मकवानपुर । बागमती प्रदेशमा दलहरु बिच भागवण्डा मिलाउन संसदीय समिति थप गरिएकाे छ । सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिकाे सभापति चयनमा सकस रहेकाे बेला पाँच वटा समिति रहेकाे प्रदेश सभामा १ थप गरी छ वटा बनाइएकाे हाे ।
सत्तारुढ दललाई भागवण्डा मिलाउन मन्त्रालय थप गरिएकाे ४८ घण्टा नवित्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षि तथा अन्य दलहरुलाई भागवण्डा मिलाउन संसदीय समितिसमेत थप गरिएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दललाई संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो । बागमती प्रदेश सभामा पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको हाे । विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।
प्रदेशसभा अन्तर्गतका पाँच वटा समितिको निर्वाचन शनिबारकाे लागि तय गर्दै बिहीबार मतदाताकाे नामावली समेत प्रकाशन गरेकाे थियाे । निर्वाचन तालिका प्रकाशन भएकाे १ दिन पछि संसदीय समितिकाे संख्या बढाउने सहमति भएकाे हाे ।संसदीय समिति थप भएसँगै नेपाली कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ अन्य चार दलले एक/एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको बताइएकाे छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक/एक वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।
जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ । यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।
प्रदेशसभा अन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएकाे थियाे ।
सभापति चयनका लागि प्रदेशसभाले सार्वजनिक मतदाता नामावली अनुसार प्रदेश समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे थियाे । यस्तै, समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका सार्वजनिक गरिएकाे थियाे ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाको १२ औं अधिवेशन तयारीलाई तीव्रता दिइएकाे छ । जेठ १८ र १९ गते हुने अधिवेशन तयारीकाे लागि बिहीबार पार्टी केन्द्रीय नेताहरू समेतकाे उपस्थितिमा बसेको बैठकले प्रतिनिधि चयनको मापदण्ड निर्धारण गरेको छ।
बैठकले जिल्ला अधिवेशनमा अन्य समुदायबाट २० जना बराबर १ जना, महिलाबाट १५ जना बराबर १ जना र पेशागत, मजदुर र दलित समुदायबाट १० जना बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी जनसंगठनहरूबाट पनि प्रतिनिधिहरू चयन गरिने छन्। प्रतिनिधि चयन गर्दा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी बैठकले महासंघहरु र अनेरास्ववीयु, युवासंघ नेपाल, अनेमसंघवाट २ जना र अन्य जन संगठनवाट एक/एक प्रतिनिधीहरु चयन गरिने व्यवस्था गरेकाे छ । प्रतिनिधी चयन गर्दा ३३ प्रतिशत महिला र १५ प्रथितशत युवा अनियार्य चयन गर्नुपर्ने व्यवस्था समेत भएकाे बताइएकाे छ ।
जिल्लाका १० स्थानीय तहका १०२ वटै वडामा जेठ ७ गते र जनसंगठनकाे जेठ ८ गतेका दिन प्रतिनिधि चयन गरिने भएको छ। त्यसैगरी, जेठ १७ गते जिल्लाभर मोटरसाइकल र्याली गरिने छ भने सबै वडा कमिटी, जनवर्गीय कमिटी र तहगत कमिटीले अधिवेशनको ब्यानर राख्नुपर्नेछ समेत निर्णय गरिएकाे छ। पार्टीका संगठित सदस्यहरूलाई फेसबुकमार्फत् अधिवेशनको प्रचार-प्रसार गर्न निर्देशन समेत दिइएको छ।
प्रतिनिधी चयनका लागि हेटौडा उपमहानगरपालिकामा रघुनाथ खुलाल, बागमती गाउँपालिकामा छिरिङ्ग दोर्जे पाख्रीन, बकैया गाउँपालिकामा अणराज जर्घा मगर, मकवानपुरगढी गाउँपालिकामा निर्मला लम्साल, भिमफेदी गाउँपालिकामा भगवती पुडासैनी, ईन्द्रसरोबर गाउँपालिकामा बरिना बल संयाेजक ताेकिएकाे प्रचार प्रसार संयाेजक ध्रुबप्रसाद चौलागाईंले जानकारी दिए । यसैगरी थाहा नगरपालिकामा नारायण रिजाल, कैलाश गाउँपालिकामा बलराम बल, राक्सिराङ्ग गाउँपालिकामा ईन्द्रमान स्याङ्गतान, मनहरी गाउँपालिकामामा एकराज उप्रेती, मजदुर अर्जुन अर्याल, पेशागतमा पदमा पौडेललाई संयोजक तोकिएको चौलागाईले बताए ।
एमाले पोलिटव्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देवी ज्ञावलीको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएकाे बैठकमा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केदार न्यौपाने, प्रदेश सदस्यहरु समेतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर — बागमती प्रदेश सरकारले फेरी मन्त्रालय फुटाएकाे छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर मन्त्रीकाे भागबण्डा मिलाएकाे हाे ।
बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् । अब प्रदेशमा मन्त्रालयको संख्या १३ पुगेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबार २ वटा बैठक बसेको छ । प्रदेश सभाको पहिलो बैठकमा विशेष समय निर्धारण गरिएकाे थियाे । विशेष समयमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका ३१ जना सदस्यहरुले भाग लिदै आफ्ना धारणा, समस्या र सुझाव समेत दिए ।
विशेष समयमा बाेल्ने सदस्यहरुले विभिन्न जिल्लामा भइरहेको वन डढेलोलाई दिर्घकालिन रुपमै नियन्त्रण गर्ने प्रयासको लागि प्रदेश सरकारले गुरु योजना तर्जुमा गर्नु पर्ने बताए । गुरु याेजना नबनेसम्म डढेलाेबाट हुने धनजनको क्षति कम गर्न बैकल्पिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न सल्लाह समेत दिएका थिए । उनीहरुले डढेलाका कारण मृत्यु र घाइते भएकाका परिवारलाई सरकारले उचित आर्थिक सहयोग गरिनु पर्ने बताए ।
बैठकमा प्रतिपक्ष दलका प्रदेश सभाका सदस्यले हेटौंडा अस्पताललाई राजनीतिक दलगत स्वार्थको लागि प्रयोग गरिने उद्देश्यले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारको निर्णय फिर्ता लिन्पर्ने माग गरेका थिए । उनीहरुले जिल्लामा अत्यन्तै गरिबी रेखा मुनी रहेका सर्वसाधारण नागरिकहरुलाई उपचार लिने क्रममा ज्यादै महँगो आर्थिक भार पर्ने भएकोले सो निर्णयलाई प्रदेश सरकारले खारेज गरी साबिक बमोजिमकै संघीय सरकारको मातहतमा रहने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रदेशको विभिन्न जिल्लाहरुमा खानेपानीको व्यवस्था गर्न, सिँचाई, सडक निर्माण, ग्रामीण बस्तिमा विद्युत विस्तार गर्ने कार्यलाई प्रदेश सरकारले आगामी बजेटमा समावेश गराउन सरकारकाे ध्यानाकर्षण समेत गराएका थिए ।
यसैगरी, प्रदेशमा कर तथा राजस्व अभिवृद्धि गर्ने क्रमलाई प्रदेश सरकारले सम्बन्धित अर्थ विज्ञ र सरोकारवालाहरुसँग राखेर छलफल गरी राजस्व असुली निर्धारण गर्न वैज्ञानिक प्रकृया अपनाउन आग्रह गरेका थिए । तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाकाे रुपमा प्रदेशमा प्रयोगमा ल्याइएको भएपनि सदस्यहरुले सभामा तामाङ र नेवारी भाषामा बाेल्दा अनुवाद गराउने व्यवस्था गर्न प्रदेश सभा सचिवालयले तत्परता देखाउनुपर्ने बताएका थिए ।
बुधबार बसेकाे प्रदेश सभाको दोस्रो बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत गरेको छ । उक्त अध्यादेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस् भनि प्रस्ताव पेश गरेकी थिइन् । यस्तै, सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश लोक सेवा आयोगको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
बागमती प्रदेश सभाको बैठक यही जेठ ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने जानकारी बुधबारकाे बैठक स्थगित गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्रालयकाे आर्थिक सल्लाहकारमा डा. कपिलदेव सुवेदी नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आर्थिक सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन्।
मन्त्रालयले सुवेदीलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री थपलियाले बताए। अहिले बजेट निर्माणको समय भएकाले मन्त्रालयले सहयोगको अपेक्षा गरेको समेत मन्त्री थपलियाकाे भनाई थियाे । प्राध्यापन पेशामा संलग्न सुवेदी व्यवस्थापन क्षेत्रका समेत जानकार रहेकाे बताइएकाे छ । चितवन निवासी सुवेदीबाट प्रदेशलाई अग्रगामी बनाउन कर्मचारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री थपलियाले अपेक्षा गरे ।
सल्लाहकारको नियुक्ति भएपछि सुवेदीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । अवसर पाउँदा खुसी हुनु स्वाभाविक रहेकाे बताउँदै उनले प्राप्त जिम्मेवारीलाई प्रदेशमा आफ्नाे क्षेत्र अनुसारकाे अनुभवलाई इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा प्रयाेग गर्ने बताए । जनताको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने उनकाे भनाई थियाे । मन्त्रालयगत कार्यप्रगतिका लागि हातेमालो गर्ने र सकेसम्म समय दिने उनले प्रतिबद्धता व्यक्त गरे ।