मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भीमफेदी २ का विपन्न तथा चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेका छन ।
भीमफेदी २ पुरानो गाउँ, दमार र चौकीडाँडा टोलका गरिव, विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई प्रतिघरधुरी ३० किलोको एक बोरा चामल वितरण गरिएको हो ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहको बताए । ‘वर्षातको समयमा गरिब र विपन्न जनतालाई राहत हुने भएकोले सहयोग गरेको उनले बताए।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिका २ का वडासभापति मञ्जु थापाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको खाद्यन्न बितरण कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय राजन भट्ट र प्रज्वल दवाडी, कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि शेरबहादुर परियार, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज खतिवडा, भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, सम्बृृद्ध आधार नेपालका केन्द्रीय उपाध्यक्ष दीपा पौडेल बानियाँ, काग्रेस मकवानपुर २ क का क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौ । विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो ।
प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले उनको राजीनामासमेत माग गरेको छ । प्रधानमन्त्री दाहालको भनाइलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठक अवरोध गर्दा प्रतिनिधिसभाको अर्काे बैठक शुक्रबार र राष्ट्रिय सभाको बैठक बिहीबार बस्नेगरी स्थगित गरिएको छ ।
उनको यस अभिव्यक्ति दाहाललाई सत्ताच्युत गराउन प्रमुख विपक्षी एमालेलाई राम्रो मसलासमेत बन्ने निश्चितप्रायः छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालको यो पछिल्लो भनाइको चर्काे विरोध गरेका छन् । प्रधानमन्त्री दाहालले यस’बारे जवाफ दिएर मात्रै नहुने, राजीनामा नै दिनुपर्ने ओलीको भनाइ छ ।
बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय रहेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ एमाले अध्यक्ष ओलीले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहिन्छ, प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दैगर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमाथि, संविधानमाथि, संसद्माथि घोर अपमान हुने यस्तो खालको अभिव्यक्ति दिनुभयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ ।’
बुधबारको दुवै संसद्का बैठकमा पनि एमालेका सांसदहरू प्रधानमन्त्री दाहालको भनाइलाई लिएर खनिए । एमालेका प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री दाहाललाई लेन्डुप दोर्जेको नेपाली संकरणको उपाधिसमेत दिन भ्याएका छन् । ‘आज बादल लागेको छ, तर अहिले मौसम मात्रै उदास छैन, नेपालीहरूको मनमा पनि बादल लागेको छ, सम्माननीय प्रधानमन्त्री पनि नभनुँ कि जस्तो लाग्छ, नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि दिल्लीतिर जाने ?’
प्रधानमन्त्री दाहालले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाउन भूमिका खेलेको विवादित अभिव्यक्ति दिएको विरोधमा एमालेसहितका दलहरूले संसद् बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टालाई स्थगित गरेका थिए । तर, स्थगित बैठक शुक्रबार मात्रै बस्नेगरी बोलाइएको छ ।
बुधबार आधा घण्टापछि बस्नेगरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक भोलि शुक्रबार २२ असार २०८० मा दिनको ३ः०० बजे बस्नेगरी निर्धारण गरेको सूचना संसद् सचिवालयद्वारा प्रकाशित गरिएको थियो ।
उता, बुधबार राष्ट्रिय सभा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा माग गरेका थिए । आफूहरूको माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने अडान एमाले नेता दाहालले राखेका थिए । उनले प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले त्यस्तो प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहो-याएका थिए ।
