मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिने आश्वासन दिएका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिदै पत्रकारिताको गुणस्तरिय विकासमा बागमती प्रदेशले आफनो तर्फबाट योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् । उनले भने– “गुणस्तरिय पत्रकारिताको विकासमा तपाईहरुले पनि आ आफनो ठाउँबाट योगदान गर्नु हुने अपेक्षा राख्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आवाज विहिनहरुको आवाज उठाइरहने प्रेरणा तपाईहरुलाई पनि मिलिरहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।”
‘भविश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले बुधबार प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले सन १९९३ मा घोषणा गरेपछि हरेक बर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइदै आइएको छ । यस अवसरमा बागमती प्रदेश सरकारका तर्फबाट मन्त्री श्रेष्ठले बागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
यस अवसरमा नेपालको संविधान २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेको उनले बताए । “१०४ बर्षे राणा शासन, तीस बर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाई हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेका छौं” उनले भने ।
उनले “स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी विश्वस्त छौ ।” बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहेको तर नियन्त्रण गर्ने द्येय नभएको उनले बताए ।
नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रवद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेको दाबि उनले गरे ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।
संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णयलाई पार्टीको संसदीय दलले अनुमोदन गर्नेछ । नागरिकता विवादमा लामिछानेको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।


मकवानपुर । नगरकाे विकासमा टाेल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
हेटौंडा ४ स्थित पृथ्वीपथ टाेल विकास संस्थाकाे साधारण सभामा वडा अध्यक्ष सिग्देलले राजनीतिक संकिर्णता भन्दा माथि उठेर विकासलाई बुझ्नुपर्ने र यसकाे वास्तविक प्रतिनिधित्व टाेल विकास संस्थाले गर्नसक्ने बताए । सामाजिक अभियानमा जाेड दिनुपर्ने बताउदै टाेल विकास संस्थाकाे परिचालनद्वारा जनतालाई शसक्तिकरण गर्न सकिने र विकासमा जनसहभागीता गराउन मद्दत गर्ने उनले बताए ।
जनताकाे सचेतना तथा शसक्तिकरण विना विकास दिगाे र प्रभावकारी हुन नसक्ने भन्दै उनले टाेल विकास संस्था सशक्त हुनुपर्ने बताए ।
पृथ्वीपथ टाेविस अध्यक्ष चन्द्राकान्त श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभामा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपाध्यक्ष शान्ति श्रेष्ठ, ४ नं. वडा ईन्चार्ज उर्मिला रानाकाे उपस्थिति रहेकाे थियो ।
पाँच महिनाको अन्तरालमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनले पुराना भनिएका राजनीतिक दलको अवस्था थप कमजोर बनाइदिएको छ । ४ मंसिर २०७९ र १० वैशाखमा सम्पन्न निर्वाचनको परिणामले छोटो समयमा नयाँ दलप्रतिको आकर्षण भने बढेको देखाएको छ ।
४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएपछि पुराना भनिएका दलप्रति नागरिकको विश्वास घट्दो रहेको देखाएको हो ।
सो निर्वाचन क्षेत्रबाट निर्वाचित पौडेल अहिले देशको राष्ट्रपति छन् । उनी राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुने अवस्था आएको थियो । राष्ट्रपतिको आँगन मानिएको सो क्षेत्रमा गोरखाबाट झरेर नयाँ उम्मेदवारका रूपमा मैदानमा पुगेका वाग्ले निर्वाचित बनेका हुन् ।
तनहुँँ १ मा ४ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २० हजार १ सय मत प्राप्त गरेको थियो भने प्रत्यक्षतर्फका उम्मेदवार पौडेलले २५ हजार ३ सय ६१ मत पाएका थिए । यसपटक कांग्रेससहित सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गोविन्द भट्टराईले प्रत्यक्षतर्फ जम्मा २० हजार १ सय २२ मत पाए ।
तर, विजयी उम्मेदवार रास्वपाका वाग्लेले ३४ हजार ९ सय १९ मत पाए । यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने रास्वपाले सो निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ६ हजार ४४ मत र समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत पाएको थियो ।
