मकवानपुर । बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईलाई काम गर्न अबरोध नगर्न उच्च अदालत पाटन हेटौँडा इजलासले बागमती प्रदेश सरकारलाई आदेश दिएको छ । फागुन ५ गते बागमती प्रदेश सरकारको मन्त्री परिषदको निर्णयबाट चौलागाईलाई पदमुक्त गरिएको थियो ।
प्रदेश मन्त्रीपरिषदकाे निर्णय बिरुद्ध चौलागाईले उच्च अदालत हेटौँडा इजलासमा फागुन ११ गते उत्प्रेषण परमादेशको रिट निवेदन दर्ता गराएका थिए । निवेदकको रिट उपर उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायधिश नागेन्द्र लाल कर्णको इजलाशले विहीबार सुनुवाई गर्दै तत्काल चौलागाईलाई प्रदेश युवा परिषदको उपाध्यक्षकै हैसियतमा काम गर्न दिनु अवरोध नगर्नु भनी आदेश जारी गरेको हो ।
अदालतले फागुन १८ गतेदुबै पक्षलाई अन्तरिम आदेश लाई निरन्तरता दिने नदिने सम्बन्धमा छलफलका लागि उपस्थित हुन समेत भनेको छ । अन्तरिम आदेश छलफलका लागि उपस्थित हुने मितिसम्म अन्य ब्यक्तिलाई सो पदमा नियुक्तीको प्रकृया अघि नबढाउन समेत अदालतले सरकारलाई आदेश दिएको छ । रिट निबेदकका तर्फबाट अधिबक्ता मदन दाहाल, मुकुन्द अधिकारी, बालकृष्ण अधिकारी र ऋषि केबीले बहस गरेका थिए ।
यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत माघ १८ गतेको निर्णयले पदमुक्त गरेका प्रदेश भित्रका ११ जिल्लाका आयुर्बेद अस्पतालका अध्यक्ष र चरिकोट अस्पताल विकास समितीका अध्यक्षलाई हटाउने निर्णय समेत कार्यान्वयन नगर्न यथास्थितीमा राख्न आदेश दिएको छ । फागुन १० गते रिट निबेदन माथि सुनुवाई गर्दै उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको अधिबक्ता मदन दाहालले बताए ।
मकवानपुर । नेपाली काँग्रेस मकवानपुर जिल्लाको अधिवेशन र निर्वाचन हुने निश्चित भएपछि सभापती प्रत्यासीहरुले चुनावी माहाेल बनाउने कसरत थालेका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाेले दाबेदारका रुपमा रहेकाे सभापति उमेदवारहरुले चुनावी माहोल तताउन थालेका हुन् ।
सभापति पदका बलियो दाबेदारका रुपमा देखिएका आनन्दराम पराजुलीले मकवानपुरको उत्तरी क्षेत्रमा प्रचारप्रसारलाई तिव्रता दिएका छन् । पराजुलीको प्रतिस्पर्धीका रुपमा रहेका अर्का प्रत्यासी जयराम लामिछानेको गृह इलाकामा पराजुलीले बुधबार पदाधिकारी र सदस्यका प्रत्यासीहरु सहितकाे टोलीले प्रचार प्रसार गरेका छन् ।
संस्थापन इत्तर पक्षबाट सभापतिको प्रत्यासी बनेका लामिछानेको इलाका मानिने थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाबाट मत आफूतिर तान्न कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा/गाउँ/क्षेत्रका सभापतिसँग भेटघाट र प्रचारप्रसारमा जोड दिएका हुन् । संघीय क्षेत्र नम्बर २ मा पर्ने उत्तरी क्षेत्र इलाकामा २०७० को निर्वाचनमा लामिछाने काँग्रेसको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।
बुधबार चुनावी प्रचारप्रसारको क्रममा लामिछानेको प्रभाव बलियो मानिने इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको पालुङ, दामन, टिस्टुङ क्षेत्रमा पराजुलीले कार्यकर्तामाझ मत माग्दै भेला कार्यक्रमसमेत आयोजना गरेका छन् । आफु सभापतिको दाबेदार भएकाले जिल्लाको सबै क्षेत्रका मतदातामाझ पुग्नुकाे लागि उत्तरी क्षेत्रकाे थाहा नगरपालिका र ईन्द्र सराेवर गाँउपालिकालाई पनि समेटेको पराजुलीले बताए ।
सभापतिका प्रत्यासी पराजुलीले बिहीबार बिहान थाहामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्नपछि हेटौंडा फर्किने र फागुन १३ गते शुक्रबार आफ्नो टीमसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

‘गुटकाे नभइ विचारकाे राजनीति गर्छु’ लामिछाने
