मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला उपाध्यक्ष इन्दिरा डल्लाकोटीले पार्टी छाेडेकाे घोषणा गरेकी छिन् । उनले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेकी हुन् ।
सोमबार पत्रकार भेटघाट मार्फत हाम्रो घर बालगृहकी अध्यक्ष समेत रहेकी डल्लाकोटीले ३० वर्षदेखि सक्रिय पार्टी परित्यागको घोषणा गरेकी हुन् । सामाजिक सेवामा समर्पित हुने योजनाले राप्रपा त्याग गरेकी बताइन् । पार्टीमा समय दिंदा बालगृहकाे काममा समेत असर परेको कारण पनि पार्टी छोडेको उनलेे बताइन् ।
उनले सोमबारकै मितिमा राप्रपा पार्टी जिल्ला अध्यक्षलाई सम्बाेधन गरी राजिनामा दिएकाे बताइन् । राजिनामा पत्रमा उनले राप्रपाको उपाध्यक्ष पदमा रहि रहेको र विभिन्न कारणबाट मिति २०८१।११।१२ गतेको दिनबाट पार्टीको साधारण सदस्य समेत नरहेको व्यहोरा जानकारी गराउदै पार्टी जिल्ला अध्यक्ष समक्ष निवेदन पेश गरेकाे उल्लेख गरिएकाे छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनले प्रजातन्त्र दिवस मनाएकाे छ । सगठनले एक कार्यक्रम आयोजना गरी पुर्व राजा ज्ञानेन्द्र शाहले जनतामा सहयोगको आवहान गर्दै प्रजातन्त्रको शुभकामना सन्देश व्यक्त गरेको बिषयमा समर्थन र स्वागत गरेकाे छ ।
दिवसकाे अवसरमा संगठनले दिप प्रज्वलन गरेका थिए । कार्यक्रम वीर शहीदहरुकाे सपना अधुरो रहेको र गणतन्त्रात्मक व्यवस्थाले देश र जनता कङ्गाल बनाएको राप्रपा मकवानपुर सह- कोषाध्यक्ष सन्दिप कुमार सापकोटाले बताए । राप्रपा केन्द्रीय सदस्य राम बहादुर थोकरले राजाले ७५ ओै प्रजातन्त्रको उपलक्ष्यमा व्यक्त गरेकाे शुभकामनाको स्वागत गर्दै समर्थन गर्ने उद्घोष गरेका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन का अध्यक्ष किशोर खत्रीले राजाको सन्देश अनुसार मकवानपुरबाट अहिलेकाे भ्रष्ट व्यवस्था परिवर्तन खातिर तयार रहेकाे जानकारी दिए ।कार्यक्रममा उपस्थित राप्रपा नेता कार्यकर्ता तथा सर्वसाधारणले राजा ज्ञानेन्द्रको सन्देशलाई स्वागत गर्दै प्रजातन्त्रको महत्वलाई सम्झना गरी बिरगति प्राप्त शहिदहरुको स्मरण गरेकाे बताइएकाे छ । राष्ट्रिय गानको रूपमा श्रीमान गंभिर नेपाली.. गाइएकाे थियो ।
कार्यक्रममा सहभागीहरुले राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको कार्यक्रमकाे नेतृत्व गरेकाेमा धन्यवाद ज्ञापन गरेका थिए । जनताको उत्साह र सहभागिताले प्रजातन्त्र दिवसलाई स्मरणीय बनाएको संगठनकाे भनाई रहेकाे छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले विपद् प्रतिकार्य द्रुत टोली बनाउँने भएकाे छ । एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको हाे ।
मंगलबार एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग र वन तथा वातावरण विभागको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको छ । बैठकले ५० जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको विपद् व्यवस्थापन विभाग प्रमुख शिवहरि दाहालले जानकारी दिए ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना पनि बनाएको छ । विभाग प्रमुख दाहालका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम समेत गर्नेछ ।
‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो’ विभाग प्रमुख दाहालले भने, ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ।’
यसैगरी, पार्टीको वन तथा वातावरण विभागले डढेलो नियन्त्रण, अग्निरेखा निर्माण सम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा तालिम दिइने भएको छ । विभागले सामुदायिक वन, टोल विकास संस्था, विद्यालय, गैरसरकारी क्षेत्र, सरकारी निकाय र स्थानीयस्तरमा युवा क्लबहरुलाई सचेतनामूलक तालिम प्रदान गरिने विभाग प्रमुख पञ्चमाया स्याङ्तानले बताइन् ।
विपद् विभागका प्रमुख शिवहरि दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पार्टी जिल्ला सचिव सिता विष्ट, जनसंगठन समन्वय संयन्त्र जिल्ला सहसंयाेजक मिलन पाठक, पार्टी जिल्ला सदस्य आकाश अधिकारी, दिलमाया घर्तीलगायतको आतिथ्यता रहेकाे थियाे ।
झुरझरे, बागमती । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य नभएसम्म सामाजिक न्याय स्थापित गर्न नसकिने बताएका छन्। मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा शनिबार शहीद स्मृति रङ्गशालामा सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अहिले नागरिक जनस्तरमा भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशव्यापी जनचेतनाको लहर भित्रिएको उनले बताए । देशभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताउँदै उनले भने ‘हाम्रो अभियान सफल बन्दै गएको छ।’
सुशासन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफूहरुले अभियानको थालनी गरेकोमा सोही दिशामा मुलुक अघि बढेको उनले बताए । ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्नु पर्छ’ उनले भने । देशभरी नै नयाँ एकता निर्माणको अभियान सुरु भएको उनले बताए ।
बागमती गाउँपालिका कार्यकर्ता लक्षित गर्दै उनले देशव्यापी रुपमा पार्टीप्रति आकर्षण लहर सुरु भएको बताउँदै यसलाई संस्थागत तरिकाले लैजान आग्रह गरे । नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले भने ‘स्थानीय सरकारले यसमा ध्यान दिएकाे छ । खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिन्छ ।’
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन बागमती प्रदेशसभा सदस्यहरु प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायतको उपस्थितति रहेको थियो । बागमती गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ए डिभिजन क्लबका ७ र मोफसलका ३ टोलीले भाग लिएका छन् ।
बागमती गाउँपालिकाले वडा नम्बर ४ झुरझुरेमा ३ करोड ६० लाख ८८ हजारको लगानी गरी प्यारापिटसहित सुविधासम्पन्न रंगशाला निर्माण गरेकाे छ । सातौं संस्करणकाे बागमती गोल्डकप पालिकाकाे आफ्नै रंगशालामा आयोजना गरेकाे हाे ।