मकवानपुर । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कल सेन्टर सञ्चालनमा ल्याएकाे छ । गत असाेज २८ गतेदेखि सञ्चालनमा आएकाे पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका मध्ये १ हजार २५ जिज्ञासाकाे सम्बाेधन गरिएकाे हाे ।
कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल १ हजार ५ सय २ कलमध्ये १ हजार १ सय ९७ वटा कल रिसिभ भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । साे मध्ये १ हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको आयाेगले जानकारी दिएकाे हाे । उक्त अवधीमा १ सय ७२ वटा कल मिस्ड भएका थिए भने ३ सय ५ वटा भ्वाइस मेल आएकाे समेत आयाेगले बताएकाे छ । अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको आयाेगले जनाएकाे छ ।
कल सेन्टरमा पालिकाका जनप्रतिनिधिहरुले निर्वाचनकाे प्रचार प्रचारप्रसार गर्न पाउने नपाउने, निर्वाचन आचार संहिताकाे समयमा पालिकामा करारमा कार्यरत कर्मचारीहरुकाे म्याद थप गर्न मिल्ने नमिल्ने, निर्वाचनकाे समयमा आयाेगले मिडिया अनुगमन गर्न सेना/प्रहरी परिचालन गरेकाे, मतपत्र कहिले उपलब्ध हुने तथा कति र कस्ताे रङ्गका हुने, मत कसरी दिनेलगायतका जिज्ञासा आएकाे आयाेगले जनाएकाे छ ।
