मकवानपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विजय गौतमले फ्याँकिएकाे राजतन्त्रको औचित्यहीन बहसमा अलमलिन नहुने बताएका छन् ।
माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी मकवानपुर जिल्ला इन्चार्ज समेत रहेका गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको बहस हुनुपर्ने बेला केहीथान राजावादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताए । ‘यस्ता बहसमा कोही पनि अलमल्लिन हुँदैन’ उनले भने ‘मुलुकको समस्या र आवश्यक्ता भन्दा बाहिरको बहस समयको बर्बादी मात्र हाे ।’
‘सतहमा देखापरेका भ्रष्ट्राचार, विकृती र विसंगति औंल्याएर एकथरीहरुले जसरी राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन् त्यो भन्दा कुरुप चित्र राजतन्त्रमा ब्यहोरेका छौं’ नेता गौतमले भने । अहिले मुलुकलाई अगाडी बढाउन सुशासन र सम्बृद्धिको आवश्यक बहस गर्नुपर्ने आवश्यक्ता रहेकाे उनले बताए । मुलुकमा आनन्दले डुल्न पाएका पुर्व राजाले अवान्छित हर्कत बढाए लाखौं युवा सडकमा आएर प्रतिवाद गर्ने र त्यतिबेला देश छोड्नु पर्ने अवस्था आउने उनले दावी समेत गरे ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अमर बहादुर बिकले हिजो जनयुद्धको अग्रमोर्चा सम्हालेको दलितहरुले बिभेदको प्रतिकको रुपमा रहेकाे राजतन्त्र फालेकाे बताए । उनकाे कुकृत्यको बारेमा नयाँ पुस्तालाई सुसूचित गराउँने दिन आए पूर्व राजाले अत्यन्त खराब परिस्थिति ब्यहोर्नुपर्ने चेतावनी समेत उनले दिए ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले हजारौंको बलिदानको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र केही राजा चाहने रैतीहरुको रहरमा फर्कन असम्भव रहेको बताउँदै अनावश्यक दुस्साहस नगर्न चेतावनी दिए ।
कार्यक्रममा सहभागीलाई नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव गणेश विकले बैचारिक प्रशिक्षण चलाउनु भएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक, जिल्ला अध्यक्ष जमिन दियाली लगायतले सम्बोधन गरेका थिए।
मकवानपुर । ५ चैतमा भएको स्ववियु निर्वाचन २०८१ अन्तर्गत मकवानपुरमा अनेरास्ववियुबाट विजयी पदाधिकारी र सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले सम्मान गरेकाे छ ।
एमाले मकवानपुरको जनसंगठन समन्वय संयन्त्रले अनेरास्ववियुबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस, वनविज्ञान संस्थानमा निर्वाचित स्ववियु सभापतिसहित पदाधिकारी र सदस्यलाई बिहीवार सम्मान गरेकाे हाे । जनसंगठन संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य केदारप्रसाद न्यौपाने, पार्टी केन्दीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका, माला लगाएर सम्मानसहित बधाई ज्ञापन गरेका छन् ।
पार्टी अनेरास्ववियुको स्ववियु निर्वाचन लक्षित विशेष योजनाले स्ववियु निर्वाचनमा सफलता हात परेको भन्दै विगतको जुर्मुराउँदो अनेरास्ववियु निर्माणमा लाग्न सबै नेताहरुले अनुरोध गरे । स्ववियुमा निर्वाचित भएकाहरुले विद्यार्थीको हकहितमा लाग्दै क्याम्पसमा अनेरास्ववियुको एकल वर्चश्व हुने गरि काम गरेर देखाउनुपर्ने पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जोड दिए । संयन्त्र प्रमुख पौडेलले विद्यार्थीहरुको लोकप्रिय मतबाट अनेरास्ववियु मकवानपुरको बलियो संगठनको रुपमा स्थापित हुँदै आएकोमा यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य अनन्त पौडेल, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलाल, प्रदेश