मकवानपुर । मकवानपुरको हेटौँडामा प्रहरीले एम्बुलेन्स रोकेकाे कारण बिरामीकाे मृत्यु भएकाे घटनामा संलग्न सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् ।
शिवाकाेटीले एम्बुलेन्स राेकेर बिरामीकाे आफन्तलाई समेत दुःख दिएकाे तथा एम्बुलेन्स समेत प्रहरी कार्यालयमा लगेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकाे थियाे । उक्त विषयमा समाचार प्रकाशित भएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सहायक हबल्दार शिवाकोटीलाई निलम्बन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक रेग्मीले एम्बुलेन्स रोक्ने शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए ।
छानविन समिति गठन
यसैबीच घुमुवा प्रहरीको अवरोधका कारण बिरामीको बाटोमै मृत्यु भएको घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार सम्भव नभए पछि बकैया १ धाेवीडाँडाकी चिरमाया लाेलाई डिस्चार्ज गरिएकाे थियाे । लाेलाई ना २ च ८४३२ नम्बरको एम्बुलेन्सबाट बकैया घर लैजान लाग्दा हेटौँडामा आइतबार राती घुमुवा प्रहरी सहायक प्रहरी हबल्दार डिल्लीराम सिवाकोटीले अवरोध गरेका थिए ।
सादा पोशाकमा रहेका सिवाकोटीले प्रहरी हुँ भन्दै दुव्र्यवहार गर्नुका साथै हातपात समेत गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । हेटौँडा–४, रानीदरबारमा काठमाडौंबाट आएको सुमोलाई छाडेर बकैयातर्फ जान अर्को सुमोमा सामान सार्दै गर्दा सहायक प्रहरी हबल्दार सिवाकोटी पुगेका थिए ।
सिवाकोटीको अवरोध र केहीबेरको तनावपछि सुरक्षागस्तीमा हिँडेको प्रहरी टोलीले घटनालाई साम्य पार्नुका साथै चिरमाया र उनको परिवारलाई जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले रोकेकै कारण चिरमायाको सोमबार बिहान प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भएकाे परिवारले आराेप लगाएकाे छ । बिरामीकाे परिवारसँगकाे तनावकाे कारण सहायक हबल्दार सिवाकोटी घाइते भएकाेमा उपचारका लागि चितवन लगिएकाे थियाे ।
मकवानपुर । मकवानपुरको हेटौंडा–१५ चुरियामाइस्थित पूर्व–पश्चिम राजमार्गमा साेमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएकाहरुको हाल पहिचान खुलेको छैन । उनीहरुलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकाे छ । दुवै सावारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा नम्बर नखुलेको सवारीको ठक्करबाट १ जनाकाे मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ नारायणी पेट्रोल पम्प नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट १ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएकाे छ ।
प्रदेश प्रहरीका अनुसार शनाखत हुन नसकेको मागी खादै हिड्ने ४५ वर्षीय १ पुरुषको सवारीकाे ठक्करबाट ज्यान गएको हो । ठक्करबाट गम्भीर घाईते ती पुरुषको उपचारको क्रममा हेटौंडा अस्पताल मृत्यु भएको हो । शव हेटौंडा अस्पतालमा राखिएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर प्रहरीद्वारा विभिन्न मितिमा बरामद लागुऔषध नष्ट
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा बरामद गरेको लागु औषध गाँजा, नाइट्रोभेट,चरेसलगायतका लागुऔषध जलाएर नष्ट गरेको छ । मकवानपुर प्रहरीले २०८० भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेकाे १ हजार ३९ किलो गाँजा, २ सय ४ ग्राम, चरेश ३ ग्राम ७ सय ४० मिलि ग्राम खैरो हिरोइन र नाइट्रोभेट १ हजार ४१ टेयाब्लेट जलाएर नष्ट गरेको हो ।
