मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलाे अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलाे अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनकाे मिति नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रम गर्दै छन् ।
गठबन्धनका उम्मेदवारहरुले गाउँपालिकाकाे १ नम्वर वडाको विभिन्न स्थानमा शुक्रबार घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रम गरेका छन् । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता पुर्याउन तथा बदर मत कम गर्न नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई मतदान गर्ने शिक्षा दिदै आएका छन । मतदाता शिक्षाको कार्यक्रमलाई प्रभावकारी पारिएको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले बताए ।
घरदैलो कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार आइत सिं लोले यस अघि उम्मेदवार बन्दा घोषणा गरेका कामहरु गरिएको र थप योजनाहरुलाई पूर्णता दिन आफ्नो पुनः उम्मेदवारी रहेको बताए । उनले वडामा आवश्यक रहेका पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार तथा वडालाई प्रविधिमैत्री बनाई जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गठबन्धनका प्रचारप्रसार समिति संयोजक यतिराज सापकोटा, महासमिति सदस्य सुवात सिं थिङ, क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, पूर्व जिल्ला सदस्य इन्द्र बहादुर गोले लगायतहरुको उपस्थिती रहेको थियो ।
वडा नम्वर एकको रानीसेरा, आँपटार, पिङडाँडा, फुलबारी क्षेत्रहरुमा घरदैलो गरिएको थियो । शनिबार वडा नम्बर ५ सिमलटार हुदैं धादिङ भालुखोलासम्म घरदैलो कार्यक्रमहरु गरिने जनाइएको छ ।