मकवानपुर काग्रेसका जिल्ला सभापति पदका प्रत्यासी जयराम लामिछानेले गुटको नभइ विचारको राजनीति गर्ने बताएका छन् ।बुधबार हेटौंडामा प्रजातान्त्रिक एवम् लोकतान्त्रिक बिचार बोकेका बुद्धिजीवि व्यक्तिहरु र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसँग छलफल तथा विचार संकलन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रममा लामिछानेले कांग्रेसमा विचारकाे राजनीति गर्ने बताउँदै र समृद्ध कांग्रेस सुखी नेपाली बनाउने सम्बन्धमा सहभागीहरुसँग राय सुझाव संकलन समेत गरेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य ह्याग्रीब आचार्यले अहिलेका कांग्रेसीहरुले विपिको नाम सुनेको तर उनको बिचार र सिद्धान्तहरु अनुसरण नगरेको बताएका छन् । आचार्यले कांग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक कांग्रेसीको हातमा विपिको किताब बाढ्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले मकवानपुरमा कांग्रेसको स्थापना हुँदा २५ जनाबाट सुरु भएको थियो भने आजको दिनसम्म ७० हजारको हाराहारीमा पुग्दा पार्टीको आकार बढेको तर विचारको आकार भने पहिल्यै जस्तो रहेको बताए ।
त्यसतै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पनि मकवानपुरमा कांग्रेसको विकासका लागि आफूले सरसल्लाह, सुझाव र सहयोग सदैव गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने कांग्रेसको नेताहरुकाे बानी रहेकाे बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल, कांग्रेस नेतृद्वय उमा दाहाल, रिता खनाल, कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको उपस्तिथि रहेको थियो भने कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो छोटो धारणा राख्दै लामिछानेलाई जितको लागि शुभकामना समेत व्यक्त गरेका थिए । साथै लामिछानेले रायसुझाव दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै राय सुझावको अपेक्षा गरेको बताएका छन् ।
हालसम्म सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा उपसभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिइसकेका छन् ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पदबाट राजिनामा दिएका छन् । ‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै बर्ताैलाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा महाधिवेशन दौरान निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्नुपर्ने विषय उठान गरेकोमा नेतृत्वले बेवास्ता गरेको भन्दै बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।
‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राप्रपा परित्याग गरेका मकवानपुरका बर्तौला कमल थापाकाे नेतृत्वमा केही दिन अघी गठन भएकाे राप्रपा नेपालमा प्रवेश गर्ने चर्चा रहेकाे छ ।

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिकाले संगठन विस्तार अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको आइतबार भीमफेदी ७ र ८ नम्बर वडामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
युवा संघ भीमफेदी गाउँपालिकाका अनुसार संयुक्त भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
भीमफेदी–७ मा जनक चुनीको अध्यक्षतामा २१ सदस्यीय र भीमफेदी–८ मा विनेश अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।
गाउँपालिकाका सबै वडामा पार्टीका निर्देशन अनुसार नयाँ कार्यसमिति गठन भइरहेको छ ।
मकवानपुर । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् । केही दिनअघि मात्रै राप्रपा परित्याग गरेका थापाले शनिबार राप्रपा नेपालको घोषणा गरेका हुन् ।
राप्रपा नेपाल घोषणा गरेका कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागेका छन् । उनले राप्रपा नेपालको घोषणा गर्दै आफुहरुले पाँच वर्षयता बाटो बिराएको र धेरै गल्ती गरेको भन्दै माफी मागेका हुन् । उनले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक–पटक सरकारमा जानु गल्ती भएको बताए । उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’
थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए । ‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दा, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो’ उनले भने ।