मकवानपुर/नेपाल कम्युनिष्ट पाटी (प्रचण्ड–माधव) समुह मकवानपुरको बागमती गाउँपालिकामा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
आज मंगलबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेपाली काँग्रेस र राप्रपाबाट दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी मकवानपुरका सचिवालय सदस्य माधव घोरसाइनी, जिल्ला सदस्य जित बहादुर भ्लोन सहित बागमती गाउँ कमिटि नेकपामा प्रवेश गरेको छ । त्यस्तै नेपाली काँग्रेस बागमती गाउँपालिका ५ का पूर्व सभापति केदार थापा, ४ नम्बर वडाबाट कमल रसाइली, निसान भोम्जन, आसाराम थिङ, ७ नम्बर वडाबाट निर्मला तिमल्सिनाको नेतृत्वमा नेकपा प्रवेश गरेको हो ।
राप्रपाबाट एमध्वज बल, धनबीर स्याङ्तान लगायत पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले स्वागत गरेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन ९पृथक० ले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले प्रधानमन्त्री गलत कदम चाल्दै दुई तिहाई जनमतको अपमान गरेको बताए ।
पार्टी अध्यक्ष सिग्देलले प्रधानमन्त्रीको असम्बैधानिक कदमको बिरुद्ध वडा तहसम्म संघर्षको कार्यक्रम अघि बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिइन् । पौष महिनाभित्र वडा कमिटि बैठक, प्रशिक्षण र जनवर्गीय संगठनहरुको बैठक सकाउने र गाउँपालिका स्तरीय बृहत्त कार्यकर्ता भेला प्रशिक्षण गरिने उनले बताइन् ।
कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सदस्य सर्केश घलान, जिल्ला पार्टी सचिवालय सदस्य भगवती पुडासैनी, ज्ञान सागर भ्लोन, जिल्ला सदस्यहरु सर्मिला बिक,जनक पहरी, दिलदोर्जे पाख्रिन, दन्तलाल माझी, मंगल रखाल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३२ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कठ्यांग्रिदो जाडोमा जीवन यापन गर्दै आइरहेका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ३ घट्टेखोलाका ३२ परिवारलाई गैरसरकारी संस्थाको समन्वयमा ब्ल्यान्केट बितरण गरिएको हो ।
बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) को सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा चेपाङ र तामाङ परिवारलाई लक्षित गरी आज शुक्रबार ब्ल्यान्केट वितरण गरिएको हो । जाडोका समयमा ब्ल्यान्केट प्राप्त भएपछि स्थानीयवासिन्दाले खुसी व्यक्त गरे । स्थानीय सरकारले मात्रै सबैतिर ध्यान दिन नसकेको बेला गैरसरकारी संस्थाको तर्फबाट ब्ल्यान्केट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
ब्ल्यान्केट वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यक्ष, क्षयरोग फोकल पर्सन ठाकुर पौडेल, बीएनएमटीका अनुगमन÷मूल्यांकन संयोजक भोला राई, सामुदायिक स्वास्थ्य परिचालक, रेविका दाहाल, स्थानीय टोल विकास संस्थाका कृष्ण योन्जन लगायतको सहभागिता रहेको थियो ।

क्षेत्रीय कार्यालय हेटौँडामा रहेको बीएनएमटीले चितवन, महोत्तरी, मकवानपुर र प्युठान जिल्लामा क्षयरोग नियन्त्रणको क्षेत्रमा स्वास्थ्य कार्यालयसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको अनुगमन तथा मूल्यांकन संयोजक राईले जानकारी दिए । मनहरीलाइभकाे सहयाेगमा
