मकवानपुर । १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिवार बिदाइ गरिएको छ ।
काठमाडौंमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसियल टोलीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिदाई गरेका हुन् ।
काठमाडौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडडी, तेक्वान्दो, कराते, उसुका प्रशिक्षक, म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाइ गरिएको हो ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका उनिहरुलाई सफलताको शुभकामना सहित बिदाई गरिएको छ ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लालाई बढी पदक ल्याउने गरि खेल्न तथा जिल्लाको नाम राख्ने गरि मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गर्दै सफलताको शुभकामना दिईन् । उपप्रमुख बानियाँले जिल्लाको नामलाई अव्बल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए ।
प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गतवर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । दोस्रो संस्करणको जिल्लास्तरीय अन्तरपालिका फुटबल अन्तरगत शनिबार हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० गोलअन्तरले हराउँदै हेटौंडाले उपाधी जितेको हो ।
हेटौंडाको जितमा विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले १/१ गोल गरे । जितसँगै हेटौंडा उपमहानगरपालिका टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गढी गाउँपालिका टिमले १ लाख रुपैयाँमा चित्त बुझाएका छन् ।
शनिबार भएको फाइनल खेलको म्यान अफ द म्याच तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बिधागत उत्कृष्टमा गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत उत्कृष्ट सबै हेटौंडा उपमहानगरका घोषित भएका छन् ।
हेटौंडाले भीमफेदी गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । गढीले बागमती गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । हेटौंडा साविक उपविजेता समेत हो ।
मकवानपुर । मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले एकै थलोमा विभिन्न विधाका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संगमले आगामी बैशाख महिनामा दुई दिनसम्म साहित्य महोत्सव गर्ने र सोही महोत्सवमा ११ जना अग्रज युवा र अनुज साहित्यकारहरुलाई नगद सहिद सम्मान गर्न लागेको शनिबार पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।
संगम अध्यक्ष अनिता न्यौपानेका अनुसार २५ हजार राशि सहितको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान २०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । साहित्य सङ्गम मकवानपुर संस्थापक साहित्यकार केशव श्रेष्ठ ‘ज्योती’ ले संगमको नाममा पुरस्कार स्थापना गरेका थिए । २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुमध्येबाट उनलाई पुरस्कृत गर्न लागिएको हो ।
संगमले डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ । २२ हजार २ सय २२ रुपैया राशीका यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । याे पुरस्कार साहित्यकार जेनन नेपाल र समिला दुलालले हजुरआमा हजुरबुवाको स्मृतिमा स्थापना गरेका हुन् । यस्तै भैरव अर्याल स्मृति सम्मान २०७९ मकवानपुरमा रहेर लामो समय साहित्य लेखन, पत्रकारिता, व्याङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय शाहलाई प्रदान गरिने भएको छ । हास्यव्यगयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले व्यङ्ग्य क्षेत्रमा प्रदान गर्दै आएको यो पुरस्कार २१ हजार १११ रुपैया राशी रहेको छ ।
यसैगरी संगमले मकवानपुरमा रही साहित्यमा निरन्तर क्रियाशील सर्जकलाई प्रदान गर्दै आइरहेको मकवानपुर साहित्य श्री सम्मान साहित्यकार गीतकार शम्भु बास्कोटालाई प्रदान गरिनेछ । भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कार साहित्यकार विशाल अधिकारी आशुतोषले पिताको सम्झनामा स्थापना गरेका हुन् । यि दुबै पुरस्कारको राशी १५ हजार ५ सय ५५ रहेको छ ।
