मकवानपुर/लैङ्कि हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत जनप्रतिनिधि र गैरसरकारी संस्था बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।
मैत्रीपूर्ण फुटसलमा पुरुषतर्फ जनप्रतिनिधि समुहले गैसस समूहलाई पराजीत गरेको छ। जनप्रतिनिधि समूहले गैसस समूहलाई ६-४ गोल अन्तरले जित हासिल गरेको हो ।
यसै गरी महिला तर्फ गैरसरकारी संस्थाले जित हासिल गरेका छन् । महिलतर्फको खेलमा गैसस समूहले जनप्रतिनिधि समूहलाई ३-0 गोल अन्तरले जित हात पारेको हो ।
खेलको उद्घाटन कार्यक्रममा बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्य मन्त्री जुनेली श्रेष्ठले खेलले व्यक्तिलाई उर्जा प्राप्त हुने र त्यो उर्जा हिंसा विरुद्ध अभियानमा लाग्न बल पुग्ने बताइन् । हिंसा विरुद्धको अभियानमा संधै साथसाथ लागि पर्ने जनप्रतिनिधि र गैरसरकारी संस्था बिच मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउन यो खेल प्रभावकारी भएको सहभागीहरुले बताए ।

१६ दिने अभियान अन्तरगत मानव अधिकार संरक्षण तथा मानव वेच विखन विरुद्धको जिल्ला सञ्जालको आयोजनामा कार्यक्रम गरिएको थियो । फुटसलमा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका उपप्रमुख पार्वती राना, हेटौंडा उपमहानरपालिकाको विभिन्न वडाका वडा सदस्यहरु तथा मनहरी गाउँपालिकाकाे कार्यपालिका सदस्यहरुले निकै रोक खेल खेलेका थिए ।
यसैगरी गैरसरकारी संस्था अन्तरगतको महिला तर्फ माईती नेपाल, नारी सीप सृजना केन्द्र, ग्रामिण महिला सेवा केन्द्र, शान्ति फाउण्डेसन, हिरण्डे नेपाल, सिविन नेपाल, हिमराइटस मकवानपुर, आइ भि डि एस, महिला सेल, अस्मिता नेपालको सहभागीता रहेको थियो ।

यसैगरी पुरुष खेलाडी तर्फ बाल कल्याण समाज, नारि सीप सृजना केन्द्र, नारी संरक्षण केन्द्र, साना हातहरु नेपाल, ग्रामिण महिला सेवा, एस्तर बेञ्जामिन, सिविन नेपाल, अस्मिता नेपालको सहभागीता रहेको थियो । विजयी समूहलाई अभियान समापनकाे दिन ट्रफि प्रदान गरिने सञ्जालले जनाएकाे छ ।

मकवानपुर / समाजमा व्याप्त बाल विवाह न्यूनिकरणको लागि सरकारी तवरबाट बनेको नीति अनुसारको रणनीतिक योजनाहरु बन्नु पर्ने र कडाइका साथ कार्यन्वयनमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद् र बाल बालिका शान्ति क्षेत्र हुन् अभियानको आयोजना तथा सिविन बाल हेल्प लाइन मकवानपुरको समन्वयमा हेटौंडामा भएको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सरकारले बालबालिकाको हितको लागि केही प्रभावकारी नीति बनाएको भए पनि यसको कार्यान्वय पक्ष फितलो भएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरे । आवश्यकता महसुस गरिएको भए पनि नीतिले प्राथमिकता नपाएको सहभागीहरुले बताएका हुन् । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत चन्द्रकुमारी व्यान्जनकारले आपतकालीन अवस्थामा रहेका बालबालिकाको उद्दारदेखि विभिन्न हितकारी सवाललाई नीतिले सम्बोधन गरे पनि उपलब्धिपूर्ण हुन नसकेको बताइन्।
समाजमा देखिने तडकभडक र देखासिखि, सामाजिक संस्कार,परिवारको बेमेल, आर्थिक अभाव, प्रेम सम्बन्धले बसेको गर्भ जस्ता कारणले बाल विवाहलाई उत्प्रेरित गर्ने गरेको सहभागीहरुले बताएका थिए । प्रेम सम्बन्धलाई समाज र परिवारले अस्वीकार गरेको कारण पनि बाल विवाह हुने गरेको सिविन बाल हेल्प लाइन मकवानपुरको अधिकृत सम्झना अधिकारीले बताइन् ।

बालबालिकालाई कुनै नै कुनै काममा व्यस्त राख्न नसकेको कारण बाल विवाहको समस्या र चुनौती बढेकोले उनीहरूको रुचि बुझेर सीप, क्षमताको सवाल जोड्नु पर्ने कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डका फिल्ड अधिकृत जगन्नाथ सुवेदी बताए । बाल विवाहको चिन्ता समुदायको विषय बन्नु पर्ने र हाल यो कुनै गैरसरकारी संस्थाको सवाल जस्तो रुपमा लिंदै आएकोले पनि व्यवहारीक रुपमा बाल विवाह रोकथाम गर्न नसकिएको बताइएको थियो ।
बाल विवाह रोकथामको लागि विद्यालयमा भर्ना अभियान लैजादा नै बाल विवाह विरुद्ध सचेतनाका कार्यक्रमहरु जोड्नु पर्ने, विद्यालयको अभिभावक भेला तथा कक्षागत रुपमा पनि जनचेतना अभिवृद्धिको कार्यक्रम गर्नुपर्न सहभागीहरुले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडाकुमारी खड्काले बालबालिकाहरुलाई कानूनी सचेतना समेत अपरीहार्य भएको बताइन् । ‘माया गर्दा पनि अपराध हुक्छ भन्ने हेक्का नहुदा बालकहरु बलात्कारको केसमा पर्ने गरेका छन्’ खड्काले भनिन् ।
बालबालिकालाई अधिकार सँगै कर्तव्य बोध गराउने, अभिभावकलाई बालबालिकाप्रति कुशल अभिभावकत्व निर्वाह गर्न प्रेरित गर्ने, पारिवारीक मेलको बातावरण सिर्जना गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सहभागीहरुले बताएका थिए ।