मकवानपुर/विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् ।
लामो समय कोरोना भाइरस (कोभिड)को कारण बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रमा उद्योगहरु पछिल्लो साताबाट प्राय सबैजसो पुनः सञ्चालनमा आएका छन् । लामो समय बन्द रहदा ठुलो घाटा व्यहोदै उद्योगिहरुले अब हिम्मत गरेका छन्’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने ।
उद्योग, प्रतिष्ठान र कार्यालय गरी १ सय २८ वटा निकाय रहेको हेटौंडा औद्योगिक क्षेत्रभित्र हाल १ सय १२ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । कोरोनाकालको कारण बन्द भएका नौ उद्योगहरु मध्ये अब ३ वटा उद्योगमात्रै बन्द रहेको उनले बताए ।
सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान तथा कार्यालयले वार्षिक करिब १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका थिए । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् ।
ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तः शुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक करिब १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक कँडेलले जानकारी दिए । कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट ९० करोड र निजी क्षेत्रबाट ५५० करोड रकम लगानी भएको देखिन्छ । ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४ सय जना कर्मचारी कार्यरत छन् ।
३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको हटौंडा औद्योगिक क्षेत्रमा उद्योग बन्द गर्ने र जग्गामात्रै ओगट्ने प्रवृत्तिलाई निरुत्साही गदै आएको व्यवस्थापक कँडेलले बताए ।
उक्त क्षेत्रफलमध्ये विकसित २ हजार ८ सय १ दशमलब ४८ रोपनी (भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनवेल्ट ४ सय २६ दशमलब ५२ रोपनी जङ्गल क्षेत्र पर्दछ । कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १ सय ७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल,विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५ सय ९७ रोपनी रहेको छ ।
औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् । औद्योगिक क्षेत्रभित्र विद्युत क्षमता १० एमभिए, पानी क्षमता एक हजार १५३ (प्रति दिन) र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर (प्रति दिन) रहेको छ । औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १ सय ३२ वटा, गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक संघ/संस्था पाँच रहेका छन् ।
औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योग ६, प्लाष्टिक सामग्री तर्फको उद्योग २८, विद्युत् तथा विद्युतीय सामान ३, खाद्यन्न तथा पेयपदार्थ १५, फर्निचार सामान÷काठ चिरान १०, इन्जिनीयरिङ १४, प्याकेजिङ सामान ४, केमिकल सामग्री रङरोगन १०, पाल्ट्री तथा दाना उद्योग २ , टेक्साटाइल्स उद्योग १, खानीजन्य उद्योग १०, अन्य उद्योग चुरोट, ईन्धन, डिपो, बोन प्रोसेसिङ, टायर रिसोलिङ, रेग्जिङ गरी १० हाल १ सय १२ उद्योग प्रतिष्ठान रहेका छन् । अन्य कार्यालय तथा संघ संस्था १३, जग्गा सम्झौता र निर्माणाधीन उद्योग २० रहेका छन् ।
लुकाउन खाेजिन्छ अपराध, न्यायभन्दा इज्जत प्याराे
