मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले हेटाैडामा हराएकाे २ वटा माेटरसाइकल फेला पारी धनीलाई बुझाएको हाे ।
हेटौंडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा आफ्नै घरबाट हराएको ना. ६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा-१ चौकीटोलमा फेला पारी भट्टराईलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
त्यसैगरी हेटौंडा-१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा हराएको थियो । हेटौंडा- ४ मा पार्किङ गरेर राखेको बा.प्र. ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा-२ मा फेला पारी वाईवालाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडाकी २४ बर्षीया युवतीमाथि छुरा प्रहार गरी फरार रहेका एक युवक २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका छन् ।
११ चैतमा हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा महिला अधिकारकर्मी अनिशा राईमाथि छुरा प्रहार गरेर फरार भएका सिर्जन यादव बिहीबार २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका हुन् ।
अनिशामाथि छुरा प्रहारपछि फरार यादव आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
प्रहरीले आरोपित यादवमाथि अनुसन्धान सुरू गरेको बताएको छ ।
हेटौंडा–२ का २९ वर्षीय यादवले छुरा प्रहार गर्दा युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । गम्भिर घाइते भएकी राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र मेडेसिटी हस्पिटलमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ । तस्बिर हेडम्बा न्युजबाट
मकवानपुर/ आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन अब २ दिन मात्रै बाँकी छ । ११ र १२ वैशाखमा दलहरुले आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गराउनै पर्दछ ।
तर, मकवानपुरमा सत्ताधारी ५ दलीय गठबन्धनभित्र भएको सहमतिले पार्टीभित्र विवाद जन्माएको छ। गठबन्धनमा भएको सहमतिका कारण पार्टीभित्रको अन्तरद्वन्द्व यतिबेला छरपष्ट भएको छ । सत्तासाझेदार दलहरूलाई स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन निकै सकस खेप्नु परेको छ भने गठबन्धनमा सहभागी दलहरुले नै एकापसमा पार्टीको सांगठनिक अवस्थालाई कमजोर आँक्न थालेका छन् । यसले गर्दा फरक पार्टीबीचमासमेत दुस्मनी सुरु भएको छ।
उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएपनि दलहरुका बीचमा कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता गठबन्धन दलहरुका बीचमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकिकृत समाजवादीले प्राप्त गर्ने निर्णय भए पनि जिल्लामा उक्त निर्णय नमान्ने भन्दै गठबन्धनको सबैभन्दा ठूलो पार्टी काँग्रेसले दिनमै २÷३ वटा पत्रकार सम्मेलन गर्दै आएको छ ।
निर्णय सच्याउन माग गर्दै नेपाली काँग्रेस मकवानपुर जिल्ला उपसभापति आनन्द कठायतसहित बहुमत पदाधिकारीले माग गरेका छन् । पार्टीको सांगठनिक हैसियतलाई भुल्दै सानो दलसँग झुकेर हेटौंडाको मेयर पद छोडेको कार्यकर्ताको आरोप छ ।
यता नेकपा एकीकृत समाजवादीले पनि आफ्नो हैसियत अनुसारको सम्मानजनक भाग नआएको भन्दै गाउँपालिकाहरुमा एकल चुनाव लड्ने तयारी गरेको छ। नेकपा माओवादी र एकिकृत समाजवादीले पनि कांग्रेसले मकवानपुर जिल्लाका अरु स्थानीय तहमा प्राप्त गर्ने भनिएको अध्यक्ष पद नदिने र आफै चुनाव लड्ने चेतावनी दिएका छन् । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी, राक्सिराङ, कैलासलगायतका क्षेत्रमा पनि माओवादी र समाजवादीले आफ्ना उमेदवार उठाउने र काँग्रेससँग प्रतिस्पर्धा गर्ने एकिकृत समाजवादीले तयारी गरेको छ ।
समाजवादीले जिल्लाको २ वटा पालिकामा आफ्नो एकल उम्मेदवारी सिफारिस समेत गरिसकेको छ ।
यसअघि दिनहुँ बैठक बसिरहेको भएपनि २ दिन यता गठबन्धन दलहरुका बीचमा औपचारिक बैठक समेत बस्न सकेको छैन । कांग्रेस मकवानपुरका नेताहरु केन्द्रमा गएर हेटौंडाको मेयर कुनैपनि हालतमा कांग्रेसले पाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् ।
गठबन्धन दलहरुका बीचमा पटक–पटक सहमतिका लागि बैठक बसेपनि कुनै प्रगति नभएका कारण कांग्रेसको आवश्यकतामा बैठक नबस्ने र सत्तासाझेदार अन्य दलको समन्वयमा भने बैठक बस्ने बताइरहेको छ । भागबण्डा मिलाउन यसअघि बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले वडा तहमै करिब ५० प्रतिशत भाग माग्दा सहमति जुट्न नसकेको हो।