राष्ट्रिय बाल अधिकार परिषदका पुर्व निर्देशक तारक धिताल, सिजपका रत्न केसी र सिविन मकवानपुरका संयोजक झविन्द्र ज्ञावलीले सहजिकरण गरेको कार्यक्रममा माइती नेपाल मकवानपुर, हिमराइट्स मकवानपुर, हेटौंडा उपमहानगरपालिका, बाल कल्याण समाज मकवानपुर, बाल क्लबको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
मकवानपुर/हिंसा विरुद्ध सचेत समाज निर्माणको लागि शिक्षक, बालबालिका तथा अभिभावकलाई एउटै थलोमा राखेर कार्यक्रम गरिएको छ ।
हिमराइट्स मकवानपुरको आयोजना तथा कोर ईन्टरनेशनल क्यानडा को आर्थिक सहयोगमा महिला हिंसा विरुद्ध को १६ दिने अभियान अन्तर्गत मनहरी गाउँपालिका–३ स्थित श्री प्रजा आधारभुत विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरु एकै साथ सहभागी गराई महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसाबारे जानकारी, यसबाट बच्ने उपाय जस्ता सवालमा छलफल तथा अन्तरक्रिया गरिएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवाले बताइन् । शिक्षक तथा अभिभावकहरु समेतको सहभागीतामा कार्यक्रम गर्दा यसको प्रभावकारीता राम्रो हुने भएकोले यसरी समग्रमै कार्यक्रम गरिएको हिमराइट्स मकवानपुर प्रमुख वाइबाले बताइन् ।

सहभागीहरुलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर हिंसा विरुद्ध सशक्तिकरणको सवालहरुसँगै मानवअधिकार, मानवबेचबिखन विरुद्ध र बालबालिका माथी हुने विभिन्न किसिमका हिंसा र दुव्र्यवहार समबन्धी प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रमुख वाइबा तथा माइती नेपाल मकवानपुर प्रमुख मायाल लामाले प्रशिक्षण गराएका थिए ।

हिमराइट्सले सिमान्त्कृत समुदायको शिक्ष तथा नेतृत्व विकासको लागि कार्यक्रम गर्दै आएको छ । लैङ्गिक हिंसा विरुद्धको सवाल शिक्षा र नेतृत्वसँग जाडिएको सवाल भएकोले हिंसा विरुद्धको अभियान नै मानव अधिकार प्रत्याभुतको आधार भएको वाइबाले बताइन् । हिंसा विरुद्धको सवाल उठाइदा मानव अधिकारको सवाल, शिक्षा र सशक्तिकरणको सवाल पनि जोड्नु पर्ने उनले बताइन् ।
मकवानपुर । मकवानपुर प्रहरी हराएको सुन सहित नगद फेला पारी सम्बन्धित धनीलाई बुझाएकाे छ ऽ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।
मंशिर ११ गते विहान गहना र नगद सुरक्षाकाे लागि कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान), एटियम कार्ड र नगद १७ हजार रुपैयाँ कपडामा पाेकाे पारेर फाेहाेर फाल्ने डस्विनमा राखेका थिए ।
घटनाकाे अनुसन्धानबाट कार्कीले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाकोको फोहोर संकलन गर्ने फोहोर सँगै फालेकाे पत्ता लागेकाे मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्दा हराएको सुन, एटिएम कार्ड र नगद फेला पारेकाेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले सम्बन्धित धनी कार्कीलाई बुझाएका हुन् ।

मकवानपुर । मकवानपुरकाे मनहरीमा बसकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको सिमपानीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती १० बजे मनहरीबाट हेटौंडा आउँदै गरेको ना १६ प १८३५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट हेटौंडा आउँदै गरेको ना ८ ख २८ १० नंबरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बसामाडीका प्रमोद कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएको लामाको उपचारको क्रममा मृत्यु भएको हाे । माेटरसाइकल चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाको आवशयक अनुसन्धान भईरहेको प्रवक्ता रिमालको बताए ।
मादक पदार्थ सेवन गरी ट्रक चलाउने चालक पक्राउ
यसै बीच मादक पदार्थ सेवन (मापसे) गरेर ट्रक चलाउने चालक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलीले शुक्रबार राती हेटौंडा १० बाट १ जना ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नंबरको ट्रकलाई चेकजाँच गर्दा ट्रक चालक सिन्धुली कमलामाई ७ बस्ने ३८ वर्षीय कुमार भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक ट्रक चलाएको पाइएकाेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । भुजेलमाथि आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।