मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नविन सिग्देलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । माघ २० गते दिनभर हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने सिग्देलले बताए ।
शिक्षालाई प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको बताउदै उनले पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी गरिने जानकारी दिए । १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा हेटौंडा वडा नम्बर ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहने बताइएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा १० स्थित टिसिएन चौरमा माघ ११ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु उत्साह पुर्वक झुमेका छन् । महोत्सवको पाँचौ दिन माघ १५ गते आइतबार समेत अवलोकन गर्न आएका दर्शक गीतसंगीतमा झुमेका हुन् । यस अघी समेत राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुतीमा दर्शकले भरपुर साथ दिएका थिए ।
आइतबार दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा दर्शकहरु रमाएका हुन् । गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई…, तिमी लास्टै क्यूटि छौ र म फिदा भाको छु…,आखिर सिन्दुरपोते अर्कैको सजाएर गई…, टन्न पैसा कमाउला भन्थेउ भन्ने गीत लगायत विभिन्न गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।
गीतमा रमाउँदै गरेका हेटौंडेलीहरु स्याण्टअप कमेडीमा चर्चित रहेकी कमेडियन सीता न्यौपानेले सबैलाई हसाउँन सफल भएकी छिन् । व्यङ्ग्यात्मक रुपमा प्रस्तुत भएकी न्यौपानेले युवापुस्तालाई व्यङ्ग्य गर्दै सबैलाई हसाएकी थिइन् । शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेल, कमेडियन राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुती दिएका थिए ।
सोमबार चर्चित बाल गायक अशोक दर्जी, गायक÷संगीतकार टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, हेटौंडेली कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी आउने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवमा हेटौंडा आइडलगायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ ।हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्ननवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्द्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएकाे छ । महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक संघले जानकारी दिएकाे छ ।
महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाटकोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ रहेकाे संघका महासचिव दिपक उप्रेतीले बताए ।
यस्तै मोडुलर किचेन,टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु,बालबालिकाको लागि फन पार्क,स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर,क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको उप्रेतीले जानकारी दिए ।
डलर देखाई ठगी गर्ने ४ जना प्रहरी नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ सालकपार्कमा अमेरिकी डलर देखाई ठगी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुधबार दिउँसो अमेरिकी डलर देखाई ठगी गर्ने ४ जनालाई पक्राउ गरिएको र अरु एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।
अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिस भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट विशेष टोली खटिएको थियो । प्रहरीले ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर र ६ हजार २ सय १० नेपाली रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए । यसै गरी बा ५० प ९३७२, बा प्र ०२-०१९ प ९६२६, बा प्र ०२- ०३४ प ४२८७ नम्बरको तीन वटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै उनीहरुको साथबाट कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङग्रा (साना ढुङगाहरु), मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक दुइ थान बरामद भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सहकारी सम्बन्धी आवश्यक नीति बनाउने भएकाे छ । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले उपमहानगरले सहकारीसम्बन्धी नीति बनाउने तयारी गरेको बताएकी हुन् ।
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार लामाले आर्थिक उद्यम विकासमा सहकारीहरुले भूमिका खेल्नुपर्ने बताएकी हुन् । सहकारीले ऋण लगानी गर्दा सचेत हुनुपर्ने भन्दै उनले एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असरपर्नेमा गम्भीर हुनुपर्ने बताएकी हुन् । सहकारीले महिलालाई आर्थिक उपार्जन तथा आत्मनिर्भतामा जाेड्नु पर्ने बताइन् ।
‘कोभिड, डेंगु जस्ता रोगबाट नगरवासीलाई जोगाउन स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै प्रमुख लामाले भनिन्– ‘सफा हेटौंडा, स्वच्छ हेटौंडा भन्ने अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह पनि गर्दछु ।’ बचत, ऋण लगानीसँगै सहकारीहरु समाज परिवर्तनकाे वाहक वन्नु पर्ने उनले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताए । ‘सहकारीहरुको सामाजिक गतिविधि प्रसंशनीय भएपनि अझै धेरै काम गर्नुपर्छ,’ उनले भने, ‘सहकारी र यस क्षेत्रको विकास मैले सक्दो सहयाेग गर्नेछु ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ की अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
पत्रकार श्रेष्ठसहित अन्य व्यक्तित्व सम्मानीत
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार अशाेक सुजन श्रेष्ठ सहित विभिन्न व्यक्तित्वलाई सम्मानीत गरेकाे छ । सहरकारीले मंसिर ४ गतेकाे निर्वाचनमा मकवानपुरबाट नवनिर्वाचित प्रदेशसभा सांसदलाई सम्मान गरेकाे छ ।

यसैगरी असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेकाे सहकारी अध्यक्ष रामहरी न्यौपानेले बताए । बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई तथा सम्मान गरिएको थियो । यस्तै सहकारीका असल बचतकर्ता प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ्ग लामा, असल ऋणी सुशिला कमिनी, बृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्यहरुलाई नगद तथा उपहारसहित सम्मान गरिएको थियो ।
त्यस्तै, सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा बिशेष भुमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगी लगायतलाई पनि सम्मान गरिएको अध्यक्ष न्याैपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, नारायणी बहुउद्धेश्यीय सहकारीका पूर्व अध्यक्ष निरञ्जन ढकाल, सल्लाहकार विजेन्द्र अग्रवाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकी उपाध्यक्ष सति खड्का न्यौपाने, उपभोक्ता मञ्च हेटौंडाका अध्यक्ष कुमार प्रसाद पौडेल, कु्श्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । हेटौडा उपमहानगरपालिकाकाे बजेट आकार बढेकाे छ । गत असारमा सम्पन्न ११ औं नगर सभा अधिवेशनबाट आर्थिक वर्ष २०७९।०८० काे लागि स्वीकृत बजेटमा करिब ३४ कराेड बजेट बढेकाे हाे । उपमहानगरपालिकाकाे विहीबार सम्पन्न १२ औं नगर सभा अधिवेशनमा संसाेधित बजेट व्यक्तव्य मार्फत ३३ कराेड २१ बजेट आकार बढाइएकाे हाे ।
चालु आर्थिक वर्षका लागि स्वीकृत भएको हेटौंडा उपमहानगरपालिकाका बजेटको आकार छ महिना मै बढेको हाे । आर्थिक वर्ष २०७९/८० को लागि गत असार २० गते ११ औं नगर सभा अधिवेशनबाट २ अर्ब ७१ करोड ७९ लाख रुपियाँ बजेट स्वीकृत गरिएकाे थियाे । विहीबारकाे १२ औं नगर सभा अधिवेशनबाट संसोधित बजेटको आकार ३ अर्ब ५ करोड पुगेको छ । संसोधित बजेट बिहीबारको नगरसभाले सर्बसम्मत स्वीकृत समेत गरेको छ ।
संघीय सरकारबाट सरुवा भइ आउने कर्मचारी, आन्तरिक पदपूर्ति भएका करार कर्मचारीको तलब भत्ता र सञ्चालन खर्च, नगरकार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम महशुल भुक्तानी, इन्जियरिङ कलेज सञ्चालन खर्च तथा गत आर्थिक वर्षबाट दायित्व सरी आएकाे खर्च भुक्तानी लगायतले थप बजेट र अन्य आवश्यक कार्यक्रमहरुका लागि आन्तरिक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्व ५ करोड पु¥याइएको उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनमा नगर उपप्रमुख राजेश बानियाले प्रस्तुत गरेकाे नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितकाे संसाेधित वजेट वक्तव्यमा उल्लेख छ ।

उपमहानगरले चालु आर्थिक बर्षको हालसम्मको अवधीमा आय तर्फ संघीय सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाडफाँड तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक श्रोत कर, राजश्व श्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको बानियाँले प्रस्तुत गरेको वजेट वक्तव्यमा उल्लेख छ ।
उपमहानगरको खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पुर्वाधार विकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपियाँ गरेको जनाएको छ ।
नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको स्वीकृत २ सय ५८ योजना मध्य ४८ वटा सम्पन्न भएको र २ सय १० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक वर्ष २०७८।०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् ।
हेटौडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने
हेटौडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने भएकाे छ । १२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान बिद्ययक, २०७९ सर्बसम्मत पारित गरे पछी प्रज्ञा प्रतिष्ठान गठनकाे लागि प्रक्रिया अघी बढ्ने भएकाे हाे । प्रज्ञा प्रतिष्ठान ऐन बनेपछी प्रतिष्ठान गठन प्रारम्भ हुने बताइएकाे छ । यस अघी मकवानपुरकाे बकैया गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया थालिन गरिसकेकाे छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकाले जनस्वास्थ्य सेवा विद्येयक, २०७९ समेत स्वीकृत गरेकाे छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ समेत पास गरेको छ । हेटौडा उपमहागरपालिका बालबालिका सम्वन्धी ऐन, २०७७ को पहिलो संसोधन विधेयक, २०७९, हेटौडा उपमहागरपालिका शिक्षा ऐन, २०७४ को पहिलो संसोधन
विधेयक, २०७९, हेटौडा उपमहागरपालिका वातावरण संरक्षण ऐन, २०७७ को पहिलो संशोधन विधेयक, २०७९ समेत स्वीकृत गरिएकाे छ ।
२ वटा समिति गठन
यसैगरी उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनबाट स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार २ वटा समिति समेत गठन गरिएकाे छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको हाे । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभा भएको हो ।

हेटौंडाको विकासका लागि एकतावद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदको प्रतिवद्धता
हेटौंडाको विकासका लागि एकतावद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदहरुले प्रतिवद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले गरेकाे मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरुकाे स्वागत तथा बधाई कार्यक्रममा उक्त प्रतिवद्धता जनाइएकाे हाे ।
मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरुले हेटाैडाकाे विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले हाम्राे आफ्नै नगरकाे विकासकाे लागि दल तथा गठबन्धन नभनी एक जुट भएर लाग्नु पर्ने बताए । ‘नगरकाे विकासकाे लागि बजेटकाे कमी छैन’ उनले भने– ‘गुणस्तरिय काम हुन जरुरी छ ।’
कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (१) बाट निर्वाचित प्रदेश सभा सांसद इन्द्र बहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्ने बताए । सडक विकाससँग समेत जाेडिएकाेले आवश्यक पूर्वाधार नभएकाे तथा सागुराे सडकका कारण बजार विस्तार समेत गर्न नसिकएकाे भन्दै अहिलेपनि प्रदेशसभाका सदस्यहरु हेटौंडाको राजधानी सार्न लागिरहेकाे उनले बताए । अब राजधानी सार्ने हाेइन उपमहानगरपालिकालाई विकास गरेर महानगर बनाउनुपर्ने तथा प्रदेश राजधानी समेत यहीँ स्थायी बनाउनपहल गर्ने बताए ।

कार्यक्रममा एमालेका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (२) का प्रदेश सांसद एकालाल श्रेष्ठले स्राेतमा धनी प्रदेशकाे एक मात्र उपमहानगरपालिकाले तत्कालिन गर्नुपर्ने काम र दिर्घकालिन कामहरु पहिचान गरी कार्य गर्नु पर्ने बताए । उनले करकाे दर भन्दा दायरा फराकिलाे पार्नु पर्ने बताएका छन् । यस्तै माओवादीका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (१) का प्रदेश सांसद प्रेमबहादुर पुलामीले विकासकाे लागि सबै एकजुट भएर काम गर्नु पर्ने वताए । कार्यक्रममा प्रदेशसभामा मकवानपुरबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।
विजयी प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरुलाई नगर प्रमुख मिना कुमारी लामा उप प्रमुख राजेश वाँनियाले बधाई सहित मायाकाे चिना मकवानपुरे ठेकी प्रदान गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राप्रपाका दिपक बहादुर सिंह तथा प्रदेश सभा २(१ ) का कुमारी माेक्तान उपस्थित थिएनन् ।
उकृष्ट २ वटा वडा पुरस्कृत
यसैबीच हेटाैडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा उत्कृष्ठ वडाकाे रुपमा २ वटा वडालाई नगद सहित सम्मान गरेकाे छ । गत आर्थिक वर्षमा वडाले गरेकाे वित्तिय प्रतिशतकाे आधारमा सम्मान गरेकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १४ र १५ लाईं उत्कृष्ठ वडाकाे रुपमा सम्मान गरिएको हाे । वडा नम्बर १४ ले गत आर्थिक वर्षमा ९७.३८ प्रतिशत वित्तिय प्रगति हासिल गरी प्रथम भएकाे हाे । साथै वडा नम्बर १५ ले गत आर्थिक वर्षमा ९७.०६ प्रतिशत वित्तिय प्रगति हासिल गरी द्वितीय भएकाे हाे ।
प्रथम र द्वितीय हुने वडालाई सम्मान पत्र तथा क्रमशः नगद २० लाख र १५ लाखबाट प्रतिनिधि सभाका सांसद महेश कुमार बर्ताैला तथा प्रदेश सभाका सांसद इन्द्र बहादुर बानियाले सम्मानित गरेका हुन् ।