यता एकिकृत समाजवादीले पनि आफ्ना मागहरुमा अडिग रहेको छ । जिल्लामा ठूलो दलको हैसियतले गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस र एकीकृत समाजवादीले लचकता अपनाएर बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दासमेत माओवादी केन्द्रले वडा तहमा एक्लै करिब ५० प्रतिशत पाउनुपर्ने माग गरेको एकीकृत समाजवादी प्रचार विभागका एक नेताले भने ।
माओवादी केन्द्रले गठबन्धनको केन्द्रीय स्तरबाट बनाइएको मापदण्ड अनुसार आफूले पाउने पालिकाबाहेक मकवानपुरमा थप ३ वटा पालिका दाबी गरेको उनले बताए । केन्द्रीय तहले निर्धारण गरेको आधार र मापदण्ड अनुसार मकवानपुरको २ वटा पालिकामा माओवादी केन्द्रले स्वतः नेतृत्व पाउनुपर्ने र अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको पालिकामा पनि आफूले नै नेतृत्व पाउनुपर्ने माओवादीको दावी छ ।
पार्टीभित्र कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्दा गठबन्धनमा सहमति नहुने र गठबन्धनको सहमतिले कार्यकर्ता रुष्ट हुने क्रम बढेपछि मकवानपुरमा गठबन्धनको प्रभावकारिता खासै नदेखिने भएको छ । “जबरजस्त लादिएको निर्णयले निर्वाचन नतिजामा अपेक्षित सफलता हात लाग्दैन” नेकपा मओवादीका एक नेताले भने “आज पार्टीको निर्णय चित्त नबुझेकाहरुबाटै भोलि गठबन्धनलाई घात नहोला भन्न सकिन्न ।”
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन -२०७९ को लागि मकवानपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय आज उद्घाटन गरिएको छ ।
मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्य न्यायाधीश श्रेष्ठले निर्वाचन भनेको समाजमा सुरक्षा र भयरहित बाताबरण सिर्जना गर्ने सकारात्मक अभ्यास भएको बताए ।
मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा आजैबाट कार्यालय खोलिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
मकवानपुर जिल्लाको १९ वटा अति संवेदनशील मतदान स्थलमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अनुगमन गरेको पाण्डेले बताए । हाम्रो नजरले केहि सुरक्षा चुनौती छन्, यद्यपि ति मतदान स्थलमा ढुक्क भएर मतदान गर्ने अवस्था भएकोले मतदातालाई सशंकित नहुन उनले आग्रह गरे ।
निर्वाचनलाई सफल पार्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भएकोले सकारात्मक समन्वय र भूमिका निर्वाह गर्न पाण्डेले अपिल गरे । यस अघि निर्वाचन सम्बन्धी आचारसंहिताको सवाल प्रजिअले हेर्ने भएकोमा आजको मितिबाट सम्बन्धित निर्वाचन अधिकृतले सम्बन्धित स्थलको आचारसंहिता अनुगमन गर्नेछन्
आज खोलिएका कार्यालयको सुरक्षाको लागि आजै बाट ५/५ जना शसस्त्र प्रहरी खटाएको प्रजिअ पाण्डेले बताए । चुनावी थप सुरक्षाको लागि मकवानपुर जिल्लामा १ हजार ४५१ म्यादी प्रहरी पनि खटाइने तयारी भएको पाण्डेले बताए ।
निर्वाचन अवधिको लागि ३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरिएको छ । मतदानपछि मतपेटिकाहरू संकलनको लागि कार्ययोजना बनाएको पाण्डेले बताए ।
मकवानपुर जिल्लाको १० वटै मतगणना स्थलमा सिसि क्यामरा जडान गरेर केन्द्रीय तहबाट निगरानी राख्ने समेतको तयारी भएको छ । चुनाव एउटा उत्सव र अभियान जस्तै भएकोले उत्सवमा संयमित भएर सहभागी हुन मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले अनुरोध गरे । आचारसंहितामा बांधेर कसैको स्वतन्त्रता कुण्ठित गर्ने नभै लोकतान्त्रिक प्रक्रियालाई स्थापित गर्न लागेको श्रेष्ठले बताए।
कार्यालय उद्घाटन कार्यक्रम नेकपा एमालेका मदन दाहाल, माओवादीका प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादीको मिना लामा, नेपाली कांग्रेसका बुद्ध लामालगायत पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा न ६ कि एक बालिका बलात्कृत भएकी छिन् ।
८ वर्षीया बालिका आफन्त पर्नेबाटै लामो समयदेखि बलात्कृत हुँदै आएको भन्ने जाहेरी परेपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य तथा मानसिका अवस्था जटिल बन्दै आएपछि परिवारले घटना बारे थाहा पाएका थिए ।
पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकाको अहिले स्वास्थ्य उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आरोपितमाथि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
केही समय अघि यसै गाउँपालिको जनता माविका छात्राहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै ३ जना शिक्षक विरुद्ध जाहेरी दिएका थिए । प्रहरीको नियन्त्रणमा रहेका ३ जना शिक्षकहरुमाथि हाल अनुसन्धान जारी छ ।