गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद उत्पन्न भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि पनि प्रश्न उठेको थियो ।
मकवानपुर । क्याम्पसमा हुने बेथिति, विसंगति तथा अराजकताका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको ध्यानाकर्षण भएको जनाएको छ ।
सधैं विद्यार्थीको आवाज उठाउँदै आएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधार र क्याम्पसको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै हेटौंडा क्याम्पस स्ववियु इकाइ समितिका कार्यवाहक सभापति भरत मोहन देवकोटाको नेतृत्वमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष आनन्दराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
विद्यार्थीहरूको साझा प्रतिनिधि संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा देखिएका विभिन्न समस्या समाधानका लागि उक्त ध्यानाकर्षण पत्र पेश गरेको जनाएको छ।
स्ववियुले विद्यार्थीहरूको गुनासो र समस्यालाई मध्यनजर गर्दै आठ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै कक्षा नियमित सञ्चालन गर्नुपर्ने, स्नातक तथा स्नातकोत्तर तहमा छुटेका छात्रवृत्तिको लागि तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने, आन्तरिक परीक्षाको नतिजा समयमै सार्वजनिक गर्नुपर्नेलगायतका माग रहेका छन्।
यसैगरी, क्याम्पस प्रशासन, परीक्षा र लेखा शाखालाई पूर्ण रूपमा सञ्चालन गरी विद्यार्थीमैत्री र पारदर्शी सेवा सुनिश्चित गर्नुपर्ने, शौचालय मर्मत, ई–लाइब्रेरी व्यवस्थित सञ्चालन, कक्षाहरूलाई प्रविधिमैत्री बनाउने तथा चमेना गृहलाई स्वच्छ र व्यवस्थित बनाउने जस्ता माग समावेश गरिएको छ।
स्ववियुले प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र समाधान गरिने विश्वास व्यक्त गरेको छ। उक्त पत्रको बोधार्थ क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिलाई समेत पठाइएको संगठनले जनाइएको छ।
मकवानपुर । मन्त्रिपरिषद्को मंगलबार बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले विश्व बैंककाे ८५ मिलिनियम अमेरिकी डलर बराबरकाे हुलियतपूर्ण ऋण स्वीकार गर्ने देखि पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने समेतकाे निर्णय गरेकाे छ ।
मंगलबारकाे मन्त्रिपरिषद् बैठकले गरेकाे अन्य निर्णयहरुः
- अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने
- पूर्वाधार विकासतर्फ नागढुंगा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती-धुन्चे-स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान
- काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रुख काट्न अनुमति दिने
- ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थान्तरण गरी उक्त भवनमा जल तथा ऊर्जा आयोगको सचिवालय सार्ने
- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितकाे नियुक्ति
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा स्वीकृत
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन २४ गते मङ्गलबार आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते मङ्गलवार दिउँसो ४ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरिएको हो । उक्त निर्णय अनुसार प्रदेश प्रमुखले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नेछन् । पछिल्लो पटक गत साउन २७ मा प्रदेश सभाकाे बैठक बसेकाे थियाे । त्यस यता बैठक बस्न सकेको छैन । भदौ २३/२४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदेशसभा सचिवालय, प्रदेशसभा हल सहितका संरचना जलेपछि संसद् बैठक बस्न नसकेको हो ।
प्रदेशसभा बैठक बस्न नसकेपछि मंसिर ३ मा प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको थियो । प्रवक्ता तामाङका अनुसार हाल अस्थायी रूपमा सभा सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभा हललाई मर्मत गरेर तयार गरिएको छ ।
अन्य निर्णय के के भए (भिडयो)
मकवानपुर । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।
- को हुन् बादल ?
वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०७८ सालमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाइ नेतृत्वको सरकार बनाएको बेला पार्टीको तर्फबाट संसद्मा प्रभावकारी भूमिका निर्वाचन गर्नुपर्ने चुनौती बादललाई रहेको छ ।