मकवानपुर । मकवानपुरकाे कैलाश गाउँपालिकामा एमालेका उम्मेद्वारले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । कैलाशमा एमालेका उमेद्वारलाई जिताउन प्रचार–प्रसारसँगै कोणसभा समेत गरिएको छ ।
कैलाश—२ को ऐबुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कैलाश गाउँपालिका अध्यक्षका उम्मेद्वार नरेन्द्र लाल रिजालले गाउँको विकास एमालेको स्थानीय सरकारले मात्र गर्ने बताए । पाँच वर्षसम्म एमालेको स्थानीय सरकार हुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि भएका भन्दै अझै अधुरा कामहरु विकास गर्नको लागि अबको निर्वाचनमा एमालेको उमेद्वारलाई मत दिई जिताउनु पर्ने उन बताए ।
त्यस्तै कैलाश गाउँपालिकाकाे उपाध्यक्ष पदका उम्मेदवार सुकुमाया थिङले विजय प्राप्त गरेपछि ५ वर्षमा आफनो पार्टीले गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने भन्दै निर्वाचन पछि ती समस्याकाे समाधान गर्न लागि पर्ने बताईन् । सुर्य चिन्हमा एक पटक भोट दिएर विकास गर्ने मौका दिन उम्मेदवारहरुले आग्रह गरेका छन् ।
कैलाश गाउँपालिका नेकपा एमाले वडा कमिटीले वडा नम्बर १ को चामाखर्कमा पनि कोणसभा तथा घरदैलो कार्यक्रम गरेकाे युवा नेता तथा पूर्व जिल्ला कमिटि सदस्य महेश चेपाङले बताए । यसैगरी कैलाश ६ मा भएको कार्यक्रममा स्थानीय पार्वती आलेमगरले आफूले भोट दिएर जिताएका जनप्रतिनिधिले गाउँको बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरिन् । ‘हामीले मत दिन्छौँ, उनीहरुले हामीलाई विकास दिनुप¥यो ।’ उनले भनिन्
त्यस्तै कैलाश गाउँपालिकाका जिल्ला सदस्य सानुभाई बिष्टले नजिकिंदै जाँदा एमालेलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको बताए । नेता बिष्टको अनुसार पार्टीका आफ्ना उमेद्वारले कैलाशको वडा नम्बर १ ,२ , ५ र ६ को विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलाे अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलाे अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनकाे मिति नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रम गर्दै छन् ।
गठबन्धनका उम्मेदवारहरुले गाउँपालिकाकाे १ नम्वर वडाको विभिन्न स्थानमा शुक्रबार घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रम गरेका छन् । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता पुर्याउन तथा बदर मत कम गर्न नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई मतदान गर्ने शिक्षा दिदै आएका छन । मतदाता शिक्षाको कार्यक्रमलाई प्रभावकारी पारिएको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले बताए ।
घरदैलो कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार आइत सिं लोले यस अघि उम्मेदवार बन्दा घोषणा गरेका कामहरु गरिएको र थप योजनाहरुलाई पूर्णता दिन आफ्नो पुनः उम्मेदवारी रहेको बताए । उनले वडामा आवश्यक रहेका पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार तथा वडालाई प्रविधिमैत्री बनाई जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गठबन्धनका प्रचारप्रसार समिति संयोजक यतिराज सापकोटा, महासमिति सदस्य सुवात सिं थिङ, क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, पूर्व जिल्ला सदस्य इन्द्र बहादुर गोले लगायतहरुको उपस्थिती रहेको थियो ।
वडा नम्वर एकको रानीसेरा, आँपटार, पिङडाँडा, फुलबारी क्षेत्रहरुमा घरदैलो गरिएको थियो । शनिबार वडा नम्बर ५ सिमलटार हुदैं धादिङ भालुखोलासम्म घरदैलो कार्यक्रमहरु गरिने जनाइएको छ ।
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलाे अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलाे अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनकाे मिति नजिकिएसँगै हेटाैडा उपमहानगरपालिका समेत उम्मेदवारहरु घरदैलाे अभियानसँगै मतदाता शिक्षा पनि दिदै आएका आएका छन् ।
