सशस्त्र द्वन्द्वको अन्त्यसँगै २०६८ सालदेखि नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रक्रिया अघि बढेको हो। हस्ताक्षर गर्नेदेखि संसद्मा अनुमोदनका लागि लैजाने प्रक्रियामा यसबीचका विभिन्न सरकार र नेताहरू जोडिएका छन्। तर, एमसीसी अनुमोदन गर्ने बेला भने उनीहरू विभाजित छन्। कोही खुलेरै पक्षमा देखिएका छन्, त कोही विपक्षमा। एमसीसी विवादकै कारण सडकदेखि संसद्सम्म तातेको छ।
२०६५ सालदेखि नेपालमा एमसीसी चर्चामा आएको हो। २०६८ सालमा तत्कालीन माओवादीका नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएदेखि यसको औपचारिक प्रक्रिया अघि बढेको थियो। त्यतिबेला वर्षमान पुन अर्थमन्त्री थिए। त्यहीबेला नेपाल ‘थे्रसहोल्ड’मा छनोट भयो। सरकारले समन्वय गर्न सरकारी कर्मचारी तोकेको थियो। पहिलो संविधानसभा विघटन भएपछि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भयो। त्यो सरकारले पनि एमसीसी प्रक्रिया अघि बढाएको थियो।
दोस्रो संविधानसभामा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार थियो। सुशील कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री भएका बेला एमसीसीले नेपाललाई कम्याक्ट छनोट भएको जानकारी गराएको थियो। २०७२ सालमा सम्भावित आयोजनाका लागि प्राविधिक अनुदान स्वीकार गर्नेसम्बन्धी सम्झौता भयो। कोइरालापछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। उनका पालामा कम्प्याक्टको मस्यौदा तयार गर्ने र प्राविधिक अनुदान स्वीकार गर्नेसम्बन्धी सम्झौता भयो। त्यही बेला १ अर्ब १३ करोडको आर्थिक सहायता पनि प्राप्त भयो।
माओवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार ढल्यो। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने। कृष्णबहादुर महरा अर्थमन्त्री बने। त्यो बेला अनुदान सहायता प्राप्त गर्न द्विपक्षीय वार्ता टोली गठन गरिएको थियो। प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। उनका पालामा एमसीसी स्वीकार गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गर्यो।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरे।
२०७४ को निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुई तिहाइ मत प्राप्त गर्यो। केपी शर्मा ओली प्रधानमन्त्री बने। एमसीसीबाट प्राप्त हुने अनुदान सञ्चालन र कार्यान्वयनका लागि (एमसीए) नेपाल कार्यालय स्थापना भयो। अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता गरे। तत्कालीन नेकपाको आन्तरिक किचलोका कारण संसद्बाट एमीसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेमा तीव्र विवाद भयो।
एमसीसीको सम्बन्धमा नेपालमा कम्युनिस्ट सरकार भएकै पालाबाट धेरै काम भएको देखिन्छ। अहिले एमसीसीको चर्को विरोध गर्ने पनि कम्युनिस्ट नेताहरू नै छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यो परियोजना भित्र्याउनेमा भूमिका निर्वाह गरेका थिए। जो अहिले एमसीसीको विरोधमा छन्। पछिल्लो समयमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसद्बाट अनुमोदन गराउने विश्वास दिलाउँदै त्यसका लागि चार/पाँच महिनाको समय मागेर एमसीसीलाई पत्र पठाएका थिए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो पालामा सामान्य कुराकानी भएको बताए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पाण्डे अर्थमन्त्री थिए। विश्व बैंकको बासिङ्टनमा भएको बैठकमा भाग लिने क्रममा एमसीसीबारे छलफल भएको उनले जानकारी दिए।
‘वासिङ्टनमा जाँदा यो विषयमा सामान्य कुराकानी भएको थियो’, उनले भने। नेपालपछि खनाल २०६७ सालमा प्रधानमन्त्री भए। उनका पालामा अर्थमन्त्री भएका भरतमोहन अधिकारीले एमसीसीलाई पत्र पठाए। तत्कालीन नेकपाभित्र एमसीसीबारे विवाद भएपछि खनालको संयोजकत्वमा कार्यदल बनेको थियो। कार्यदलको संयोजक बनेका खनालले आफू प्रधानमन्त्री भएका बेला सामान्य कुराकानी भएको कार्यदलको प्रतिवेदनमै स्वीकार गरेका छन्।
प्रतिवेदनमा छ, ‘छोटो समयका लागि प्रधानमन्त्री भएका खनालसँग अमेरिकी दूतावासका अधिकारीहरूले नेपालको पूर्वाधार विकासको सम्बन्धमा सामान्य कुराकानी गरेका थिए।’ प्रतिवेदनमा सन् २०१० देखि नै यस प्रक्रियामा विभिन्न चरणका वार्ता र सम्झौता अगाडि बढाइएको उल्लेख छ। पूर्वअर्थमन्त्री पाण्डे अधिकारी अर्थमन्त्री हुँदा एमसीसी परियोजनाका लागि पत्र नै पठाइएको दाबी गर्छन्। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पनि खनालको पालामै एमसीसीलाई पत्र पठाइएको दाबी गरेका छन्।
‘एमसीसी सहयोग नेपालमा ल्याइपाऊँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्। ताली बजाउँछन्’, ओलीले पोखरामा भने, ‘सम्झौता गर्नेहरूलाई कसैले हेर्दैनन्। म बाटोबाट हिँड्छु, ढुंगा हान्छन्। अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’ खनालको पनि आफूले पत्र नपठाएको दाबी छ। पूर्वअर्थमन्त्री पाण्डेले एमसीसी अनुमोदन नगरे आर्थिक संकट आउने बताएका छन्। छिमेकी चीनमा सी जिन फिङ सत्तामा आएपछि चीन र अमेरिकाको ‘ट्रेडवार’ सुरुवातसँगै यस्ता विषयमा विवाद र बहस बढ्दै गएको पाण्डेको भनाइ छ। अन्नपूर्णपोस्टमा प्रकाशित समाचार साभार
