मकवानपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विजय गौतमले फ्याँकिएकाे राजतन्त्रको औचित्यहीन बहसमा अलमलिन नहुने बताएका छन् ।
माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी मकवानपुर जिल्ला इन्चार्ज समेत रहेका गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको बहस हुनुपर्ने बेला केहीथान राजावादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताए । ‘यस्ता बहसमा कोही पनि अलमल्लिन हुँदैन’ उनले भने ‘मुलुकको समस्या र आवश्यक्ता भन्दा बाहिरको बहस समयको बर्बादी मात्र हाे ।’
‘सतहमा देखापरेका भ्रष्ट्राचार, विकृती र विसंगति औंल्याएर एकथरीहरुले जसरी राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन् त्यो भन्दा कुरुप चित्र राजतन्त्रमा ब्यहोरेका छौं’ नेता गौतमले भने । अहिले मुलुकलाई अगाडी बढाउन सुशासन र सम्बृद्धिको आवश्यक बहस गर्नुपर्ने आवश्यक्ता रहेकाे उनले बताए । मुलुकमा आनन्दले डुल्न पाएका पुर्व राजाले अवान्छित हर्कत बढाए लाखौं युवा सडकमा आएर प्रतिवाद गर्ने र त्यतिबेला देश छोड्नु पर्ने अवस्था आउने उनले दावी समेत गरे ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अमर बहादुर बिकले हिजो जनयुद्धको अग्रमोर्चा सम्हालेको दलितहरुले बिभेदको प्रतिकको रुपमा रहेकाे राजतन्त्र फालेकाे बताए । उनकाे कुकृत्यको बारेमा नयाँ पुस्तालाई सुसूचित गराउँने दिन आए पूर्व राजाले अत्यन्त खराब परिस्थिति ब्यहोर्नुपर्ने चेतावनी समेत उनले दिए ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले हजारौंको बलिदानको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र केही राजा चाहने रैतीहरुको रहरमा फर्कन असम्भव रहेको बताउँदै अनावश्यक दुस्साहस नगर्न चेतावनी दिए ।
कार्यक्रममा सहभागीलाई नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव गणेश विकले बैचारिक प्रशिक्षण चलाउनु भएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक, जिल्ला अध्यक्ष जमिन दियाली लगायतले सम्बोधन गरेका थिए।

