवस्थामा सालको चिरान काठ फेला पारेको थियो ।
लामालाई प्रहरीले थप सोधपुछ गरेर जिल्ला वन कार्यालय पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।