मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवा आन्दोलन मार्फत नेपालको राजनीतिलाई परिवर्तन गर्दै अहिलेकाे अवस्थासम्म ल्याउन अग्रणी भूमिका खेलेको संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाे बताएका छन् ।
युवा संघ नेपाल जिल्ला समिति मकवानपुरकाे १० औ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘मकवानपुरकाे अधिवेशनले जिल्लालाई नेकपा एमालेको लाल किल्ला बनाएर अगाडी बढ्न अहम् भूमिका खेल्नेछ।’ संस्थापक अध्यक्ष केपी शर्मा औली नेपालीको आशा र भरोसाको केन्द्र बिन्दु हुनुमा संघकाे नेतृत्व गर्दाकाे भूमिकाले भएकाे उनले बताए ।
‘एमालेकाे मिसन ८४ मा सफल हुन युवाहरुको नेतृत्वलाई प्राथमिकतामा राखिन पर्छ‘ थेवेले भने ‘हामीले पनि एक मन र एक मत बनाउदै एकता कायम गर्नु पर्छ ।’ युवाहरू बिदेशिनुमा राजनीति गर्नेहरु दाेषी देख्नेलाई लक्षित गर्दै उनले भने ‘१ करोड युवाहरु देशमै छन् ।’ जस्ले देशमा युवा छैनन् भन्छन् उनीहरुको सोच युवा मैत्री नभएकाे उनले बताए । ‘संगठनमा लागेपछि हामीले कति समय दिन सक्यौं भन्ने कुराले बढी महत्व राख्ने गर्छ’ उनले भने संगठकाे जोडिएर पदमा बस्दैमा साङ्गठनिक सदस्य भइदैन् ।’ हामीले लिएको संगठनको पद अनुसार समय दिन तयार रहनु पर्ने उनले बताए ।
उनले युवाहरुको अबकाे अभियान संविधान अनुसार देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने हुनु पर्ने बताए । युवाकाे अभियानले आगामी दिनमा नेकपा एमालेलाई एकल बहुमतको पार्टी बनाउँछ भन्ने आशा बोकेको उनले बताए । । ‘युवाहरुलाई रोजगार, उद्यमशिलता, खेलकुद, मनोरञ्जन लगायत क्षेत्रमा जोड्न सके मात्र संगठन प्रती प्रतिवद्ध हुनेछन्’ उनले भने । ‘नयाँ नेपाल बनाउने, देशलाई समृद्ध बनाउने काम बिदेशीले गर्दैनन् राष्ट्रिय युवा संघ नेपालले गर्नेछ’ उनले भने ।
नेपालको राजनीति लाई स्थिरता दिनु नेकपा एमालेको प्रमुख उद्देश्य रहेकाेले पटकपटक को सरकार परिवर्तनले नेपाली जनता दुखी भएका बताउँदै थेबेले भने दिगो सरकार निर्माणको लागि संसदको ठुलो दलहरू मिलेर हालको सरकार निर्माण गरिएको हो ।’
शुक्रबार हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला समिति मकवानपुरकाे १० औ जिल्ला अधिवेशन सुरु भएकाे हाे । अधिवेशन दुई दिनसम्म चल्ने बताइएकाे छ । अधिवेशनमा जिल्लाका २५० प्रतिनिधिले भाग लिएकाे आयोजक कमिटीले जनाएकाे छ । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ ।
हालका जिल्ला संयोजक नगरकाेटी अध्यक्षकाे आकांशी रहेका छन् । युवा संघ मकवानपुरकाे नेतृत्व लिन आफू तयार रहेको नगरकोटीले बताउँछन् । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए ।
केन्द्रीय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा स्वागत गरेपछि सुरु भएकाे झाँकीसहितको मोटरसाइकल र्याली बजार प्रवेश गराउदै कार्यक्रम स्थल पुगेकाे थियाे । र्यालीकाे व्यवस्थापन हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गरेकाे थियाे । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेकाे थियाे ।
अधिवेशन जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षता एवम् राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतित्थतामा भएकाे अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणी पौडेल, संघीय संसद सत्ता पक्ष मुख्य सचेतक महेश बर्तौला, युवा संघ केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय महासचिव सुमन पुरी , एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल लगायतकाकाे उपस्थिति थियाे ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औ जिल्ला अधिवेशन भोलि २८ भदौबाट सुरु हुदैछ । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नेछन् ।
हेटौडा १३ पदमपोखरीमा हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । अधिवेशनमा जिल्ला भरबाट २५० प्रतिनिधिले भाग लिने आयोजक कमिटी संयोजक राजेश नगरकोटीले बताए । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अबको संगठनको नेतृत्व गर्नको लागि आफू तयार रहेको अध्यक्षका आकांक्षी समेत रहेका आयोजक कमिटी संयोजक नगरकोटीले बताए । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए । जिल्लाको विभिन्न स्थानीय तहबाट प्रतिनिधिको रुपमा आएकाहरूलाई सहजताको लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निशुल्क बस सेवा उपलब्ध गराएको नगरकोटीले बताए ।
केन्द्रिय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा पहिलो स्वागत गर्नेछ । त्यसपछि झाँकीसहितको मोटरसाइकल र्यालीले बजार प्रवेश गराउदै कार्यक्रम स्थल लगिने तयारी भएको छ । “यसको लागि हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गर्नेछ” नगरकोटीले भने । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएकोछ ।
पत्रकार भेटमा पार्टी प्रचार बिभाग प्रमुख उज्वल चौलागाईं, पार्टी उपसचिव आरति पाठक, प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए । आयोगमा अझे २ सदस्य रिक्त रहेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता लामिछानले समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेसले मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गर्ने भएको छ । उक्त समिक्षा कार्यक्रमलाई सम्बाेधन गर्न ३० भदाैमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने कांग्रेस मकवानपुरले बुधबार पत्रकार भेटघाटमार्फत् जानकारी गराएको हो । ‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापश्चात् जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको छ ।
कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण निर्वाचन समीक्षामा समेत ढिलाई भएकाे हाे । विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरकाे हेटौंडाबाट ३० भदौमा सुरु गर्न लागेको पत्रकार भेटघाटमा बताइएकाे हो । हेटौंडामा हुने उक्त कार्यक्रमको तयारी सुरु भएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।
कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई सहभागिताको लागि निमन्त्रणा गरिएकाे छ ।कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं’ सभापति लामाले भने । भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेका हुन् ।
अस्पतालबाट माग भए बमोजिम स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ती व्यबस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर, डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औसधिहरु अस्पतालका प्रमुख डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो ।
मन्त्री थापाले सबै जनताको पहुँच स्वास्थ्यमा हुनुपर्ने बताए । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उनले आग्रह गरे । ‘बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नु पर्छ‘ उनले भने ।
कार्यक्रममा आपूर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाललगायत सहभागी थिए ।