यसैगरी, यसपटकको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाएका हुन् । यसअघि सो क्षेत्रमा एमाले उम्मेदवारले प्रत्यक्षतर्फ १९ हजार ९ सय ८१ र समानुपातिकतर्फ एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो ।
विगतको निर्वाचन परिणामलाई हेर्दा तनहुँमा कांग्रेस र एमाले दुवै दलले आफ्ना उम्मेदवारले पाएको मत गुमाएका छन् । कांग्रेसले ४ मंसिरको निर्वाचनमा भन्दा यसपटक प्रत्यक्षतर्फ ५ हजार २ सय ३९ मत गुमाएको छ भने एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ । विगतको परिणामलाई आधार मान्दा सो क्षेत्रमा रास्वपाले उपनिर्वाचनमा २८ हजार ७५ मत बढाएको छ ।
तनहुँ १ मा ४ मंसिरमा १ लाख २३ हजार ३ सय ५ मतदाता थिए भने उपनिर्वाचनमा १ लाख २३ हजार ४ सय ९० मतदाता कायम भएका थिए ।
राजनीतिक विश्लेषक हरि रोक्का ४ मंसिरको निर्वाचन र १० वैशाखको उपनिर्वाचनले जनताको भरोसा पुराना दलमाथि भन्दा नयाँ दलमाथि देखिएको बताउँछन् ।
‘जनताले पुराना राजनीतिक दलमाथिभन्दा नयाँ दलमाथि भरोसा देखाएको देखिन्छ, जनतामा पुराना भनिएका दलले काम गरेनन् भन्ने बुझाइ भयो, अब नयाँ भनिएका दलले कस्ता कार्यक्रम ल्याउँछन् उनीहरूको स्थायित्व त्यसैमा निर्धारित रहन्छ,’ राजनीतिक विश्लेषक रोकाले राजधानीसँग भने ।
चितवनमा पनि उस्तै
४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ बाट रास्वपाका उम्मेदवार रवि लामिछाने निर्वाचित बनेका थिए । यसपटक पाँच महिनापछि भएको उपनिर्वाचनमा पनि सो क्षेत्रमा लामिछानेले नै बाजी मारेका छन् । उनले अघिल्लोपटक भन्दा यसपटक आफ्नो मतान्तर बढाउँदै पुराना भनिएका दललाई थप चुनौती दिएका छन् । लामिछानेको नागरिकता विवादसम्बन्धमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो भने उनले पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रिया पूरा गरेपछि उनी पहिले आफू निर्वाचित भएकै क्षेत्रमा उम्मेदवार बनेका थिए ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए । तर, ५ महिनापछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत मात्र पाए । श्रेष्ठले पाएको मत यसअघिको भन्दा ३ हजार ७ सय ७४ कम हो ।
यस्तै, त्यसबखत एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले प्रत्यक्षतर्फ १४ हजार ६ सय ५२ मत पाएका थिए । यसपटक उपनिर्वाचनमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाए । पोखरेलले पाएको मतभन्दा न्यौपानेले पाएको मत ३ हजार ७ सय १६ कम हो ।
रास्वपाका उम्मेदवार लामिछानेले भने यसपटक ५४ हजार १ सय ७६ मत पाए । उनले ४ मंसिरको निर्वाचनमा ४९ हजार ३ सय मत पाएका थिए । उनले ५ महिनाअघि पाएको मतभन्दा उपनिर्वाचनमा पाएको मत ४ हजार ८ सय ७६ ले बढी हो ।
४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ मा १ लाख २४ हजार २ सय १४ मतदाता थिए । यसपटक उपनिर्वाचनमा १ लाख २४ हजार ६ सय ९५ मतदाता कायम भएका थिए ।
जसपा नाफामै
४ मंसिरको निर्वाचनमा बारा २ मा नेकपा एमाले र जसपाको गठबन्धन बनेको थियो । वर्तमान सत्ता गठबन्धनमा रहेको जसपा त्यसबखत वर्तमान गठबन्धनको विपक्षमा थियो ।
तर, अहिले भने जसपा कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा छ । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दै १० वैशाखमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा विजयी बनेका हुन् । यसअघिसमेत सो क्षेत्रबाट जसपाकै रामसहायप्रसाद यादव निर्वाचित बनेका थिए भने उनी उपराष्टपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुने अवस्था बनेको थियो ।
सो क्षेत्रमा हाल जसपा अध्यक्ष यादव १३ हजार ८ सय २२ मत ल्याउँदै निर्वाचित बनेका हुन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहलाई पराजित गरेका हुन् । कुसवाहले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् ।
बारा २ मा यादवसँगै एमालेबाट पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेल प्रतिस्पर्धामा थिए । बारा २ मा ४ मंसिरमा १ लाख ५ हजार ११ मतदाता थिए भने हाल उपनिर्वाचनमा सो क्षेत्रमा १ लाख ५ हजार २ सय ९८ मतदाता कायम थिए । राजधानी दैनिकबाट
मकवानपुर । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको हाे । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगाराम श्रेष्ठले जानकारी दिए ।
बुधबारकाे बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य सहित ३ वटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।