मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा प्रमुख पदको दावि गरेको छ । मागेजस्तै नपाए समाजवादी एक्लै चुनावि मैदानमा जाने गरी तयारीमा जुटेको बताइएको छ ।
आज सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहममा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी गरे । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।
राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको रिपोटिङ गरेका छन् ।
यता गठबन्धनले कैलाश र ईन्द्रसरोवर गाउँपालिकामा समाजवादीलाई अध्यक्ष दिन तयार भएको बताइएको छ । हेटौँडा उपमहानगरपालिकामा मेयरसहित ५ वटा वडामा समाजवादीको दाबी छ । गठबन्धनमै जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौँडा उपमेयर मीना लामाले बताइन् । पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।
यस्तै, बैठकमा समाजवादीले कम्तीमा उपाध्यक्षसहित सम्मानजनक ढंगले वडाध्यक्षहरु पाउनु पर्ने दाबीमा मकवानपुर गढी र वकैया गाउँपालिका रहेको छ । थाहा नगरपालिका र बागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष या मेयर उपमेयरमा दाबी गरेको छैन । बैठकमा रिपोर्टिङ गर्ने इञ्चार्जहरुले गठबन्धनसँग कम्तीमा वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका बैठकमा बैठकको अध्यक्षता गरेका पार्टी अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएको बैठकबारे ब्रिफिङ गरेका थिए । उनले गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरुबारे बताए ।
मकवानपुर । मकवानपुरमा चुनावि मैदानमा गठबन्धनबाट कुन पालिका कुन पार्टीले पाउने भन्नेमा भने अझै सहमति हुन सकेको छैन ।
यद्यपि जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा काँग्रेस र माओवादीले आसन्न स्थानीय तहको लागि उम्मेदवार सिफरिस गरेको छ । गठबन्धन गर्दा कुन पालिका कसले पाउने टुङ्गो नलाग्दै पार्टीहरुले आ आफ्नो पार्टीको तर्फबाट उम्मेरदवार सिफारीस गरेका हुन् ।
आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली काँग्रेसले १ महिला सहित ३ जनाको नाम सिफारिस गरिएको छ थाहा नगरपालिकामा माओवादीले ३ जना पुरुषको नाम सिफरीस गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा आनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ । यसैगरी काँग्रेसले हेटौंडा उपमहानगरको लागि उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।
अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीलाई उपमेयरमा सिफारीस गरेको हो ।
नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुरको क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताए ।
नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।
साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।
यता मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकामा माओबादीले थाहाका सबै वडाहरुसहित मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्रले आशन्न स्थानीय निर्वाचनका लागि माओबादी नगर कमिटीको बैठकले अरुण रायमाझी, बिष्णु बिष्ट र राजेश केसीको नाम सिफारिस गरेको हो ।
रायमाझी र विष्टको सम्भावना बलियो छ । रायमाझी तत्कालीन जनमोर्चा नेपालबाट एकतापछि माओबादीमा समाहित भएका हुन् भने विष्ट माओबादी भूमिगत राजनीतिबाट नै सक्रिय भएका हुन् । अर्का उमेदवार केसी ३ नम्बर वडाका वर्तमान अध्यक्ष हुन् ।
उपप्रमुखमा भने आज कुनै छलफल भएन । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गो नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको बताइएको छ ।
यसैगरी, थाहाको वडा नम्बर १, २, ९, ११ र १२ मा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ३ र १२ का उमेदवारहरु पुरानै अनुहार हुन् ।
यसैगरी वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण बिष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङ्गलाल गोपाली र सुशिला गोपालीको नास सिफारिस भएको छ ।
मकवानपुर। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका प्रमुखमा ३ जनाकाे नाम सिफारिस गरिएकाे छ । नगर प्रमुखमा १ महिला र २ पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।
सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले नगरप्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो। त्यसैगरी बैठकले उपप्रमुखमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेकाे छ । नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताएका छन्।
नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्। नगर प्रमुखको प्रमुख दाबेदार पराजुलीनै रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन्। साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो । एमालेबाट हेटौंडा ५ को वडा अध्यक्षको उम्मेदवारको रूपमा सुशिल घिमिरे यस अघि नै निर्विरोध चयन भएका छन् । सदस्यहरूमा ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल र पार्वती बिक चयन भएका छन् ।
वडा समितिले उक्त टिमलाई जिताउन प्रचारप्रसारका लागि वडाको बिभिन्न टोल टोलमा पुग्ने कार्य तालिका समेत तय गरेको छ । वडा समितिले मंगलबार बिहानबाट आगामी १० गतेसम्म पार्टीको प्रचारप्रसार तथा सम्पर्क कार्यालय खोल्ने छ । यस अन्तर्गत प्रत्येक टोल टोलमा वा संयुक्तरूपमा कार्यालय खोलिने छन् । वडाको विभिन्न ५ वटा टोलमा सम्पर्क तथा प्रचारप्रसार कार्यालय खोलिसकेको छ । अब १० वटा यस्ता कार्यालय खोलिने छन् जसबाट मतदातालाई सम्पर्क गर्न गतिविधिबारे जानकारी लिन समेत सहज हुनेछ ।
