मकवानपुर । मकवानपुर प्रहरीले अवैध पटका ५ प्याकेट बरामद गरेको छ ।
प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटका बरामद गरेको हो । उक्त पटका पुर्व–पश्चिम सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ५२६४ नम्वरको तेलको ट्याङकरलाई जाँच गर्दा उक्त परिमाणको पटका बरामद गरिएको हाे ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध गाजासहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङबाट लागूऔषध गाँजा ३ किलोसहित १ युवकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १९ वर्षीय सबिन स्याङबोलाई उक्त गाजासहित नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्वरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार स्याङबोको साथबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई नियन्त्रणमा गरिएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाकाे राताेमाटेबाट पटका र कपडा बरामद गरेको छ । हेटाैडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडाले जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते बेलुका प्रहरी चाैकी राताेमाटेकाे टाेलीले ना.४ ख ३८९८ नम्बरको ट्याङ्करबाट बिभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) बरामद गरिएकाे हाे । यसैगरी ना.४ ख ६०३१ नं.को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार बरामद गरिएकाे कपडा ६९ हजार रुपैया बराबरकाे रहेकाे छ ।
दसैं अबधिमा मकवानपुरमा १४ सवारी दुर्घटनाः ३ जनाको मृत्यु , ७० जना घाइते
Tags: No Comments
मकवानपुर । मकवानपुरमा यस वर्षको दशैं अबधीमा १४ सवारी साधन दुर्घटनामा परेको छ । दसैको १ हप्ताको अवधिमा जिल्लाको विभिन्न १२ स्थानमा १४ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
भण्डारीका अनुसार स्कुटर, मोटरसाइकल र क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्री, वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने सहचालक १८ बर्षीय बिपिन महत्तो र बागमती गाउँपालिका वडा नं.६ ठाडीखोला बस्ने २२ बर्षीय सन्तोष दर्लामी रहेका छन् ।
क्षेत्रीको भीमफेदीको जुरिखेतमा स्कुटर दुर्घटना हुँदा, महतोको चुरियामाई नजिक क्रेन दुर्घटना हुँदा र दर्लामीको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको उनले जानकारी दिए । गत बर्षको दशैंको अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।
त्यसैगरी यस बर्षको दशैंमा बढी भाडा लिएको १० वटा सवारी साधनलाई कारबाही गरिएको छ । ६६ जना यात्रुको बढी भाडा २३ हजार २ सय २५ रुपैयाँ रकम फिर्ता गरिएको भण्डारीले बताए । मादक पदार्थ सेवन गरी १८ वटा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ सय ७१ वटा, टिकट जारी नगर्ने ५८ वटा, अन्य ४ सय ६३ वटा गरी कुल ७ सय २० वटा सवारी साधनलाई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

मकवानपुर । मकवानपुरका कैलाश, राक्सिराङ, भीमफेदी र थाहा नगरपालिकामा लागु औषध गाँजा र अफिम खेती अवैध रुपमा हुँदै आएकाे छ । लागु औषध गाँजा तस्करीको त मकवानपुर ‘ट्रान्जिट प्वाइन्ट’ कै रुपमा रहेकाे छ । मकवानपुरमा लागु औषध उत्पादन तथा ओसारपसारले प्रत्येक वर्ष समस्या निम्त्याउने गरेकाे छ । नेपालकाे कानूनले समेत लागु औषधलाई अवैध भनेकाे छ ।
मकवानपुरका उक्त स्थानमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती निर्मुल पार्न नेपाल प्रहरी र स्थानीय सरकारले योजना बनाएर काम गर्दा समेत असफल भएका छन् । फडानीकाे लागि वर्षकाे केही समयमात्र प्रहरी परिचालन हुने भएकाेले समेत गाँजा तथा अफिम उत्पादन बढ्दै गईरहेको देखिन्छ ।
मकवानपुरमा गाँजाको विरुवा उम्रेर उत्पादनको तयारी हुने समयमा सयौँ प्रहरी जिल्लाको गाँजा खेती हुने कैलाश, राक्सिराङ, भीमफेदीको उत्तरी क्षेत्र, थाहा नगरका केहि भागमा परिचालन हुन्छन् र फडानीले तिब्रता पाउँछ । तर समस्या भने घटनुको साटो दिनानुदिन बढेको देखिन्छ । गाँजा उन्मुलन गर्दै तरकारी खेतीतर्फ आर्कषणको लागि स्थानीय पालिका तथा प्रहरी प्रशासनले सयौँ सचेतना कार्यक्रम, तरकारीको विउ वितरण लगाएका कामहरु गर्दै आईरहेपनि मकवानपुरमा भने गाँजा रोप्ने, तस्करी गर्ने क्रम भने रोकिएको छैन् ।