‘हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ, हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ ? कसको इसारामा हुन्छ ? प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्नुभएको छ, दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनुभएको छ, यो कुरा नेपालका लागि शीर निहु¥याउने विषय हो, उहाँ स्वयंले यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं, हामीलाई लज्जाबोध भएको छ, हामी कुन देशका नागरिक हौँ ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यस देशका सार्वभौमसत्ता सम्पन्न संसद्ले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ?’ राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता दाहालले भने, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन, त्यस्ता प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन ।’
त्यसो त सरकारकै प्रमुख घटक नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसद्को सम्मान गर्नसक्नुपर्ने बताए ।
‘संसद्को सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ, प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ, उहाँले गलत बोल्नुभएको छ,’ उनले भने ।
सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले पनि प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंह’बारे दिएको अभिव्यक्ति गलत रहेको बताएका छन् । प्रधानमन्त्रीले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनको भनाइ थियो ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्रीले यस सम्बन्धमा संसदमा स्पष्टीकरण दिनुपर्ने मागसमेत गरेका छन् । एमालेसहितका विपक्षी दलहरूले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्रीले संसद्मा उभिएर त्यस’bout स्पष्ट पार्नुपर्ने भन्दै उनले भने, ‘यस सन्दर्भमा प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेला केही कुरा बोल्नुभएको थियो, त्यसमा उहाँहरूले आपत्ति जनाउनुभयो, अब प्रधानमन्त्रीले हाउसमा आएर स्पष्ट बनाइदिनुपर्छ ।’
प्रधानमन्त्री दाहालले भने सञ्चारमाध्यममा आएको जस्तो अभिव्यक्ति नदिएको प्रष्टीकरण दिएका छन् । बुधबार माओवादी भ्रातृ संगठन अनेरास्ववियुको कार्यक्रममा उनले आफूले त्यस किसिमको अभिव्यक्ति नै नदिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री दाहालले कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएता पनि त्यही अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाए ।
त्यसो त माओवादीका अरू नेताहरू पनि प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उत्रिएका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार सञ्चारकर्मीसँग प्रधानमन्त्री हुन भारत जानुपर्छ भनेर प्रधानमन्त्री दाहालले भन्नुभएको नदेखिएको बताए । ‘कुनै व्यक्तिले आफ्नो सोचअनुसार भारतलाई पनि मिलाइदिनुपर्छ कि क्या हो भनेर दौडनुभयो भने त्यो उहाँहरूको कुरा हो, प्रधानमन्त्रीले मलाई प्रधानमन्त्री बनाउन भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नुभएको छैन, हाम्रो प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री हो ।’ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस सम्बन्ध प्रधानमन्त्रीले प्रस्ट पार्ने बताए । राजधानी दैनिकबाट
मकवानपुर । लामो समयको अवरोधपछि मंगलबारबाट नियमित भएको बागमती प्रदेश सभा बैठकमा कृषकलाई मलको व्यस्थापन गरी सरकार रहेको आभाष दिलाउन सांसदहरुले माग गरेका छन् ।
सभाको सुन्य समयमा बोलेका २३ जना सांसदहरु माध्ये अधिकांशले कृषकलाई मालको व्यवस्था गर्न माग गरेका हुन् । “अघिल्लो समयभन्दा यो वर्ष यसैपछि धान रोपाइमा ढीलाई भएको छ, त्यसमाथि मलको अभावले किसानलाई छटपटीमा छन्, सरकारले सरकार हुनुको आभाष कहिले दिने” सांसद मधुसुदन पौडेलले भने “सरकारले रासायनिक मलको व्यवस्था तत्काल गरोस् ।”