Tags: No Comments
मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका १ स्थित धोपीमा ठुलोबुवा नाता पर्ने ६२ वर्षका वृद्धबाट २२ वर्षीय अशक्त युवती बलात्कृत भइन् । युवतीलाई घरमा कोही नभएको बेला धम्की दिएर बलात्कार गरेको प्रहरीलाई दिइएको उजुरीमा उल्लेख छ ।
घटनाका दिन उनी एक्लै घरमा सुतिरहेकी थिइन् । उनलाई घाँटीमा समाई, खुकुरी देखाएर बलात्कार गरेको बताइएको छ । महिला वा पुरुष कोही पनि व्यक्तिमाथि हिंसा हुन नदिन सामाजिक अभियान्ताहरु लागि परिरहेका छन् । टोल तथा वडा वडामा स्थानीय सरकारको उपस्थिती छ, तर हिंसाका झनै डरलाग्दा घटनाहरु बाहिरी रहेका छन् ।
पीडितलाई न्यायको लागि स्थानीय सरकारले जिम्मेवारी बहन गर्नमा कम चासो दिएको कारण न्यायमा पहुँच नपुगेको अधिकारकर्मीहरुको गुनासो छ । प्रभावितहरू घटना बाहिर ल्याएर न्यायका लागि लड्नभन्दा इज्जतकाे ख्याल राख्दै घटना लुकाउनतर्फ लाग्ने गरेका छन् । स्थानीय सरकारले घटनापछि अभिभावकत्व ग्रहण नगर्दा पनि प्रभावितहरूले न्यायकाे लागि लड्न हिम्मत नगर्ने गरेकाे पाइएकाे छ ।
दर्तामा आएका घटनाहरु पनि न्यायको अन्तिम लडाईसम्म पुग्ने गरेका छैनन् । तीन वर्षीया बालिकालाई बलात्कारपछि विभत्स हत्या गरेको घटनामा समेत स्थानीय सरकार (गाउँपालिका) ले खासै चासो नदिएको बताउँछिन् अधिकारकर्मी आरती पाठक । अशक्त व्यक्तिमाथि भएको अपराधिक घटनाको कारण पनि कानुनको प्रभावकारी कार्यान्वयन नहुनु नै रहेको अधिकारकर्मीहरूको बुझाइ छ ।
प्रभावितलाई अदालत बाहिर रहंदा जत्तिकै मनोबल अदालत भित्र पनि टिकाइराख्नको लागि गहिरो परामर्शको आवश्यकता पर्ने जिल्ला बार एशोसियनका अध्यक्ष ऋषि के.बीको भनाइ छ । अदालत बाहिर घटना भएको बताउने प्रभावितहरु भित्र छिरेपछि बकपत्रमा बोल्न सक्दैनन्, उनीहरुको मनभित्रको डर, धक हटाउन उच्चस्तरीय मनोसामाजिक परामर्शको जरुरी छ’ उनले भने । पीडित प्रभावितहरुलाई न्यायभन्दा सामाजिक इज्जतको डर बढी भएकोले न्यायको लागि घटना बाहिर ल्याउन नचाहने गरेको अभियन्ताहरुको भनाई छ ।
‘दुइ तीन महिना थुनेर पीडक धरौटीमा छुट्छ, समाजमा फर्केर उसैको फुर्ति ठूलो हुन्छ, हामीमाथि लागेको धब्बा सधैं रहन्छ, किन न्यायको नाममा आफ्नो इज्जत पखाल्नु ?’ एक प्रभावितले भनिन् ‘एकातिर अहिले कानुन लागि लडाईमा धाउँदा धाउँदा दुख पाउनु, अर्कोतिर आफ्नै परिवारको बेइज्जत ।’
पछिल्लो समय मकवानपुरमा लैङ्गिक हिंसाका घटना बाहिरीने क्रम बढेको छ । लैङ्गिक हिंसा सहेर बसेरभन्दा घटनाको उजागर गर्दा न्याय पाइने भन्ने भरोसा बिस्तारै बढेको छ । यद्यपि सबै घटनाहरु अझै बाहिरीने गरेका छैनन् । लैङ्गिक हिंसा प्रभावितलाई परामर्श र उपचारमा समन्वय गर्दै आएको हेटौंडा अस्पतालमा स्थापित एकद्धार संकट व्यवस्थापन केन्द्रको तथ्याङ्क हेर्ने हो भने विगतको तुलनामा बढेको छ ।
न्यायमा पहुँच साह्रै कम
हिंसात्मक घटनाबाट प्रभावित भएपछि कानुनी उपचारको प्रक्रियामा जानेहरुको संङ्ख्या नगन्य अर्थात धेरै कम छ । सुरुमा घटना बाहिर ल्याउनै नचाहनेको संङ्ख्या अधिक रहेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाको भोगाई छ ।