एमालेले वडामा गठन गरेको विभिन्न टोल कमिटीहरूमा आवद्वहरूलाई १० गते दिउँसो चुनावी प्रशिक्षणात्मक कार्यक्रम सहित सपथ ग्रहण गराउने छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता कार्यक्रमपछि १३ गतेबाट टोल टोलमा ब्यवस्थित रूपमा घरदैलो कार्यक्रम गरिने पार्टीका वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले बताए ।
“यो बिचमा वडाका सामाजिक व्यक्तित्वहरूको सहकार्यमा वडाको सुन्दर भबिष्य निर्माणका निम्ति कार्य योजनाहरू बनाइने काम पनि जारी छ” अध्यक्षका उम्मेदवार घिमिरेले भने । टोलको बिकास निर्माण, आर्थिक समृद्धि तथा सामाजिक परिवर्तनको लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको र त्यसै अनुरूप पार्टीको घोषणापत्र र उम्मेदवारको तर्फबाट स्थानीय तहको प्रतिबद्धता पत्र आउने उनले बताए ।
चुनावी तयारी स्वरूप विभिन्न उपसमिति समेत तय भएको र सबै समितिले आफ्नो काम थालेको पार्टी वडा अध्यक्ष पदमबहादुर बजगाईंले बताए । स्थानीय क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि स्थानीयवासीकै सल्लाह तथा समन्वयमा नेकपा एमालेले पांच बर्षे योजनाहरू बनाएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर सह इन्चार्ज ईश्वर ढुङ्गानाले बताए । “वडाको समृद्धिको लागि हामीले धेरै मेहनत गरेर योजनाहरू बनाइ रहेका छौ, जसलाई एमालेको टिमले पुरा गरेर देखाउने छ” वडा ५ का स्थानीयवासी समेत रहेका पार्टी सचिवालय सदस्य ढुङ्गानाले भने ।
मकवानपुर / मकवानपुर जिल्लामा सक्तरुढ ५ दलीय गठबन्धनका दलहरुले आज सोमबार चुनावि भागबण्डा सक्ने तयारी गरेको छ ।
आज सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागवण्डा टुंग्याउनेमा दलहरुबिच सहमति भएको बताइएको छ । यसअघि सत्तारुढ गठबन्धनका दलहरुको ८ वटा बैठकमा सहमतिको विन्दु खोजिएको थियो । उक्त सहमतिले आज सोमबार साँझ ५ बजे बैठक बोलाइएको छ ।
हिजो आइतबार दिउँसो कार्यदलको बैठक बस्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबारको लागि सारिएको थियो ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका अनुसार माओवादीको आन्तरिक छलफलले यताको सहमतिको लागि समय लम्बीएको थियो । पोखरेलले भने,‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्ने छ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।’
यता, मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ । नेपाली कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् ।
बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ । हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिका ३ दलले एक–एक वटा लिन तयारी गरेका छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ ।
नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरुले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।
यसैगरी, पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सम्मानजनक स्थान नपाए एक्लै भए पनि उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।
गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाएको खण्डमा कुनै पनि हालतमा चार वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । अध्यक्ष वा उपाध्यक्ष नपाइएको खण्डमा समाजवादीले राक्सिराङमा वडा नम्बर ३, ४, ६ र ९ लिने निर्णय गरेको छ । यस्तै, उपाध्यक्ष पाइएको खण्डमा २ वटा वडा लिने निर्णय पनि भएको छ ।
बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँड नगरे एक्लै चुनावमा जान पनि अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेदवार टुंगो लगाएको छ । तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस भएका छन् । उनी समाजवादीको जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुन् ।
यस्तै, गठबन्धन भएमा उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नु परेमा अध्यक्ष चेपाङका सारथीका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ । पार्टीले वडा नम्बर १ मा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, वडा नम्बर ३ मा ज्ञानबहादुर स्याङ्तान, वडा नम्बर ४ मा किशोरकुमार ब्लोन, वडा नम्बर ५ मा जुनियल प्रजा, वडा नम्बर ६ मा कृष्णलाल तामाङ, वडा नम्बर ७ मा जंगमान प्रजा, वडा नम्बर ८ मा सरोजकुमार प्रजा र वडा नम्बर ९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गठबन्धको आजको बैठकलाई जनसंख्या तथा स्वास्थ्य मन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्याङ्तान लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
यस्तै, बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरु, वडाध्यक्षका उम्मेदवारहरु र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदहरुबारे पनि छलफल गरिने कार्य तालिका रहेको छ । १० स्थानीय तह इञ्चार्जहरुले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिको आधारहरु खोजिनेछ ।
गठबन्धनको बैठकमा समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौँडा उपमहानगरपालिकामा उपप्रमुख र मनहरी गाउँपालिकामा उपाध्यक्ष पनि समाजवादीबाटै छन् । अहिलेको गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौँडा र मनहरीमा पनि प्रमुखको दाबी छ । यस्तै, चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, वकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ ।