मकवानपुर । काेराेना भाइरसकाे कारण जारी निषेधाज्ञ मकवानपुरमा भदौ २० गते राती १२ बजेसम्समकाे लागि थपिएको छ । थपिएकाे निषेधाज्ञामा खाद्य तथा गैरखाद्य पसलहरू विहान ६ बजेबाट साँझ ६ बजेसम्म खाेल्न सकिने छ, तर फुटपाथमा पसल राख्न निषेध गरिएकाे छ ।
आज जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकनै लाग्दा आज बसेको बैठकले भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो । निर्णयकाे पुरा विवरण यहाँ हेर्नुहाेस्
मकवानपुर / पटक पटक चर्चामा आउने र सेलाउने गरेको राजमार्ग विस्तारको सवाल यसवर्ष पुनः चर्चामा आउन थालेको छ । ४ दशकदेखि विवादीत र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय ।
विभिन्न शहरको राजमार्ग चौडा गरिदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्यौलमा नै रहंदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तिको रहेको हेटौंडा बजार मानवीय बस्तिको रुपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा बजारलाई मानव बस्तिको रुपमा विकास गर्ने पक्षमा छन् । तर हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत कुनै पनि हालतमा बजारको मध्यभागबाटै कायम रहेको बाटोलाई विस्तार गर्ने पक्षमा छन् । निवर्तमान मुख्यमन्त्री पौडेलले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेका छन् । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले गत वर्ष बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमति सहितको ज्ञापान पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा विक्रि वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । साँढे २ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुबैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालको लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तिय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएको चौकीटोलतर्फका सघंर्ष समिति संयोजक कमल लामा बताए ।
मकवानपुर / प्रदेश सभा सदस्य मुनु सिग्देलले किसानको जीवनस्तर उकास्नको लागि सरकारले खासै ध्यान नदिएको बताएकी छिन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठीमा सोमबार उनले यस्तो बताएकी हुन् ।
कार्यक्रम प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले कृषिप्रधान देशको कृषि क्षेत्रमा आधुनिकताको लागि सरकार आवश्यकता अनुसार गम्भीर नभएको बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले स्थानीय तहहरुसँगको समन्वय गरेर कार्यक्रमहरू लक्ष्यित वर्गसम्म पुर्याउन पर्ने बताए । वास्तबिक किसानसम्म नपुग्दा अनुदानमा आधारित कार्यक्रमको प्रभावकारिता नहुने बिष्टले बताए । केन्द्रले पशुको शिविर सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बिष्टले औल्याए । यसैगरी इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले स्थानीय तहमा बजेट बिनियोजन हुंदा र कार्यान्वयनमा पठाउंदा राजनीतिक विभेद हुनेगरेको गुनासो गरे । गाउँपालिकामा पशु बीमालगायतको कार्यक्रम समन्वय र सहकार्य नभएको कारण पशुको लागि छुट्याइएको बजेट फ्रीज भएकोमा उनले आक्रोश व्यक्त गरे ।
कार्यक्रम बिज्ञ केन्द्रका प्रमुख सुशील केसी, डाक्टर ध्रुब डीसीले स्वीकृत कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्लाका स्थानीय तहका प्रमुखहरू तथा पत्रकारहरुको उपस्थिति रहेको विज्ञ केन्द्रका प्रदीप सापकाेटाले बताए ।

मकवानपुर / कोभिड महामारीको बाबजुद पनि उच्च अदालत पाटन हेटौंडा इजलासले कुल दर्ता भएका मुद्दाहरूमध्ये ८७.९६ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक बर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा किनारा लगाएको हो । अदालतले गत वर्षमा ९ सय ३९ मुद्दाको फर्स्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ मुद्दा फर्स्यौट गर्न सकेको अदालतको सूचना अधिकारी केशवराज कौशिकले बताए ।
सोमबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको थियो ।
आर्थिक वर्ष ७७/७८ मा अघिल्लो वर्षबाट ४०८ थान मुद्दाको जिम्मेवारी सरेर आएको थियो । यस्तै गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्दा दर्ता भएको थियो । गत वर्षमा १४ सय ४५ मुद्दाको लगत भएकोमा ८ सय २६ मात्र फर्स्यौट भएको हो । यस्तै उच्च अदालत पाटन हेटौंडा इजलासले चालू वर्षमा ११ सय ४९ नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ ।
यो वर्षको लागि गत वर्षबाट ६ सय १९ थान मुद्दाको जिम्मेवारी सरेर आएको छ । चालू वर्षमा ११ सय ९४ थान मुद्दा किनारा गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । पत्रकार सम्मेलनमा उच्च अदालत पाटन, हेटौंडाका मुख्य न्यायाधीस मोहम्मद साविर हुसेन, उप–रजिष्ट्रार कैलाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर / विषम परिस्थितिमा मानव अधिकारको संरक्षणको लागि नागरिक समाजको भूमिका कमजोर हुँदै आएको समता फाउन्डेसन कार्यकारी निर्देशक प्रदीप परियारले बताएका छन् ।
प्रदेशमा नागरिक समाज भूमिका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । समता फाउन्डेसनको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अधिकारकर्मी गैसस महासंघ बगमती प्रदेश उपाध्यक्ष आरति पाठकले राज्यद्वारा प्रदत्त अधिकारमा आमनागरिकको पहुँच नपुगेको बताइन् । यसैगरी नागरिक समाज मन्च मकवानपुर संयोजक रमिला सापकोटाले नागरिक समाजको भूमिका सशक्त बनाउन सबै वर्ग सबै क्षेत्रको उपस्थिति हुनुपर्छ बताइन् ।
यस्तै अपाङ्ग सरोकार समिति मकवानपुरका ठाकुराम थापाले कोभिडको खोप लगाउने क्रममा समेत अपाङ्गता भएकाहरूले दुख भोग्नुपरेको गुनासो गरे । स्थानीय तहमा अपाङ्गता मैतृ भौतिक संरचना नभएको कारण समस्या भोग्दै आएको उनले बताए ।
यसैगरी ब्लु डाइमण्ड सोसाइटी फ्रेन्च हेटौंडा प्रमुख किरण थापाले बास, गाँस, कपासलगायत सबै सुबिधा उपभोगमा समस्या भोग्दै आएको बताइन् । लैङ्गिक विभेदको कारण शिक्षामा ड्रप आउट भएको, स्वास्थ्य उपचारमा समस्या भोग्दै आएको उनले बताइन् । यसैगरी लियो क्लबका रूपक कालिराजले युवा जमातमा बितृष्णा जागेको बताए । राजनीति आस्थाको आधारमा युवा शक्तिलाई विभेद गरिएको कालिराजले बताए ।
कार्यक्रममा अधिकारकर्मी प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गरेको डेक नेपाल मकवानपुरका कार्यक्रम संयोजक मानबहादुर वाईबाले बताए ।