मकवानपुर । नेकपा (एमाले) ले ३ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीले जनाएकाे छ ।
नेता भीम रावलसहितका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।
उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विपरित अभिव्यक्ति दिएको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन्।
बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयकाे अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री तामाङ्ले कार्यालयका समस्याकाे जानकारी लिइन् । साथै उनले कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।उनले सेवा प्रणालीलाई जनतामा सहज रूपमा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन पनि दिइन्।
२०३२ सालमा नेपालमा पहिलो पटक नयाँ प्रविधि (ट्रिगोनोमेट्रिकल पोइन्ट) द्वारा नापी सुरु भएको ऐतिहासिक जिल्ला मकवानपुरमा ‘सर्भे पार्क’ तयार गर्न मन्त्रालयबाट बजेट बिनियोजन गरिएको छ। अनुगमनको क्रममा नापी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रकाश घिमिरे र नापी अधिकारी रामसोगारथ महतो लगायतका कर्मचारीहरु उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । स्थानीय तह उपनिर्वाचनमा दलहरुले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएकाे छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हाे ।
‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएकाे छ ।
यसैगरी निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण समेत माग गरेकाे छ ।
स्थानीय तह उपनिर्वाचनकाे लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको हाे ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। आयोगले उक्त विवरण ५ कार्तिक भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिनेछ आयोगले जनाएकाे छ ।
यस्तै आयोगले स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान समेत तोकेको छ ।
आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हाे।
आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।
त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ आयोगले जनाएकाे छ ।
मकवानपुर । १६ मंसिर २०८१ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २५ दल उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएकाे निर्वाचन आयोगले जनाएकाे छ । संसदको चौथो ठुलो दल रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेका थियाे । आयोगकाे सूचना अनुसार २६ राजनीतिक दलले निवेदन दिएकाेमा कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई दर्ता गरिएकाे आयोगले जनाएकाे छ । राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार २५ वटा दल स्थानीय तह उपनिर्वाचनकाे लागि दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार २ मंसिर २०८१ मा बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि ३ मंसिर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने गरी तालिका सार्वजनिक भइ समेकाे छ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष नौ, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्षका २१ पद रिक्त छन्। नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।

मकवानपुर । बागमती प्रदेश सभाको चौधौं अधिवेशन बुधबार रातीबाट अन्त्य हुने भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार राती ११ः५९ बजेदेखि प्रदेश सभाको चालु चौधौं अधिवेशन अन्त्य गरिएको जनाएकाे छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्काे मंगलबारको बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गत ३१ वैशाखबाट सुरु प्रदेशसभाको दोस्रो कार्यकालको अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।