मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गोबर ग्याँसको ट्याङ्की भित्र चुरोट सल्काउन खोज्दा आगलागी भएको छ ।
आगलागीबाट हेटौंडा–६ हात्तिलेट बस्ने २६ वर्षीय समित राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्न ट्याङ्कीभित्र पसेका थिए ।
उनले गोबर ग्याँस ट्याङ्कीभित्र बसेर चुरोट सल्काउदा आगोलागी हुँदा शरिरको विभिन्न भाग जलेको भण्डारीले बताए ।
घाइते राइलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । आइतबार हेटौंडा–८ र हेटौंडा–४ मा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै शनिबार दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाइते भएको जानकारी दिए ।
हेटौंडा १५ रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नं.को अटो एकआपसमा ठोकिँदा मोटरसाइकल उच्छिटिएर हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्री समेतलाई ठक्कर दिदा ३ जना घाइते भएको भण्डारीले बताए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने २२ वर्षीय महेश लामा, मोटरसाइकलमा सवार हेटौंडा–९ पशुपतिनगर बस्ने २६ वर्षीय गोबिन्द श्रेष्ठ र साईकल यात्री हेटौंडा–८ मैदाटोल बस्ने ७० वर्षीय तिलक बहादुर बुढाथोकी रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक महेशको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेटौंडा कै सहकारी अस्पताल लगिएको भण्डारीले बताए । अन्य घाइतेहरुको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक हेटौंडा–८, कमाने बस्ने ५० वर्षीय राममणि घिमिरेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, आजै दिउँसो हेटौंडा–८ गौरीचोकस्थित भएको सवारी दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
कमानेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा ३ जना घाइते भएको मकवानपुर प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीया रेखा पुर्रकुटी, मोटरसाइकल चालक हेटौंडा–१७ हटिया बस्ने १८ वर्षीय हिमाल भुजेल र मोटरसाइकलमा सवार हेटौंडा–७ नागस्वति बस्ने २२ वर्षीया गोमा तिमल्सिना रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का नेता जगन्नाथ थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहदै तत्काल राहत र उद्धारको काममा लाग्न अनुरोध गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता थपलियाले आज एक अपिल पत्र जारी गर्दै भूकम्पमा परी कयौं व्यक्तिहरु बेपत्ता भइरहेको, स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएको तथा मध्यरातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएकोले स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था समेत नरहेको उललेख गर्दै यस्तो बेला बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा अपिल गरेका हुन् ।
“कार्तिक १७ राती पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,साथै उक्त भूकम्पमा परी घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु” उनले अपिलमा भनेका छन् ।
घटनामा कयौं व्यक्तिहरु बेपत्ता भइरहेको भन्दै स्वास्थ्य केन्द्र र अस्पतालहरु बिरामीले भरिएकोले उद्वार राहतमा ध्यान दिन उनले सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार मध्य राति भूकम्प गएकोले ६.४ रेक्टर स्केलको भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिम जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या १५० पुगेको छ । उत्तिकै संङ्ख्यामा घाइते भएका छन् ।
“बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा हार्दिक अनुरोध गर्दछु” थपलियाले भनेका छन् ।
मकवानपुर । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्याएको क्षतिबारे जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल स्थलगत अवलाेकनकाे लागि उक्त क्षेत्रमा जाने भएका छन् । खोज, उद्वार तथा थप उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम पनि अहिले स्थलगत जादै गरेको उनको सचिवालयले जनाएको छ ।
अहिले उक्त क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ। सुख्खा पहिरोका कारण केही सडकहरू बन्द भएकाेले उद्दारमा केही कठिनाइ भएकाे बताइ रहँदा प्रधानमन्त्रीकाे सचिवालयले बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन गरिने जनाएकाे छ ।
जाजरकाेट र रुकुम पश्चिमका स्वास्थ्यसंस्था घाइतेहरुले भरिएकाेले ती जिल्लाका स्थानीय जनप्रतिनिधिहरुले थप उपचारकाे व्यवस्था गरिदिन आग्रह समेत गरेका छन् ।
बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन हुनेछन्।
शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भुकम्पमा परी जाजरकाेट र पश्चिम रुकुम मृत्यु हुनेकाे संख्या ७३ जना पुगेका छन्।
उक्त भूकम्पलगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।
मकवानपुर । शुक्रबार राती ११:४९ बजे जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ४० बढी घाइते भएका छन् ।
सरकारले भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो।
भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’
भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए।