मकवानपुर । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। उनले शनिबार मात्रै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गरेका हुन्।
पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनस्गठन गर्नु रहेको छ।
राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो ।
‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ, अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकारसमक्ष ३० कात्तिकको मितिसमेत प्रस्ताव गरिसकेको छ,’ निर्वाचन आयोग स्रोतले राजधानीसँग भन्यो । आयोगले छिटोभन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकारसमक्ष दबाबसमेत बढाउन थालेको छ ।
– निर्वाचन मिति घोषणाका लागि दबाब बढाउँदै आयोग
– १ सय ६५ वटै क्षेत्रमा एकै चरणमा गर्न सुझाव
आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले नामावली संकलनतर्फ भिड कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।
७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट हाल मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गरिरहेका छन् ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासमेत त्यसअघि नै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढिरहेका छन् । गठबन्धनमा आबद्ध दलको तयारीसमेत कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो साताभित्रै निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ । आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेपछि आज बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
दिउँसो २ बजेका लागि बोलाईएको प्रदेश सभामा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल हुने कार्य सूचि भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टी जनाएको छ ।
उसले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ७० अर्ब ९३ करोड रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले ‘राष्ट्रलाई चिनाउन खेलकुद महत्वपूर्ण’ भएकाे बताएका छन् । शनिवार हेटौंडा ७ किरणचाेक टोलमा भएको खेलाडी सम्मान कार्यक्रममा बानियाँले वडा, नगर र राष्ट्रलाई चिनाउन पूर्वाधारकाे विकास भन्दा खेलकुद महत्वपूर्ण भएकाे बताएका हुन् ।
उनले भने खेल क्षेत्र सधैं माथिल्लो स्थानमा रहने भएकाेले सडक र पूर्वाधारका काम भन्दा माथि खेलकुदलाई राखिने बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथी बानियाँले खेलकुदलाई बिशेष प्राथमिकतामा राखेर उपमहानगरने नीति तथा कार्यक्रम तयार गरेकाे जानकारी दिए । उनले सबै हिसाबले खेलकुद महत्वपूर्ण रहेकाले वडातहमा आएको बजेटको केही प्रतिशत खेलकुदको लागि छुट्याउन वडा अध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुनसरी र चितवनमा भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा प्रथम सहित बिभिन्न बिधामा पुरस्कार प्राप्त गरेका तेक्वान्दोका खेलाडीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा तेक्वान्दोको आन्तरीक परिक्षामा उर्तिण भएकालाई प्रमाणपत्र बितरण गरिएको थियो ।
संघका अध्यक्ष मदनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य राकेशकुमार राई, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी किरणचेक टोल बिकास सस्थाका अध्यक्ष राजु आधिकारीकाे उपस्थिति रहेकाे थियाे ।
नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तकाे सूचीमा हेरफेर नगर्ने भएकाे छ । समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरे सँगै मन्त्री सिफारिस गरिएकाकाे सूची हेरफेर नहुने पक्का भएकाे हाे ।
शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए । बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल बताइएकाे छ ।