कमिटी सदस्यहरु बद्री लम्साल, भगवति पुडासैनी, पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा, सचिव सिता विष्टले मन्तव्य राखे । यस्तै, कार्यक्रममा पार्टी जिल्ला सदस्य तथा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी, अनेरास्ववियु स्थायी कमिटी सदस्य किसन घिसिङ, अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भुवन मैनाली, अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलालगायतको अतिथ्यता रहेको थियो । मिलन पाठकले कार्यक्रमको सहजीकरण गरेका थिए ।
जिल्लाका ८ क्याम्पसमध्ये ४ वटामा अनेरास्ववियुले सभापतिमा जित हासिल गरेको थियाे । मकवानपुर, हेटौंडा र निर्मल बहुमुखी क्याम्पसमा निर्वाचनबाट र वंशगोपालमा सर्वसम्मतिले सभापति चयन भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पूर्वराजावादी समूहले विदेशी शक्तिको आडमा राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको लक्ष्यसहित सुनियोजित रूपमा प्रतिगामी गतिविधि गरिरहेको ब्रिफिङ गरेका छन् । ओलीको यस्तो ब्रिफिङलगत्तै सत्तारूढ दल एमालेले गणतन्त्र पक्षधर सबै शक्तिसँग मिलेर प्रतिगामी गतिविधिको प्रतिवाद गर्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आपसी टेलिफोन संवादलगत्तै केन्द्रीय सचिवालयको सोमबारको बैठकले संयुक्त प्रतिवाद गर्ने निर्णय लिएको हो । ओली, देउवा र प्रचण्डबिच आइतबार प्रतिगामी प्रयास र आगामी कदमबारे टेलिफोन संवाद भएको थियो ।
एमालेका एक पदाधिकारीका अनुसार बाह्य शक्ति खासगरी भारतीय जनता पार्टीका उच्च तहका कतिपय नेता र त्यस पार्टीसँग सम्बद्ध हिन्दुवादी संगठन आरएसएसको आड–भरोसामै पूर्वराजावादीहरू सक्रिय भएका छन् । उनीहरूले ठुलै अराजकता मच्चाएर राज्यसत्ता उलटपुलट गर्ने उद्देश्यले संगठित रूपमा प्रतिगमनको प्रयास गरेको भन्दै एमालेले संयुक्त प्रतिवादतिर जाने निर्णय गरेको ती पदाधिकारीले बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले राजावादीहरूको सक्रियताबारे गम्भीर रूपमा ब्रिफिङ गरेका छन् । ‘उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिरको खुलेआम प्रयोग, भारतीय नेताहरूको पछिल्ला अभिव्यक्ति, त्यहाँका सञ्चारमाध्यममा पूर्वराजावादीहरूको गतिविधिहरूलाई दिइएको स्थानलगायत सबै हेर्दा हाकाहाकी नै प्रतिगमनका लागि प्रयास भइरहेकोबारेमा प्रधानमन्त्रीले निकै गम्भीरतापूर्वक ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘उहाँको ब्रिफिङकै आधारमा संयुक्त प्रतिवाद गर्ने र पार्टीपंक्तिलाई पनि सजग र संगठित गर्दै एकैदिन सबै वडामा जुलुस र सभा गर्ने निर्णय गरिएको छ ।’
उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजावादीको योजनाबद्ध प्रयासले जनतामा भ्रम पैदा गर्ने भएकाले पनि चिर्नका लागि एकैदिन जनपरिचालनको निर्णय भएको बताए । उनका अनुसार प्रतिगामी प्रयासविरुद्ध टोलसम्म पार्टीपंक्ति उतार्ने मनस्थितिसहित ६ हजार ७४३ वटै वडामा एकैदिन जुलुस र आमसभा आयोजना गर्ने निर्णय भएको छ ।
ज्ञवालीका अनुसार डेढ महिनादेखि सञ्चालित पार्टीको जरा अभियानलाई प्रतिगामी षड्यन्त्रविरुद्धको अभियानमा रूपान्तरण गर्ने एमालेको तयारी छ । ‘सम्भवतः दुई–तीन दिनभित्रै अपानिमार्फत एकैदिन सबै वडामा संगठित जुलुस र सभाका लागि गरिएको निर्णय लागू गर्न निर्देशन जान्छ,’ ज्ञवालीले भने, ‘पूर्वराजावादीहरूको प्रयास व्यवस्था उल्ट्याउने तहसम्म त पुग्दैन । तैपनि आवश्यक पर्यो भने जुनसुकै वेला प्रतिवाद गर्ने मनस्थितिका लागि पार्टीपंक्ति तयारीमा राख्ने गरी अगाडि बढ्छौँ ।’