‘सञ्जाललगायत विभिन्न गैससहरुको सहयतामा कानुनी उपचारको क्रममा दर्तासम्म भएका केसहरु पनि अन्तिम अवस्थासम्म न्यायको लागि डटी रहेने गरेको धेरै कम छ’ लामाले भनिन् ।महिला तथा पुरुषले भोगेको हिंसामध्ये ३ प्रतिशत मात्रै कानुनी प्रक्रियामा जाने गरेको अर्यालले जानकारी गराईन् । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्युन वर्गका महिलाहरु रहेको तथ्याङ्कमा उल्लेख छ । पीडितका मनोबल उठाउन केन्द्रका कर्मचारीले परामर्श पनि गर्ने गरेका छन् ।
बालिकाहरुको केसमा बाल न्यायको लागि अभिभावकलाई नै परामर्श गर्नु परेको सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावली बताउँछन् । ‘परिवारमा अरु पनि बालबच्चा छन्, यो माथि घटना भै हाल्यो, अरुको इज्जतको लागि पनि यो घटना बाहिर ल्याउन चाहन्नौ भन्ने अभिभावकहरु धेरै हुनुहुन्छ’ ज्ञावलीले भने ।
५ महिनामा १ सय १९ हिंसा
चालु आर्थिक २०७७/०७८ मा १ सय १० वटा हिंसाका घटनाहरु भएका छन् । जसमा महिला १ सय १ जना र पुरुष ९ जना रहेका छन् । हिंसा महिलामाथि मात्रै भएका छैनन्, पुरुषमाथिको हिंसाको उजुरीहरु खुल्ने क्रम सुरु भएको छ । बलात्कारका घटना श्रावणमा ६, भदौमा ३, असोजमा ९, कात्तिकमा ७ र मंसिरमा ८ गरि जम्मा ३३ जना रहेका छन् । यौनजन्य घटना श्रावणमा १, असोजमा १, कात्तिकमा २, मंसिरमा १ गरि जम्मा ५ जना रहेको एकद्धार केन्द्रले जनाइएको छ ।
शारिरिक हिंसा अन्नरगत श्रावण, असोज र कात्तिकमा ४/४, मंसिरमा १७ गरी जम्मा २९ वटा घटना भएका छन् । जबरजस्ती विवाह (बेचविखन) साउन र असोजमा ४/४ वटा, कात्तिकमा १, मंसिरमा २ गरि ११ जना, घरेलु सम्बन्धी घटनामा मंसिरमा मात्र ७ वटा घटना भएको तथ्याङ्क रहेको छ ।
यसैगरी मानसिक सम्बन्धी श्रावणमा १, मंसिरमा ५ गरि जम्मा ६ वटा रहेको छ । अन्यमा श्रावणमा ८, भदौमा २, असोजमा ९, कात्तिकमा ६ र मंसिरमा ४ गरि जम्मा २४ जना हिंसाको शिकार भएका छन् । जसमध्ये गाउँपालिकाहरुमा श्रावणमा ११, भदौमा ३, असोजमा १५, कात्तिकमा १३ र मंसिरमा १२ गरि जम्मा ५४ वटा घटनाहरु रहेका छन् । नगरपालिकामा साउनमा ११, भदौमा २, असोजमा ११, कात्तिकमा ६ र मंसिरमा २२ गरि जम्मा ५२ वटा घटना भएका छन् ।
एकद्धार संकट व्यवस्थापन केन्द्रका कर्मचारी अस्मिता आर्यालले बलात्कार, जबरजस्ती विवाह, पितृसत्तात्मक सोच , लैड्डिक विभेद, मनोवैज्ञानिक असर तथा आफन्तलगायतका कारण लैंड्डिक हिंसा हुदै आएको बताईन् । व्यवस्थापन केन्द्रमा ३ वर्ष देखि ९६ वर्ष उमेर समुहका महिला हिंसाको शिकार भएको तथ्याङ्क छ ।
मकवानपुर/विनाशकारी भुकम्प २०७२ पछि क्षतिग्रस्त भएका संरचनाहरु पुर्ननिर्माणको लागि सम्झौता गर्ने अन्तिम मितिको रुपमा नेपाल सरकारले २०७७ पुस १५ गतेलाई तोकेको छ ।
भुकम्पपछिको ५ वर्षवित्दै गर्दा मकवानपुरमा पुर्ननिर्माणको प्रगति सन्तोषजनक नै भएको पाइएको छ ।
पुनर्निमाण प्राधिकरण स्थापनाको ५ वर्षमा प्राधिकरणले समिक्षा तथा प्रगतिबारे जानकारी सार्वजनिक गरेको छ । जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपीका अनुसार हालसम्म पहिचान भएका पुननिर्माण लाभगाह्री संस्या ३४ हजार १ सय ८८ घर मध्ये ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशतले सम्झौता गरेको, ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् ।