हेटाैडा ५ काे नेकपा एमालेका उम्मेदवारहरुले पहिलाे चरणकाे घरदैलाे अभियान सकाएर मतदाता शिक्षा दिन थालेका छन् । देशमा संघीयता कार्यान्वयनमा आए पछी दोस्रो पटक हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा नेताहरु आअफ्नो चुनावी एजेन्डा बोकेर जनताको घर दैलोमा प्रचारप्रसारमा केन्द्रित रहेका छन् । चुनावी अभियान अन्तरगतको पहिलो चरणको घरदैलो अभियान सकेर उम्मेदवारहरुनै मतदाता शिक्षा दिदै टोलटोलमा जनताको घरदैलोमा पुगेका छन् ।
घरदैलाे अभियान सकाएर मतदाता शिक्षा दिन एमालेका उम्मेदवार ५ नम्बर वडाका टाेल टोलमा पुगेर मतदातालाई मतदाता शिक्षा कार्यक्रमलाई तीव्रताका साथ शुक्रवारबाट अघि वढाएका छन । बदर मत कम गर्नका लागि ५ नम्वर वडा एमालेका नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिदै आएका छन । शुक्रबार ५ नम्बर वडाकाे दक्षिणकाली टोल , महादेव टोल लगायतका वडा भित्र रहेका विभिन्न टोलहरुमा उम्मेदवारहरु स्वयम् उपस्थित भई मतदाता शिक्षा दिन सुरु गरिएकाे ५ नम्वर एमालेका वडाअध्यक्ष उम्मेद्वार सुसिल घिमिरेले बताए ।
‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुदैन, कतिपय स्थितिमा मतपत्र पट्याउन नआउँदा पनि मतपत्र बदर हुने संभावना रहन्छ’ उम्मेदवार घिमिरेले भने– ५ बर्षमा १ पटक हुने निर्वाचनमा आफूले पाएको आधिकारको सही प्रयोग गर्न सिकाउनु हाम्रो दायित्व भएकोले मतदाता शिक्षालाई प्राथमिकतामा राखिएकाे हाे ।’ ‘विहीवार आफ्नो वडामा पहिलाे चरणकाे घरदैलो कार्यक्रम सकिएकाे छ, आजबाट मतदाता शिक्षालाई प्राथमिकता दिने अभियानमा छाै ।’
यो अभियान सँगै घरदैलो अभियानको क्रममा छुटेका मतदाताहरुकाे मा पुग्ने कार्यक्रम रहेकाे उनले बताए । एमालेबाट ५ नम्बर वडामा सुशील घिमिरे अध्यक्ष सहित सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि.क.चुनावी मैदानमा रहेका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरका आकाक्षि अधिकारीलाई पार्टी अन्तिम समयमा आएर पन्छाउंदै दीपक बहादुर सिंहलाई मेयरको उम्मेदवार बनाएपछी उनी रुस्ट भएका थिए ।
विगतमा राप्रपामा कृयाशिल भई जीवनका उर्जाशिल समय ब्यतित गरेको उल्लेख गर्दै अधिकारीले भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो नरहने बताएका छन् । उनी ३२ बर्ष राप्रपामा सक्रिय भएर काम गरेका नेता हुन ।
यस्तो छ विज्ञप्तीको पुर्णपाठ:
पार्टी स्थापनाकाल देखीको ३२ बर्ष राप्रपालाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनबरत रुपमा रगत पसिना बगाईरहे । सकेको बल,बुद्धि,श्रम,सीप लगाईरहे । आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी परि गरिरहे । निष्ठा,सिद्धान्तलाई केन्द्रमा राखिराखे ।पार्टिमा बिभिन्न उतारचढाव आयो,शंधर्ष र कठिन दिनहरू पार गरे।यो बिचमा पार्टि सुन्य अवस्थामा पुग्यो यस्तो कठिन, असहज र चुनौतीपुर्ण अवस्थामा पनि पार्टीलाइ स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढे। पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भैरहे । पार्टीलाई विधि र प्रद्धतीमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो ३ दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको ईमान्दारिता, नैतिकता र जनताको स्नेह हो। मैले आफ्नो राजनैतिक जिवन भरी निष्ठाको राजनिती गरे कुनै लाभको पदमा बसेर फाईदा लिएको थाहा छैन, बरू सधै कठिन परिस्थितिमा दुख कष्ट गरे। तर पार्टी भित्र “काम गर्ने कालू, मकै खाने भालु” प्रवृत्ति मौलायो। पछिल्लो समय अनुकुलताको राजनिती , मौसमी राजनीति, सामन्ती र सर्बसत्ताबादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । तेहि प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो। नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शिर्ष नेताको निर्णय अदुरदर्शि, अपरिपक्व र अन्यायपुर्ण देखियो । नेतृत्वले गर्ने मुल्य,मान्यता र आदर्शको कुरा ढोङ्ग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मुल्यांकन त परै जावोस् , उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारको रुपमा प्रयोग भयो ।