मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थिति उनले सपथ लिएका हुन् । २ भदौमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
२५ वर्षदेखी कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहेका दोलखा तामाकोशी गाउँपालिका–३ का स्थायी बासिन्दा काफ्लेलाई मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपाल बार एसोसिएसनको सदस्य काफ्ले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार रहेका थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्रीहरुसँग सम्पादन करार सम्झौता गरेका छन् । बुधबार मुख्यमन्त्री लामाले ११ जना विभागीय मन्त्रीसँग कार्य सम्पादन करार गरेका हुन् ।
मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, स्वास्थ्य मन्त्री किरण थापा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, र वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालबिच कार्यसम्पादन सम्झौता गरेका हुन् ।
हेटौडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मन्त्रीहरूसँग सम्पादन गर्ने कार्यहरू र जिम्मेवारी सम्बन्धी करार सम्झौता गरेका हुन् । कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालु आवमा गर्नुपर्ने कामहरू,कार्ययोजना,समयसीमा,प्रक्रिया तथा कानूनी विषयहरू लगायत उल्लेख गरिएको छ ।
प्रदेशमा मुख्यमन्त्रीसहित १४ मन्त्रीमध्ये रहेका छन् । कार्यसम्पादन सम्झौता हुँदा एक जना मन्त्री अनुपस्थित रहे भने अर्का मन्त्रीले विभागीय जिम्मेवारी नपाएकाले करार सम्झौता हुन नसकेकाे प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले बताए । युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठसँग सम्झौता हुन बाँकी रहेको छ ।
प्रमुख सचिव कार्कीका अनुसार मुख्यमन्त्री र मन्त्रीबिचको कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम र योजनाको प्रगतिको अनुगमन गर्न सहज हुनेछ । कार्यसम्पादन सम्झौतापछि प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताइएकाे छ ।
मुख्यमन्त्री लामाले प्रमुख सचिव कार्कीसँग समेत कार्य सम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा मन्त्रीहरूले विभागीय मन्त्रालयका सचिवसँग तथा सचिवले मातहतका महाशाखा प्रमुखसँग करार सम्झौता गर्नुपर्ने हुन्छ ।
मकवानपुर । नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् । नेकपा एमाले निकट व्यवसायी संगठन उद्योग परिषदकाे मंगलबार हेटौडामा भएकाे पहिलो अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्षसमेत रहेका भण्डारीको अध्यक्षता ९ सदस्यीय जिल्ला समिति चयन भएको छ । समिति उपाध्यक्षमा सजित कार्की, सचिवमा चेत बहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा धुर्व सिंह पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिलवाल चयन भए । गठित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश सदस्यहरु रघु खुलाल, एकालाल श्रेष्ठ र जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा र सचिव सीता विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।
दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाकाे सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए ।
२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अरु प्रदेशले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने उद्घोष गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिको सम्मान कार्यक्रममा मन्त्री काफ्लेले यस्ताे बताएका हुन् । प्रदेशको हकमा संविधानभित्र रहेको मौलिक हक र अधिकार प्राप्तिको विषयमा केही कानूनी अड्चन भएतापनि बागमती प्रदेशले शिक्षा, स्वास्थ, रोजगार, खाद्य र समाज विकासको विषयमा दृष्टिकोण बनाएको मन्त्री काफ्ले बताए ।
‘विगतमा समाज परिवर्तनको आन्दोलनहरुमा पशुपति क्याम्पसका विद्यार्थीहरुको अहम भूमिका रहेको थियो ‘ उनले भने ‘ आफूपनि विद्यार्थी राजनितीबाट आज यहाँसम्म पुगेको छु, म आज जुन स्थानमा भएतापनि मेरो धरातल भनेको नेपाल विद्यार्थी संघ हाे ।’
नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसका इकाई अध्यक्ष सरोज लिम्बुको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा क्याम्पस प्रमुख बिनोद पन्त, नेविसंघका पूर्व नेता र क्याम्पसका विद्यार्थीहरुलगायतको उपस्तिथि रहेको थियो ।