मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् । निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था निर्वाचन आयोग ऐन, २०७३ ले गरेकाे छ ।
निर्वाचन आयोग ऐन, २०७३ मा भएकाे ब्यवस्था बमाेजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणीे वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह) – एकजना, लेखा अधिकृत वा लेखापाल (रा. प. तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एक जना, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना रहनेछन् । यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना,. सवारी चालक (सवारी साधन भएमा) एक जना, सहयोगी कर्मचारी (श्रेणी विहीन) दुई जना, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एक जना गरी नौ जना जनशक्ति रहेका छन् । यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी नै रहेका छन् ।
यसैगरी मतदान केन्द्रमा मतदाता संख्याकाे आधारमा ९ जना देखि ११ जनासम्म रहने व्यवस्था रहेकाे आयाेगले जनाएकाे छ । आयाेगका अनुसार २ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ९ जना कर्मचारी रहने आयाेगले जनाएकाे छ । २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ११ जना कर्मचारी रहने छन् भने ५ सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक सहित १२ जना कर्मचारी परिचालन गरिने आयाेगले जनाएकाे छ । आवश्यकता अनुसार अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिने भएकाे छ ।
निर्वाचन कार्यकाे लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाइने आयाेगले जानकारी दिएकाे छ । त्यस्तै काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत आवश्यकताकाे आधारमा खटाइने भएकाे छ ।
यसैगरी आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाको लागि कर्मचारी काजमा लिइ कार्य गरिरहेकाे छ ।
यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाइने
निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने जनाएकाे छ ।
यसैगरी जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाको लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा नखटाइने व्यवस्था रहेकाे छ ।
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ ।
निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिन्ह त्यसै अनुसार तय भएको हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह लिएका छन् ।
त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएका छन् । त्यस्तै सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिन्ह लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ १ सय १० सिट रहेको छ ।
प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको संख्या फरक फरक पर्ने आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिन्ह रहने भएको छ ।
तर प्रदेश नं. १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेश गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्हसमेत रहने भएको छ ।
जस अनुसार प्रदेश नं. १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुने छ । त्यस्तै मधेश प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । प्रदेश नं. १ मा बन्दसूचि बुझाउने दल भने ३६ मात्र रहेका छन् । त्यस्तै मधेश प्रदेशमा ३६, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्दसूची पेश गरेका छन् । कर्णाली प्रदेशमा निर्वाचनमा सहभगिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो । त्यस्तै सुदुरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।
प्रदेश सभामा प्रदेश नं. १ बाट ३७ जना, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् ।
मकवानपुर । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कल सेन्टर सञ्चालनमा ल्याएकाे छ । गत असाेज २८ गतेदेखि सञ्चालनमा आएकाे पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका मध्ये १ हजार २५ जिज्ञासाकाे सम्बाेधन गरिएकाे हाे ।
कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल १ हजार ५ सय २ कलमध्ये १ हजार १ सय ९७ वटा कल रिसिभ भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । साे मध्ये १ हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको आयाेगले जानकारी दिएकाे हाे । उक्त अवधीमा १ सय ७२ वटा कल मिस्ड भएका थिए भने ३ सय ५ वटा भ्वाइस मेल आएकाे समेत आयाेगले बताएकाे छ । अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको आयाेगले जनाएकाे छ ।
कल सेन्टरमा पालिकाका जनप्रतिनिधिहरुले निर्वाचनकाे प्रचार प्रचारप्रसार गर्न पाउने नपाउने, निर्वाचन आचार संहिताकाे समयमा पालिकामा करारमा कार्यरत कर्मचारीहरुकाे म्याद थप गर्न मिल्ने नमिल्ने, निर्वाचनकाे समयमा आयाेगले मिडिया अनुगमन गर्न सेना/प्रहरी परिचालन गरेकाे, मतपत्र कहिले उपलब्ध हुने तथा कति र कस्ताे रङ्गका हुने, मत कसरी दिनेलगायतका जिज्ञासा आएकाे आयाेगले जनाएकाे छ ।
मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ५ सय ५० जनाकाे उम्मेदवारी खारेज भएकाे छ । निर्वाचन आयाेगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे लागि दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका ५ सय ५० व्यक्तिको उम्मेदवारी खारेज गरेकाे हाे ।
समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४ सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३ सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका १ र कालोसूचीमा रहेका १ जनाको नाम पनि हटाइएको छ ।
निर्वाचनकाे लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ को नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।
मकवानपुर । नेपाली कांग्रेसको घोषणापत्र सोमबार सार्वजनिक हुने भएको छ ।
कांग्रेसले आज आइतबार घोषणापत्र सार्वजनिक गर्ने भनेता भोलि सोमबार सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसले एक विज्ञप्ति सार्वजनिक गर्दै सोमबार विहान घोषणापत्र सार्वजनिक हुने जनाएको हाे ।
कांग्रेसद्वारा आज प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ नेपाली कांग्रेसको संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको थियो ।’ ‘तर कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा जानकारी गराइन्छ।’