संगमले सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान २०७९ पुरस्कार साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गर्ने लागिएको अध्यक्ष अनिता न्यौपानेले बताइन् । यो पुरस्कार दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेका हुन् । यसैगरी शिक्षासेवी देवप्रसाद श्रेष्ठको आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान २०७९ बाट यो वर्ष मकवानपुरमा जन्मेर काठमाडौ रहेर साहित्यमा सक्रिय स्रष्टा बिना थिङलाई प्रदान गरिने भएको छ।
साहित्यकारद्वय ऋषि केबी र पुण्यशिला श्रेष्ठले मातापिता सासुससुराको नाममा स्थापना गरेको रामहरि देवु युवा सम्मान २०७९ बाट युवा साहित्यकार छवि अनित्यको लागि प्रदान गर्ने निर्णय भएको अध्यक्ष न्यौपानेले बताइन् । यसैगरी अग्रज साहित्यसेवी मुक्तिगाविन्द बैद्य र उनकी पत्नी तारादेवी वैद्यद्धारा स्थापित मुक्ति तारा सम्मान २०७९ बाट सुत्र कथाकार श्यामकृष्ण ज्ञवलीलाई प्रदान गरिने निर्णय भएको संगमका अध्यक्ष डीबि बर्तौलाले बताए । यि सबै पुरस्कारको राशि १० हजार रहेको छ ।
यसैगरी मकवानपुरका हास्यब्ययका आर सी रिजालले आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यस वर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको हो । पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्राहरु बिच यसवर्ष चित्रकला प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको सचिव बर्तौलाले बताए ।
यस्तै शिक्षासेवी डेण्डीजंग शाहद्धारा स्थापित शेषजंग स्मृति कथा पुरस्कार यस वर्ष बाल जागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गर्न लागिएको छ । यो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु विच कथा प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको हो।
यसैविच साहित्य संगम मकवानपुरले हेटौडा उपमहानगरपालिका कार्यालयसँगको सहयोगमा हेटौडा साहित्य महोत्सव २०८० आयोजना गर्ने भएको छ । सोही दिनमा सम्मानहरु समर्पण गरिने बर्ताैलाले बताए । आगामी बैशाख ८ गतेबाट दुई दिन सञ्चालन हुने महोत्सवमा साहित्यका विविध विधामा साहित्यिक बहस, हेटौंडा विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रदशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहने छन्।
महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानसंग सहकार्य तयारी भएको संगम अध्यक्ष न्यौपानेले बताइन् । २०४४ सालमा स्थापना भएको संगमले आफ्नो जग्गा, भवनमा रहेर साहित्यको विविध क्षेत्रमा कार्य गरिरहेको छ । हेटौडा उपमहानगरपालिकासंगको साझेदारीमा २०५९ सालदेखि पुष्पलाल स्मृति पुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ ।
आज हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।
उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भइ नगद १० हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको थियो । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिडेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको रुपमा मनाङका दिप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाएका छन् । माघ २८ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको आखा शिविरमा ५१ जनाको शल्यक्रिया गरिएको छ । बकैया जेसिसको आयोजनामा बकैया ४ गरगरे स्थित बकैया आधारभूत अस्पतालमा तीन दिनेसम्म संचालन भएको निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरमा ५ सय ५६ जनाको आँखा परीक्षण गरिएको छ ।
बकैया जेसीजले बकैया गाउँपालिको आर्थिक सहयोग, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।
बकैया गाउँपालिकामा भएको शिविरबाट गाउँपालिकाका १२ वटै वडा तथा छिमेकी बागमती गाउँपालिकाका आँखामा समस्या भएकाहरुलाई समेत लाभ पुगेको जेसीजका कोषाध्यक्ष विवेक बोलखेले बताए ।
जेसिसका कार्यकारी उपाध्यक्ष सुशील घिमिरेको संयोजनमा भएको समापन कार्यक्रममा बकैया जेसिज वर्ष २०२३ का अध्यक्ष अमोद बस्नेतले आगामी दिनमा पनि बकैया जेसीजले सामजिक क्रियाकलापलाई निरन्तरता दिने बताए ।
शिविर समापनमा बकैया गाउँपाकिला उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नंबर ४ का वडाध्यक्ष राजन दंगाल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकी डाक्टर पुनम श्रेष्ठ, हेटौँडा जेसिजका पब्लीक रिलेशन अफिसर संग्राम बल लामा, बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुँयाल लगाएतको उपस्थिति थियो ।