मकवानपुर । प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् । बुधबार एक समाराेहका बिच शर्माले भीमफेदी ६ मा रहेकाे चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास तथा गढी परिसरमा राष्ट्रिय झण्डोतोलन समेत गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए । ‘चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ प्रधान सेनापति शर्माले भने यस्ता गढीहरुकाे संरक्षण गर्न अती आवश्यक छ ।’ गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले खुशी व्यक्त गरे ।
नेपालको अन्य गढी, किल्ला, गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ । मल्ल राजा, शाहवंश, राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्य–अवैद्य रुपमा नेपाल छिर्नेहरुको लागि भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय, अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो ।
मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनले बताए ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