अदालतबाट अनुमति प्राप्त गरि प्रहरीले बरामद गरिएकाे उक्त परिमाणकाे लागुऔषध शनिबार हेटौँडा वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा अन्तरगतका चौकीबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा गरी जलाएर नष्ट गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त लागुऔषध जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी, संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितिमा जलाए नष्ट गरेको हो ।
मकवानपुर । हेटौंडामा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विधमान समस्याका बारेमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा वैदेशिक रोजगारका सम्बन्धमा देखा परेका वर्तमान समस्या, सरकारद्वारा जारी नीति, ऐन, नियमावलीका बारेमा प्रदेशका सरोकारवाला निकायबीच अन्तरक्रिया भएको हो ।
सञ्जालको केन्द्रीय कोषाध्यक्ष चाँदनी राणाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रदेश नीति तथा योजना आयोगका प्रा.डा. नरविक्रम थापा, श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव तिर्थराज भट्टराईलगायतको उपस्थिति थियो । श्रम तथा रोजगार विज्ञ निलाम्बर बडानले प्रस्तुतीकरण राखेका थिए ।
बडालले बागमती प्रदेश वार्षिक नीति तथा कार्यक्रम २०८०/८१ बारे जानकारी गराउँदै सातवटा प्रदेशमध्ये श्रम तथा रोजगारको क्षेत्रमा बागमती प्रदेशले बनाएको कानुन सबैभन्दा प्रभावकारी रहेको बताए । अन्य प्रदेश भन्दा बागमती श्रम तथा रोजगारको नीति निर्माणमा अब्बल देखिएको बडालको दाबी थियो ।
उनले ‘सिक्दै, कमाउँदै–कमाउँदै सिक्दै’ (व्यवसायिक र प्राविधिक शिक्षा) कार्यक्रम, सीप परिक्षणको संस्थागत प्रवन्ध (वैदेशिक रोजगारीमा आर्जित सीप), विप्रेषणलाई उत्पादनसँग जोड्न प्रोत्साहन, युवा उद्यमशीलता तथा रोजगार अभिवृद्धि कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र क्षमता उपयोग, समस्यामा परेर फर्केकाहरुको पुनःस्थापना, नेपाल पक्षराष्ट्र भएका सन्धि प्रतिवद्धता कार्यान्वयन प्राथमिकतामा रहेको बताए ।
बडालले वैदेशिक रोजगारीमा देखिएका समस्या तथा चुनौतीमा महिला आप्रवासी श्रमिक र घरेलु श्रमिकलाई लगाइएका विभिन्न स्वरुपका प्रतिबन्धले मानव बेचबिखन र शोषणको जोखिम बढाएको बताए ।
पर्याप्त जानकारी र सीपको अभावका कारण नेपाली महिलाहरु कम पारिश्रमिकमा काम गर्न जान बाध्य भएको, लिंग र लैंङ्गिकतामा आधारित खण्डिकृत तथ्यांकको अभावमा महिला र अन्य लिंगका व्यक्तिका अनुभव र योगदानको निरन्तर वेवास्ता भइरहेको बडालको भनाई थियो । नेपालले गन्तव्य मुलुकहरुसँग गरेका अधिकांश द्विपक्षीय सम्झौतामा लैंङ्गिक प्रावधान समाविष्ट नभएको, जोर्डनसँगको बाहेक अन्य सम्झौतामा घरेलु श्रमिकका अधिकार रक्षा सुनिश्चित नभएको, सेवा सुविधाको विकेन्द्रीकरण नहुँदा वैदेशिक रोजगारीका अवसर र न्यायमा पहुँच कम भएको बडालले बताए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले वैदेशिक रोजगारमा जाने नेपालीहरु हरेक देशमा पुगेको बताइन् । नेपालका नागरिकलाई धेरै अधिकार रहेको बताइन् । उनले ऐन, नियम कानुन कार्यान्वयन हुन नसक्दा एउटा जनप्रतिनिधिले चाहेर पनि राम्रो काम गर्न सहज नभएको बताएकी छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्दा सहकार्य नहुनाले श्रम तथा रोजगारको क्षेत्रमा उल्लेखित प्रगति हासिल हुन नसकेको बताइन् ।
मेयर लामाले सक्षम नागरिक उत्पादन गर्ने र श्रम गर्न वैदेशिक रोजगारमा जादा कसरी सुरक्षित हुने कुरा सिकाउन जरुरी रहेको बताइन् । माइती नेपाल मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । स्थानीय तहको समन्वयमा वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने बारे छलफल भएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।