हालसम्म २२ हजार १ सय ५ जनाको निजि आवास पुननिर्माण सम्पन्न भईसकेको प्रमुख केपीले बताए । जिल्लामा जोखिमयुक्त बस्तिमा परेका २६ जना मध्ये २२ जनालाई अन्यत्र स्थानान्तरण गरिएको साथै ६ सय २७ लाभग्राही जोखीम वर्गमा परेको, ५ हजार ५ सय ७५ जनालाई साविकै स्थानमा घर निमार्ण गर्न स्वीकृत प्रदान गरिएको, र हालसम्म ६१ भूमिहिन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेको उनले बताए ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख प्रमुख बद्रीबहादुर पाठकले विद्यालय व्यवस्थापन समिति मार्फत आर्थिक वर्ष २०७३÷०७५४ देखि आर्थिक वर्ष २०७५÷०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त २ सय ५२ विद्यालय भवनको ७ सय ९३ कक्षाकोठा मध्ये हालसम्म २ सय ५१ भवनको ७ सय ८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भईसकेको बताए । यसैगरी जाईकाको ऋणबाट निर्माण हुदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २ सय ७८ कक्षाकोठा निर्माण सम्पन्नपछि हस्तान्तरण भैसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उनले बताए ।
यसैगरी एसियाली विकास बैकको नमूना विद्यालय तर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको छ । साथै ३ वटा विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २ सय १७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको पाठकले बताए । हालसम्म कूल ३ सय ४ विद्यालयको १ हजार२ सय २६ वटा कक्षाकोठा निर्माण सम्पन्न भइ प्रयोगमा आएको र जापान सरकारको ऋण सहयोगमा हालै ११ वटा विद्यालयका १ सय ३२ वटा कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको छ । एसियाली विकास बैकको ऋण सहयोगमा तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।
निजी आवासतर्फ
यता निजि आवास सम्बन्धी पहिचान भएका पुनर्निमाण लाभग्राही संख्या ३५ हजार १ सय ८८ जना रहेका छन् । अनुदान सम्झौता गरेका पुनर्निमाण लाभग्राही संख्या ३२ हजार ८ सय ५, सम्झौता हुन नसकेका पुनर्निर्माण लाभग्राही संख्या २३ सय ८३, प्रथम किस्ता प्राप्त गर्ने पुनर्निमाण लाभग्राही ३२ हजार ८ सय ५, घर निर्माण गर्न सुरु गरेका लाभग्राही संख्या ३१ हजार ५ सय ५०, दोस्रो किस्ताको लागि प्रतिवेदन दिने लाभग्राही संख्या २७ हजार ४ सय ३ रहेको कार्यालय प्रमुख इञ्जिनियर रविनक पाठकले बताए ।
घर निर्माण सम्पन्न गरेका लाभग्राही संख्या २२ हजार १ सय ५, पहिचान भएका प्रवलिकरण लाभग्राही संख्या १२ हजार ७ सय ४७, अनुदान सम्झौता गरेका प्रवलिकरण लाभग्राही संख्या १ हजार ५ सय ६२, प्राविधिक पुग्नु अगावै बनेका घर संख्या ६ सय २२, रकम फिर्ता गर्ने लाभग्राही संख्या १९, पुनर्निर्माणबाट प्रवलिकरण परिवर्तन भएको संख्या १७ र प्रवलिकरणबाट पुनर्निर्माणमा परिवर्तन भएको संख्या ५ सय १९ रहेको उनले बताए ।
त्यस्तै जोखिम बस्तिमा परेका लाभग्राही संख्या २६, जोखिमयुक्त बस्तिबाट अन्यत्र जग्गा खरिद गरी गएका लाभग्राही संख्या २२, जोखिम वर्गमा परेका लाभग्राही संख्या ६ सय २७, साविककै स्थानमा घर निर्माण गर्न स्वीकृत प्राप्त भूमिहिन लाभग्राही संख्या ५५ सय ७५ र जग्गा खरिद गरेका भुमिहीन लाभग्राही संख्या ६० रहेको कार्यालय प्रमुख पाठकले बताए ।