बैठकमा ओलीले प्रतिगामी शक्तिले हाकाहाकी अराजकता मच्चाएर राज्यसत्ता उल्ट्याउन खोजेको र राजावादी हौसिए पनि उनीहरूको उद्देश्य सफल हुन नदिइने बताएका थिए । ‘पूर्वराजावादीहरू हौसिएर हाकाहाकी अराजकता मच्चाएर राज्यसत्ता उल्ट्याउने प्रयासमा लागेका छन् । तर, हामी त्यस्ता योजना र षड्यन्त्र कुनै हालतमा सफल हुन दिनेछैनौँ,’ ओलीको भनाइ थियो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिगामी प्रयास सफल नहुने बताए । ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ,’ उनले भने ।
बैठकले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात् गर्न, निरंकुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गरेको छ ।
‘हामी २१औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौँ,’ बैठकपछि जारी विज्ञप्तिमा छ, ‘हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ ।’
एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको जनाएको छ ।
त्यसैबिच, एमालेले राष्ट्रिय सहमतिको सरकार बेमौसमी विषय भएको टिप्पणी गरेको छ । ‘यो एकदमै बेमौसमी विषय हो, यसमा हामी प्रवेश गरेनौँ,’ उपमहासचिव ज्ञवालीले भने, ‘यस्तो वेलामा पनि भागबन्डा खोज्ने भनेको हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’
नयाँ पत्रिकाबाट
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा सत्तापक्ष गठबन्धनलाई समर्थन गर्नेहरु बढीरहेका छन् ।
अखिल क्रान्तिकारीको प्यानलबाट सदस्यको उम्मेदवार बनेका बुद्ध बराम र रामकृष्ण घोरासैनीले अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार प्रसिद्ध रेग्मीलाई समर्थन गरेको २४ घण्टा नपुग्दै स्वतन्त्र उम्मेदवारले पनि उनलाई सघाउने भएका हुन् ।
स्ववियु निर्वाचनमा स्वतन्त्रकोबाट सभापतिका उम्मेदवार बनेका पुष्कर घिमिरेले रेग्मीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले आफ्नो सम्पूर्ण समर्थकलाई आफूले उम्मेदवारी फिर्ता लिएको र रेग्मीको पक्षमा मतदान गर्न समेत अपिल गरेका छन् । उनले विद्यार्थीको हितमा काम गर्न सक्ने सक्षम नेतृत्व रेग्मीकै नेतृत्वमा तयार हुने भन्दै सहयोग गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका हुन् ।
रेग्मी एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार हुन् । विद्यार्थीको निर्वाचन मंगलबार हुँदैछ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ समिति चयन भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन अन्तरगत संगठनबीचकाे सहमतीमा आइतबार दिवस सिलवालकाे नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समिति उपाध्यक्षमा सजना घिमिरे, सचिवमा सुवास राई, कोषाध्यषमा आशाराम गोले, सहसचिवमा आशिष भोलन निर्वाचित भए । यस्तै सदस्यमा आयुषा बुढाथोकी, निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना सर्वसम्मत चयन भएका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण कँडेलले सूचना जारी गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नयाँ समिति चयन गरेको जानकारी दिएका छन् । स्ववियु निर्वाचन कार्यक्रमअन्तर्गत वंशगोपाल बहुमुखी क्याम्पसमा ५ वटा संगठन दर्ता भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त वंशगोपालमा स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति सर्वसम्मत चयन भइसकेकाे छ ।