मकवानपुर । नवनिर्वाचित जनप्रतिनिधिलाई पारदर्शी हुन बागमती प्रदेशको प्रदेश सचिब सुरेश अधिकारीले आग्रह गरेका छन् ।
बागमती प्रदेश सचिब अधिकारीले सुशासन, पारदर्शिता,आर्थिक विकास, खरिद प्रणाली, वातावरणीय सवालको बारेमा जानकारी गराइने उद्देश्यले आयोजित अभिमुखिकरण कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचारको अन्त्यको लागि लड्नुपर्ने र यसमा चनाखो हुन उनले आग्रह गरेका हुन् ।
जनप्रतिनिधिलाई आफ्नो क्षेत्रमा काम गर्दा आईपर्ने अफ्ठ्याराहरूमा सघाउन यो कार्यक्रम फलदायी हुने अधिकारले बताए ।
राजनीतिलगायत बिबिध अन्तरसम्बन्धलाई परिभाषित गर्दै सक्षमता अभिबृद्वि गर्दै काम गर्नु पर्ने उनले बताए । स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने तर हालसम्म संघको कब्जामा रहेको अधिकार बारे पनि कार्यक्रम छलफल हुने उनले बताए ।
बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रदेश राजधानी हेटौंडामा सुरू भएको छ । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
कार्यक्रममाराष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले स्थानीय शासन संघीयता अन्तर तह समन्वय बजेट तर्जुमा र असल अभ्यास बारे कार्यपत्र प्रस्तुत गरेका छन् । योजना तर्जुमा, कर राजस्व संकलन तथा बांडफाड, क्षमता विकास र अवसरहरू बांडफांड, संगठन संरचना निर्माण, केन्द्रिकृत सोच र मानसिकताका कारण संबिधानले तोकेजस्तो र अपेक्षा गरेजस्तो उपलब्धि हासिल गर्न चुनौती भएको राष्ट्रिय सभा सदस्य देवकोटाले बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरूलाई समन्वय सहकार्य बलियो बनाउन, स्थानीय तहको बार्षिक नीति योजनाको लागि सहकार्य गर्न, स्थानीय तहबिचको समस्या चुनौती तथा अवसरलाई छलफल गरिने बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय सचिब स्किम श्रेष्ठले बताइन् ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिहरू, मन्त्रालय मन्त्रीहरू, मन्त्रालयका सचिबहरू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिक र गाउँपालिकाका प्रमुख उपप्रमुखको उपस्थिति रहेको छ । कार्यक्रम भोलिसम्म चल्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो ।
आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो ।’
आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’मा छलफल गरेको थियो । तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ ।
तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् । उनले संसदबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएपछि आयोगसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन’को छलफल अघि बढाउने योजना बनाएका छन् । देउवा स्थानीय तह निर्वाचनको परिणामबाट हौसिँदै आएका छन् ।
गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने विषयमा यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनौपचारिक छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण २० फागुनमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
आयोगले भने निर्वाचन सम्पन्न भएपछिको मितिलाई कार्यकाल समाप्त हुने मिति मान्दा २२ मंसिरमा वर्तमान प्रतिनिधि सभाको कार्यकाल सकिने बताउँदै आइरहेको छ । आयोगले निर्वाचन सम्पन्न गर्न कुल १ सय २० दिनको समय आवश्यक पर्नेसमेत बताउँदै आएको छ । राजधानी दैनिकबाट
स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।
‘गठबन्धन टुटाउन बल गर्नु प¥यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’
स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।
‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे ।
दुई÷दुईपटक संविधानविपरीत संसद् विघटन गरेका ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्दै संसद् विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
पार्टीभित्रै नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउन नेताहरूबाट सुझाव आएको भए पनि ओली आफ्नो कमीकमजोरी सच्याउन तत्पर नभई उल्टै ढाकछोप गरेर हिँड्ने गरेका छन् । स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी नेतृत्व सच्चिनुपर्ने आवाज उठाउँदा ओलीले उल्टै कारबाहीको ‘डन्डा’ चलाउन खोजेका छन् । पार्टी विभाजनअघि र अहिले पनि ओलीको शैली केही नफेर्रिएको एमालेकै नेताहरू बताउँछन् ।
पार्टीभित्र एकता कायम गरेर पार्टीलाई बलियो बनाउनुको साटो अनुशासन आयोगमार्फत कारबाहीको डन्डा चलाउन थालेका ओलीले एमाले विभाजन गरेकालाई पार्टीमा स्वागत नहुने अडान व्यक्त गरेका छन् । एमाले विभाजन गरेर गएकालाई पार्टीमा ल्याउनुपर्ने वा वामगठबन्धन गर्नुपर्ने आवाज उठे पनि उनी पार्टीविभाजन गर्नेलाई पार्टीमा स्वागत नगर्ने अडानमा छन् ।
यस्तै, ओलीले अन्य दलसँग सहकार्य र समन्वयन गर्नुको साटो अनावश्यक आलोचनामै रमाउने गरेका छन् ।
यसअघि, संसद् बैठकमा उनले अन्य दललाई चर्काे आलोचना गर्दै आफ्नो बचाउ गरे । लगत्तै माओवाद्री केन्द्र्रका अध्यक्ष प्र्रचण्डले ओलीले आफ्नो कमजोरी सच्याउने र वाम एकताका लागि आह्वान गर्लान् भन्ने आफूलाई लागे पनि दम्भ अझै नहटेको संसद् बैठकमै टिप्पणी गरे ।
एमालेका अधिकांश नेताहरू पार्टी नेतृत्वले कमीकमजोरी सच्याएर वाम एकता गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर, ओली भने विगतको समीक्षा गर्नेभन्दा पनि आरोपप्रत्यारोप र आफ्ना कमजोरी ढाकछोप गरेरै अघि बढ्ने पक्षमा देखिएको पाइएको छ । राजधानी दैनिकबाट
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मतदान गर्ने मतदातालाई धन्यवाद दिएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय तह सदस्य निर्वाचन २०७९ मार्फत काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी बनाएको भन्दै सम्पुर्ण मतदाता र सहयोगीलाई धन्यवाद दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले स्थानीय तहको निर्वाचनमा मकवानपुरमा मकवानपुरे जनताले दिएको मतप्रति आभार व्यक्त गरेका छन । अध्यक्ष लामाले आम मतदाता, गठबन्धन, सहयोगी सबैलाई धन्यवाद दिएका छन । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको १० वटा पालिका मध्ये ५ वटामा प्रमुख, ४ वटामा उप–प्रमुख र ४४ वटा वडामा अध्यक्ष पदमा जीत हासिल गरेको थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य चम्फु लामा, काँग्रेस मकवानपुरका उपसभापती द्वय धर्मराज लामिछाने र आनन्द कठायत, सचिव भीमसेन महत, सहचिव द्वय इन्दिरा न्यौपाने र निशान बजागाई, प्रवक्ता अर्जुन चौलागाई लगायतकको सहभागिता रहेको थियो ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले सचिवालय गठन गरेकाे छ । सोमबार बसेको जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष शिवराम थापाको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरेकाे हाे ।
सचिवालयमा उपाध्यक्षहरु सागर थापा, इन्दिरा न्यौपाने, ज्ञानेन्द्र ढुङ्गेल, अर्जुन प्रसाद गौतम, राजु संजेल, कविन्द्रराज भट्टराई, शंकर सिंह ठकुरी, सचिव विजय सिंह ठकुरी, आयुष डोटेल, सह–सचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने, सह–कोषाध्यक्ष सन्दिप सापकोटासहित भिम प्रसाद गौतम, गीता कार्की, नवराज थपलिया, काजिमान तितुङ रहेका छन् ।
यसैगरी पार्टीले आयुष डोटेललाई पार्टी प्रवक्ता चयन गरेको छ । यस्तै अनुगमन तथा मुल्याङ्कन समितिमा दीपक बहादुर सिंह, नवराज विष्ट, रामहरी न्यौपाने, रामबहादुर थोकर र गुञ्ज बहादुर न्यौपानेलाई चयन गरेको छ । बैठकले विभिन्न विभागको जिम्मेवारी पनि तोकेको छ ।
बैठकले यातायात क्षेत्रमा ऋषिलाल श्रेष्ठ, खानेपानी तथा सिँचाईमा यज्ञप्रसाद कँडेल, विद्युत तथा सहकारीमा कविन्द्र राज भट्टराई, शिक्षामा सागर थापा, वन तथा सामुदायिकमा ज्ञानेन्द्र ढुङ्गेल, प्रहरीमा राजु सञ्जेल, महिला, बालबालिका, अपाङ्गतामा इन्दिरा न्यौपाने, ज्येष्ठ नागरिकमा सिताराम बर्तौला, गैरसरकारी संस्थामा शंकर सिंह ठकुरी, मालपोतमा अर्जुन गौतम र कृषि तथा पशुमा यदुनाथ तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।
न्यायिक क्षेत्रमा रघुनाथ खराल, नेल्सन घलान र गीता कार्कीलाई जिम्मेवारी दिएको छ भने प्रशासनमा कृष्ण हुमागाई, स्वास्थ्य तथा रेडक्रसमा विजय सिंह ठकुरीलाई जिम्मेवारी दिइएको प्रवक्ता डोटेलले जानकारी दिए ।