कस्ले दुख गरेको छ,कस्ले मेहनत गरेको छ,हेक्का राख्न नसक्ने लाचार निरिह नेतृत्व संग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरि काम गर्न सक्छ? राप्रपा भित्र योगदान दिने व्यक्तिको मुल्यांकन नहुने, र पछिल्लो समयमा काहिकतै भुमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य छ। सधै कठिन घडीमा पार्टीलाइ थाम्ने काम गरे तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावि भयो। पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भुमिका बनाएको व्यक्तिको मान मर्दन गरियो। हामीले बनाएको जग र मेहेनतलाई अवमूल्यन गरियो। अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थ पुर्तिको लागि जे पनि गर्न सक्ने सम्भावना टडकारो छ। पार्टी नेतृत्व पनि त्यस्मा संलग्न भयको देखिन्छ। यसले एउटा स्वाभिमानी राजनितीक ब्यक्तिको निष्ठा र आत्मसम्मान माथी गम्भीर प्रश्न उठाएको छ । अपमानित ,अपहेलित भएर स्वाभिमान माथी प्रश्न उठिसकेको अबस्थामा पनि अन्यायको विरुद्धमा बिद्रोह नगरि निरीह भई त्यसकै साक्षि बस्नलाई यो आत्माले स्वीकृत दिएन । अन्यायको विरुद्धमा सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु । मेरो निर्णय सहि या गलत भन्ने निर्क्यौल भबिष्यलाई छोडेको छु । यसलाई अबसर नपाउदाको पीडा वा रोदनको रुपमा मात्रै नबुझियोस् । मेरा यी भनाई कुनै आग्रह वा पुर्बाग्रह प्रेरित छैनन् । मेरो कोहि कसै प्रती कलुशित भावना थियन, छैन र कहिल्यै रहदैन पनि । राप्रपाको बिचार बोकेका कारण तिरस्कृत भएको अपहेलित भएको मात्र होइन मृत्यु सङ्ग नजिकै पुगेको त्यो कारुणिक दृश्य अहिले सम्झिदा भावुक हुन्छु । राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भाबी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथिहरु सङ्ग नजिक भए। माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले घटना दर्तालाई प्रभावकारी बनाउन प्रोत्साहन गरिने नीति एमालेले लिएको बताइकी छिन् ।
३५ दिनभित्र जन्मदर्ता गर्नेलाई एक हजार प्रोत्साहन रकम प्रदान गरिने संकल्प एमालेले गरेको काफ्लेले बताएकी हुन् । आसन्न स्थानीय तह सदस्य निर्वाचनको चुनावी कार्यक्रममा बोल्दै आज हेटौंडा १६ हटीयामा उनले यस्तो बताएकी हुन् ।
घटना दर्ताले स्थानीय तहको मात्रै नभइ राष्ट्रिय विकास निर्माणको लागी नीति बनाउनसम्म गहिरो अर्थ राख्दछ । समयमै घटना दर्ता दर्ता नीति तथा योजना बनाउन तथ्यगत आधार तय हुन्छ ।
नेकपा एमालेबाट हेटौंडाको उपमेयरको उम्मेदवार रहेकी काफ्ले हटीयाको कृषिभूमिमा अत्यधिक संभावना रहेको बताउँदै भनिन् “यही भूमीलाई नीतिगत रुपमा व्यवस्थित गर्दै आय आर्जन र उद्यममा जोडेर समृद्धि ल्याउन सकिन्छ, हामीले यसको लागि पनि योजना बनाएका छौ ।”
महिलालाई उद्यममा जोड्न सिप क्षमता विकास र सशत्तिकरणमा ध्यान दिने उनले बताइन् । समाजलाई समृद्धि बनाउँन, समाजिक क्षेत्रको विकास गर्न, साँस्कृत धरोहरहरुको संरक्षण र सम्बद्र्धन गर्न एमाले सरकाले ध्यान दिने उनले बताइन् । यसको लागि हेटौंडा नगरमा एमालेले नेतृत्व पाएपछि स्थानीयवासीकै सहकार्य र सल्लाह बमोजिम अघि बढ्ने उनले बताइन् ।
“उपमहानगरको समृद्धिले ५ वर्षपछि महानगरको लागि आधार तय गर्नेछ” काफ्लेले भनिन् “हामी महानगरको संकल्प पनि अहिले नै बोकेर हिडेका छौ, जसले आधार बनाउने छ भोलीको लागि ।”
कृषिजन्य उत्पादनमा जोडिएर १ जनाले उद्यम गर्दा १०/१५ जना अरुले रोजगारी पाउन सक्ने संभावनालाई व्यवहारमा उतारेर देखाउने तागत एमालेमा रहेको उनले बताइन् । यसै गरी टोल र घर छेउको सामुदायिक विद्यालयको गुण्स्तर विकासको योजना पनि एमालेले बनाएको उनले बताइन् । “हामीले शहरी स्वास्थ्य केन्द्रलाई अझै व्यवस्थित बनाउने छौ” काफ्लेले भनिन् “शहरी स्वास्थ्य केन्द्रमा चिकित्सक तथा ल्याबको व्यवस्था गर्नेछौ ।”