प्रहरीले वर्षेनी मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लागुऔषध फँडानी गर्दै आएको छ तर ती क्षेत्रमा अझै पनि गाँजा र अफिमको अवैध खेती हुन भने राेकिएकाे छैन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले केही समयअघि मात्रै लागुऔषधको विकल्पमा कफि खेती प्रवर्द्धन गर्न सुरु गरेको थियो ।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ । लागु औषधकाे खेती भएका स्थानमा गाँजा र अफिम खेती फडानी गर्न मकवानपुर प्रहरीले आइतबार १ सय ३७ जना प्रहरी परिचालन गरेको छ । आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागुऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागुऔषध फँडानीका लागि खटिएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन् ।
यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे तथ्याङ्कमा समेत गाजाँ तथा अफिम खेती बढेको पाईन्छ । प्रहरीले गाँजा तथा अफिम खेती फडानी कार्यमा तीव्रता दिएकाे भएपनि जिल्लामा हुने खेती र तस्करीको क्रम भने हालसम्म रोकिएको छैन् । अझ तस्करीको दर बढेको छ । मकवानपुरको राक्सिराङ र कैलाशमा उत्पादन हुने लागुऔषध गाँजा र अफिम भारत निकासी हुने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर प्रहरीले ५ सय १९ जना प्रहरी परिचालन गरि १ सय ४४ विगहा ३ कठ्ठा १६ धुरमा लगाईएको गाँजा फडानी तथा नष्ट गरेको थियो । यहि वर्ष प्रहरीले १ सय ४४ विगहा १४ कठ्ठामा लगाएको अफिम खेती पनि नष्ट गरेको थियो । तर आर्थिक वर्ष २०७९/०८० मा अघिल्लाे आव भन्दा थप २ सय अर्थात १ सय ४६ विगहा १९ कठ्ठा गाँजा फडानी भएकाे तथ्याङ्कले देखाउँछ । उक्त आवमा २ सय २४ विहगा ३ कठ्ठा क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरेको छ । यि जमिनमा लागु औषध नष्ट गर्न प्रहरीको ४ सय ९७ जना जनशक्ति प्रयोग भएको थियो ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको करिब ४ महिनाको अवधिमा मकवानपुरमा लगाईएका १५ विगहा गाँजाखेति फडानी तथा नष्ट गरिसकेकाे तथ्याङ्क छ ।
लागु औषध उत्पादनसँगै जिल्लामा तस्करी तथा पक्राउको दर पनि बढ्दै गएकाे छ । मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ६ सय ६२ किलो गाँजा बरामद गरेको थियो भने १२ किलो अफिम बरामद गरेकाेमा २ सय ५६ जनालाई पक्राउ समेत गरेको थियो । तर आर्थिक वर्ष २०७९–०८० मा त्यो दरमा तिब्र बृद्धि भएको छ । सो आर्थिक वर्षमा प्रहरीले ६ हजार ५ किलो गाँजा र १२ किलो अफिम बरामद गर्दै समग्र लागु औषधको केशमा २ सय ४८ जनालाई पक्राउ गरेको छ ।
गाँजालाई लागुऔषधको रुपमा नेपालको कानुनमा ब्यवस्था भएपनि उत्तरी मकवानपुरका किसानहरु गाँजालाई आयश्रोतकाे माध्यमको रुपमा लिने गर्दछन् । सामन्यतया भदौमा लगाइने गाँजा मंसिर, पुससम्म तयार हुने गरेकाे पाइन्छ । किसानहरु आयाश्रोतको अन्य विकल्प र खेतियोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा अन्य खेति गर्न नसक्ने अवस्थामा रहेकाे बताइन्छ ।
गाँजा फडानी रोक्न माग
नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले मकवानपुरमा भईरहेको गाँजा फडानी कार्य रोक्न माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत भेटवालले पटक पटक प्रहरी प्रशासनद्वारा मकवानपुरको विभिन्न क्षेत्रमा भईरहेको गाँजा फडानीमा प्रश्न उठाएका हुन् ।
“पटक पटक प्रहरी प्रशासनद्वारा मकवानपुरका विभिन्न क्षेत्रमा भईरहेको गाँजा फडानी कार्यले प्रहरी प्रशासनलाई के कस्तो फाइदा पुग्ने हो ?’ भेटवालले फेसबुक पेजमा लेखेका छन् ‘संसदमै गाँजा खुल्ला गर्ने विषयले प्रवेश पाएको स्मरण गराउदै प्रहरी प्रशासनद्वारा सर्वसाधारणको रोजी रोटीमा समेत प्रत्यक्ष प्रभाव पार्ने कार्य किन गरिरहन्छ ? पिडामा भएका गरिब दिनदुखिलाई थप पीडा दिएर के पाउछौ ?”
एकातिर प्रकृतिले दिएको अमूल्य वरदान गाँजालाई उपयुक्त किसिमले उपभोग गर्ने गरि संसारमा धेरै देशले गाँजा उत्पादन खुल्ला गरेका छन् भने हाम्रोतिर गाँजा फडानी गरेर प्रहरी प्रशासन बहादुरीता प्रदर्शन गर्दै आइरहेको प्रति नेपाल तरुण दलका केन्द्रिय सदस्य भेटवालले सरकारलाई प्रश्न गरेका छन् । देशमा एकातिर स्थानीय उत्पादनलाई बढावा दिने छलफल चल्छ भने अर्कोतिर स्थानीय उत्पादन नष्ट गर्न प्रशासन आफैं अघि सरिरहेको कार्यप्रती सामाजिक संजालमार्फत नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले सरकारलाई प्रश्न गरेका छन ।
