मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडामा ७४ किलाे गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नंबरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषधसहित २ जना पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गाडी चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ,गाडीमा सवार पर्सा ठोरी-३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ । पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ क्वीन्टल गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार हेटौंडाको थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख १७३८ नम्बरको टिपरलाई जाँच गर्दा ३ सय ५ किलो लागुऔषध गाँजा फेला पारेको हो ।
प्रहरीले टिपरमा सुरक्षाजाँच गर्ने क्रममा टिपरको पछाडी रातो त्रिपालले छोपेको अवस्थामा खोली हेर्दा लागुऔषध गाँजा रहेको १२ वटा बोरा र एउटा प्लाष्टिकको सानो पोका फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषधसहित टिपरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । हेटाैडा १७ हटिया कठायत चोकस्थित धरान चतरा सडकखण्डमा बोलेरोले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको मकवानपुर प्रहरीले बताएकाे छ ।
सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा हेटाैडा १८ ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । बाेलेराे चालक फरार रहेकाेमा खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानवुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २५ वर्षीया श्रृजना बिक रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा श्रृजनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रृजनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक पर्सा ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ वर्षीय आदर्श बिक र उनका ५ वर्षीय छोेरा आशिक बिक घाइते भएको उनले बताए ।
प्रहरीका अनुसार, मृतक श्रृजना र आदर्श श्रीमान् श्रीमती हुन् । घाइते आदर्श र आशिकको हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा आपसी विवादको कारण धारीलो हतियार प्रहार गर्दा एक जना घाइते भएका छन् ।
अन्दाजी ७२ वर्षिय तुलराम थिङसँग सामन्य विवाद हुँदा सोही स्थानमा बस्ने ४० वर्षिय गोबिन्द मोक्तानले धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गरेका थिए । बागमती प्रदेश प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीले घाईतेलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याएको छ ।
हतियार प्रहार गर्ने मोक्तान र घटनामा संलग्न भएको अर्को व्यक्ति १७ वर्षिय रोज रुम्बालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भैरहेको प्रदेश प्रहरीले जनाएको छ ।