मकवानपुर । संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरिएकाे छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र संचालित संचारमाध्यमलाई उद्योगमा समेटेर अन्य उद्योग सरह ऋण, सहुलियत लागयतका सहयोग प्रदान गर्न माग गरेको हो ।
महासंघ बागमती अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै अन्य उद्योगलाई जस्तै सञ्चार उद्योगलाई पनि समान व्यवहार गरी राज्यबाट पाउने ऋण लागयतका सहुलियत प्रदान गर्न माग गरिएको हो । त्यसभित्र पनि साना र स्वरोजगारमूलक लगानीका सञ्चारमाध्यमले प्राथमिकता पाउनुपर्ने महासंघले माग गरेको छ ।
अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं साना लगानीका मिडियामा करोडौं लगानी भएपनि दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराए । साना लगानीका संचारमाध्यमलाई उद्योगका रुपमा समेट्ने मात्र नभइ आवश्यक सामाग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ ।
महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको महासचिव कृष्ण सारु मगरले बताए ।
प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले संचारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताए । उनले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफु तयार रहेको धारणा राखे । उनले संचारमाध्मयलाई उद्योगका रुपमा विकास गर्नसके संचारकर्मीको दीर्घकालीन विकासमा टेवा पुग्ने हुनाले त्यसतर्फ सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्दै यसबारे नीतिगत निर्णय गर्न आफु तयार रहेको बताए ।
यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ । महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्ताव पत्र पेश गर्दै मन्त्रालयले तत्काल पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गरेका छन ।
महासंघले स्नातक र स्नात्तकोत्तर अध्ययन गर्न चाहने पत्रकारका लागि अगामी आर्थिक वर्षबाट छात्रबृत्ति व्यवस्था गर्नसमेत माग गरेको छ । मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नो तर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन । मन्त्रालयहरुमा पुगेको महासंघको डेलिगेशनमा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी (केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । केन्दले समर्थन फिर्ताकाे पत्र आज बुधबार संसद् सचिवालयलाई बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन फिर्ता लिएको जानकारी सहित संसद् सचिवालयलाई पत्र बुझाएको हो ।माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएकाे समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रले लिने निर्णय गरेको छ ।
बैशाख २१ गते मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । केन्द्र नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुङ्गोमा पुग्न नसकेका कारण समर्थन फिर्ता लिने वा नलिने निर्णयमा पुग्न सकेको थिएन । माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियाे ।
प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाेले माओवादी केन्द्रकाे बैठकले समर्थन फिर्ताकाे औपचारिक निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय

यसै बीच नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाइ असफल पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने काँग्रेसले जनाएकाे छ
मङ्गलवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो ।
मकवानपुर । प्रतिनिधी सभाकाे विशेष अधिवेशन बैशाख २७ गते साेमबार बस्ने भएकाे छ । मन्त्रिपरिषद्काे बैशाख १९ गतेकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको विशेषअधिवेशन राष्ट्रपतिले आह्वान गर्नु भएको छ ’ राष्ट्रपति कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ ।
प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ भने नेपाली काँग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ जना पदमुक्त भएपछि०, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । जसमध्ये नेपाली काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिवेशनहरूको मिति ताेकेकाे छ । एमालेले तहगत रूपमा गर्ने अधिवेशनहरूकाे मिति तय गरेको हाे । गत वैशाख ६, १० र १२ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार एमालेले तहगत अधिवेशनको मितिलाई अन्तिम रूप दिएको हाे ।
पार्टी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन मार्फत् जिल्ला तहमा सर्कुलर गरेको एमालेले जनाएकाे छ ।
अन्तरपार्टी निर्देशनमा २०७८ असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने भनिएकाे छ । सदस्यता नविकरण पश्चात स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको निर्देशनमा उल्लेख छ । एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने निर्देशनमा भनिएकाे छ।
भदौ ५ गते वडा अधिवेशनको मिति तोकिएको छ। भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने साथै ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ । असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ। साे पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने कार्यक्रम सहितकाे तालिकामा उल्लेख गरिएकाे छ ।
मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो।