मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा बस दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवन तर्फ गईरहेको ना ४ ख ४४५४ नंबरको बस आज बिहान ८ बजेर २० मिनेटमा दुर्घटना हुँदा बसमा सवार दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उक्त दुर्घटना विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन विवरण संकलन भईरहेको र दुर्घटनाको कारण हालसम्म नखुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौडा–१८ दोभानचौर स्थित बंशगोपाल सामुदायिक वन उपभोक्ता समूहमा वनडढेलो ब्यवस्थापन तालिम भएको छ । सुख्खायाममा लाग्ने वनडढेलोबाट कसरी बच्ने तथा डडेलाे लाग्नबाट बचाउने विषयमा बुधवार तालिम भएकाे हाे ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।तालिममा वनडढेलोले पु¥याउने हानी,वातावरणमा पर्ने नोक्सान,वनपैदावारमा हुने हानी, वनडढेलो नियन्त्रण गर्ने उपाय लगायतका विषयहरुमा जानकारी गराइर्एको थियो । तालिममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
तालिममा बंशगोपाल सामुदायिक वनका ३० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । महासंघले सुख्खायाममा लाग्ने बनडढेलोलाई मध्यनजर गर्दै यस अघि हेटौडा–१७ हटियामा रहेको चुरेकालीलेक र हेटौडा–१९ मा रहेको जलेश्वर सामुदायिक वन समूहमा सचेतनामुलक वनडढेलो व्यवस्थापन तालिम सञ्चालन गरिसकेको छ।
हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, हेटौडा उपमहानगरपालिकी आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाई, वातावरण ईन्जिनियर चन्दा खड्का, समूहका अध्यक्ष हरेराम बानियाँ, सञ्चारकर्मी भीमसेन पौडेल, फेकोफन सहजकर्ता अन्जली थापा, सुमित लामा लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदी बीचमा आज बुधबार भेटवार्ता तथा छलफल भएको छ ।
भेटमा आयोगका अध्यक्ष सुवेदीले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह गरेका छन् ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरेका थिए ।
प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरण गर्ने बताए ।
भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।
मकवानपुर/बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जनताको ज्यू धनको सुरक्षार्थ तीनै तहको सरकार जिम्मेवार रहेको बताएका छन् । उनले सरकार तथा प्रहरीलाई आफ्नो जिम्मेवारी पुरा गर्न आम जनताको साथ अनिवार्य भएको बताएका छन् ।
नेपालको संविधानले नै बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको स्मरण गर्दै मन्त्री खनालले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा सबै तहमा शान्ति सुरक्षा तथा अमनचयनको वातावरण व्यवस्थित हुनुपर्ने बताए ।
मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनको नव निर्मित ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सजिलो पार्ने जिम्मेवारी आमनागरिकको भएको बताए । भवन निर्माणसँगै प्रहरीको लागि अत्यवश्यक भौतिक आवश्यकता टरेको र यसले प्रहरीको मनोबल उच्च भएको उनले बताए । ‘यसले शान्तिसुरक्षामा थप बल पुगेको छ’ उनले भने ।
बागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आर्थिक वर्ष ०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माणकार्यको थालनी भएको थियो । जसमध्ये मकवानपुरको यो कार्यालय ३९ औं हो । प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८ सय २३ रुपौयाँको लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हाल सम्म ३९ वटा निर्माण सम्पन्न भई ३७ वटा उद्घाटन भएको एक वटा प्रहरी इकाई उद्घाटन गर्न बाकीँ रहेको बताइएको छ । साथै एउटा भवन चैत्र मसान्तमा र बाकी ५ वटा बैशाख मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको समेत जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती प्रदेश सरकारका सचिव रुद्रसिंह तामाङ, मकवा नपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरीका एसपी रणबहादुर कार्कीलगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर/ प्रहरीले लागुऔषध अफिम खेती फडानि अभियान अन्तरगत दोस्रो दिन ३५ विगाहा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले मिति आज मंगलबार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ४ अन्तर्गत चौकिटार, मादल सिंह क्षेत्रको अफिम नष्ट गरेको हो ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका ४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका ७ अन्तर्गत बिलासी, ताम्लाङ र वडा ८ अन्तर्गत रुपलाङ, डुडलुङलगायतको वडा क्षेत्रमा ३५ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्त प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।