मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्रीहरुसँग सम्पादन करार सम्झौता गरेका छन् । बुधबार मुख्यमन्त्री लामाले ११ जना विभागीय मन्त्रीसँग कार्य सम्पादन करार गरेका हुन् ।
मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, स्वास्थ्य मन्त्री किरण थापा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, र वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालबिच कार्यसम्पादन सम्झौता गरेका हुन् ।
हेटौडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मन्त्रीहरूसँग सम्पादन गर्ने कार्यहरू र जिम्मेवारी सम्बन्धी करार सम्झौता गरेका हुन् । कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालु आवमा गर्नुपर्ने कामहरू,कार्ययोजना,समयसीमा,प्रक्रिया तथा कानूनी विषयहरू लगायत उल्लेख गरिएको छ ।
प्रदेशमा मुख्यमन्त्रीसहित १४ मन्त्रीमध्ये रहेका छन् । कार्यसम्पादन सम्झौता हुँदा एक जना मन्त्री अनुपस्थित रहे भने अर्का मन्त्रीले विभागीय जिम्मेवारी नपाएकाले करार सम्झौता हुन नसकेकाे प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले बताए । युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठसँग सम्झौता हुन बाँकी रहेको छ ।
प्रमुख सचिव कार्कीका अनुसार मुख्यमन्त्री र मन्त्रीबिचको कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम र योजनाको प्रगतिको अनुगमन गर्न सहज हुनेछ । कार्यसम्पादन सम्झौतापछि प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताइएकाे छ ।
मुख्यमन्त्री लामाले प्रमुख सचिव कार्कीसँग समेत कार्य सम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा मन्त्रीहरूले विभागीय मन्त्रालयका सचिवसँग तथा सचिवले मातहतका महाशाखा प्रमुखसँग करार सम्झौता गर्नुपर्ने हुन्छ ।