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएकाे छ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको बैठकबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हाे ।
जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुने । सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० हुनेछ । मतदान प्रक्रिया फागुन १६ गते विहान ८ बजेबाट सुरु हुने उनले बताए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । लामिछानेले शुक्रबार हेटौंडामा उम्मेदवारी घाेषणा तथा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा आफ्नो उम्मेदवारी सहित अन्य पदाधिकारीको चुनावी प्यानल घोषणा गरेका हुन् । उनले आफ्नाे उम्मेदवारी संस्थापन इतर पक्षको तर्फबाट रहेकाे बताएका छन् ।
लामिछानेकाे चुनावी प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवारी दिने छन् । यसैगरी सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको लामिछानेले बताए । जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकी लगायत उम्मेदवार बनाउने तयारी रहेकाे बताइएकाे छ ।
कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, रामचन्द्र अर्याल ‘माइकल’, उमा दाहाललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन तथा उम्मेदवारी घाेषणा कार्यक्रमकाे आयोजना गरी आफ्नो उम्मेदवारी घाेषणा गरे । उनले आफ्नाे उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी समेत गरेका छन् ।
पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख दुःखमा साथ दिने र विकास निर्माणमा सधै लागि पर्ने प्रतिवद्धता जनाए । साथै उनले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दावी गरे ।
उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका नेताहरु दामोदर खनाल, सुशान्त श्रेष्ठ, यतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान, प्रकाश बर्तौला, भूमिनन्द गौतमलगायत विभिन्न वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

१४ बुँदे प्रतिबद्धता सार्वजनिक
शुक्रबार काँग्रेस मकवापुरको जिल्ला सभापतिकाे उम्मेदवार घाेषणा गरेका पराजुलीले १४ बँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै विहीबार प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सभापति पदमा उम्मेदवार घाेषणा कार्यक्रममा उक्त प्रतिबद्धता पत्र समेत बाडिएकाे थियाे ।
पराजुलीले सार्वजनिक गरेकाे प्रतिवद्धता पत्रमा एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माण छन् । यसैगरी प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख छ ।
पराजुलीले आफू सभापति हुँदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने समेत प्रतिवद्धतामा दाबी गरेका छन् ।
जिल्लाको कुनाकन्दरासम्म पुगेर कार्यकर्तामाझ लोकप्रिय देखिएका उनले आफु सभापतिमा निर्वाचित भएपछि जिल्लामा गुटरहित पार्टी बनाएर सबैलाई एकबद्ध बनाउन जोड दिने समेत बताए ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर संयाेजकमा सर्केश घलान चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश समितिकाे विहीबारकाे वैठकले घलानलाई जिल्ला समन्वय समिति मकवानपुर संयोजक चयन गरेकाे प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ले बताए ।
बागमती प्रदेश समितिको काठमाडाैमा बसेको दोस्रो पूर्ण बैठकले मकवानपुर सचिवमा भीम पाख्रिनलाई चयन गरेको पुलामीले जानकारी दिए । बैठकले मकवानपुर प्रतिनिधिसभा १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज ललित घलान र संयोजक बच्चु खड्का गोलेलाई चयन गरेको छ । त्यस्तै प्रतिनिधि सभा १( प्रदेश सभा क) को इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा) र संयोजक सन्तबीर लो, १(ख) इन्चार्ज रञ्जना श्रेष्ठ र संयोजक भगिरथ नेपाल (रामजि) चयन भएका छन् ।
यसैगरी प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् । प्रतिनिधि सभा क्षेत्र २( प्रदेश सभा क) को इन्चार्ज शंकरराज बानियाँ र संयोजक चन्द्र योन्जन, २ (ख) को इन्चार्ज सिता पुलामी (रेखा) र संयोजक युसाई प्रजा (हविल) लाई चयन गरेको छ ।
बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ । हेटौंडा उपमहानगरपालिकामा बिवेक राई (बिवेक),बागमती गाउँपालिकामा ज्ञानसागर लामा, बकैया गाउँपालिकामा जीवन गोले, मकवानपुरगढीमा सरोज कुमार खनाल, भीमफेदीमा अप्सरा लोप्चन, इन्द्रसरोबरमा इन्द्र बहादुर श्रेष्ठ, थाहा नगरपालिकामा विष्णु बहादुर विष्ट, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ र मनहरी गाउँपालिकमा राजकुमार पाख्रिन इन्चार्ज तोकिएका छन् । कैलाश गाउँपालिकामा भने इन्चार्ज तोक्न बाँकी रहेको बताइएकाे छ ।