यसगरी सांसद भारतीकुमारी पाठकले किसान ५ किलो मलको लागि सिङगो दिन खर्चिन बाध्य भएको बताउँदै, प्रदेश सरकारले स्थानीयसँगको समन्वयमा गएमा समस्या समाधान गर्न सक्ने सुझाव दिइन् । उनले भनिन् “बागमती प्रदेशको ४ हजारदेखि ४५ सय सामुदायिक वन भित्रको कच्चा पदार्थबाट मल बनाउन संभाव छ, यसका लागि प्रदेश सरकार जिम्मेवार बन्नु पर्छ र यसबारे अनुदानको व्यवस्था भएमा १ महिनाभित्र मल उपलब्ध गराउन सकिन्छ ।”
यसैगरी अर्का सांसद मधुकुमार श्रेष्ठले आफूहरुले किसानको समस्यालाई चाहेर पनि सम्बोधन गर्न नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । “गाउँ जाँदा मल दिन नसक्ने माननिय भनेर गाली गरिरहेको अवस्था छ” उनले भने । अर्का सांसद रामकुमार पाहाडीले मलको कालो बजारी रोक्न प्रदेश सरकार गम्भिर हुनु पर्ने बताए ।
बागमती प्रदेशमा मंगलबारसम्मको तथ्याङक अनुसार १३ प्रतिशत धान रोपाइ सकिएको छ । रासायनिकको उपलब्धता सहज नहुँदा किसानहरु मारमा छन् ।
संसदको सुन्य समयमा सांसदहरु ओम कुमारी श्रेष्ठ, अमर कुमार मास्के, आनन्द कुमार श्रेष्ठ आशा लामा, इश्वर सापकोटा, एकालाल श्रेष्ठ, किरण थापा मगर, कृष्णप्रसाद सिलवा, गिता काफ्ले, जयराम थापा, डाक्टर दिनेशचन्द्र देवकोटा, निरोज बज्रचार्य, प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जन, मधुकुमार श्रेष्ठ, यमुनादेबी श्रेष्ठ, रामेश्वर श्रेष्ठ, सुरेशचन्द्र लामिछाने, रमेशकुमार महतोलगायतले वर्षाको समयमा प्रकोपको जोखिम बढेको, कतिपय स्थानमा प्रकोपको कारण जनजीवन प्रभावित भएको अवस्था प्रदेश सरकारको ध्यानाकर्ष गराएका थिए । विपद जोखिम न्यूनिकरणको सवालमा प्रदेश सरकारको चासो कम भएको उनीहरुले बताए ।
यसैगरी संघीय राजधानी काठमाडौबाट हेटौंडा आउने फपिङ फाखेल भैसे हुँदै हेटौंडा आउने छिटो निर्माणमा ढीलाइको भएप्रति पनि सुन्य समयमा सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको सुन्य समयमा मुख्यमन्त्री शालिराम जमकट्ट महालेख परीक्षकको कार्यायलको ५ औ वार्षिक प्रतिवेदन २०७९ सभामा पेश गरेका थिए । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री बाहादुर सिं लामाले आर्थिक वर्ष २०८० । ०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि सभामा विचार गर्न पेश गरेका थिए । उक्त विधेयक बहुमतले स्वीकृत भएको छ ।
सांसदको सून्य समयभन्दा अघि पूर्व कृषि मन्त्री केशवप्रसाद पोखरेल र नेकपा एमालेका सांसद कृष्णप्रसाद सिलवालले संसदमा यसअघि शुन्य समय र विशेष सममयमा गरिएका प्रश्नको जवाफ माग गरेका थिए । उनीहरुले संसदको नियम ५७ मा उल्लेख भए बमोजिम जवाफ दिन माग गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकार अन्ततः समानुपातिक बजेट वितरणमा तयार भएको छ ।
सरकारले बजेट वितरण असमान गरेको भन्दै संसद अवरोध गर्दै आएको थियो । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ ।
प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको हो । गत असार १२ गतेबाटको बागमती प्रदेशसभा बैठकको अबरोध हटाउन प्रतिपक्ष दलहरु तयार भएका हुन् ।
सरकार र प्रतिपक्ष दलबिच समानुपातिक बजेट बाँडफाँडमा सहमति जुटेपछि आजबाट प्रदेशसभा बैठकको नियमित हुने भएको हो ।
सरकारले एक पक्षिय बजेट विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले जारी राखेको बैठकको अबरोध आजबाट हटने भएको हो ।
सरकारले एकपक्षिय रुपमा राखेको बजेटलाई समानुपातिक वितरण गर्न सहमती गरेपछि प्रतिपक्ष दलहरुले अबरोध हटाउने भएका हुन् ।
यद्यपि सरकार पक्षका सांसदहरूले पनि बजेट असमान वितरण भएको बताउँदै आएका छन् । संसदमा छलफल चलेपछि आफ्नो तर्क राख्न पाउने भएकोले सांसदहरू छलफलमा जान तयार भएक हुन् ।
मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने भएकाे छ । हिजाे साँझ छ बजे बाेलाइएकाे दाेस्राे बैठक पनि बस्न नसकेपछि आज ११ बजेलाई बाेलाइएकाे हाे । प्रतिपक्षीले आज पनि विराेध कै तयारीमा छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीको अवरोधका कारण स्थगित गरिएको हो । जसकाे कारणा हिजाे पनि दुई पटक बाेलाइएकाे बैठक बस्न सकेन । विपक्षी दल र सत्तापक्षबीच सहमति जुट्न नसकेपछि गत मङ्गलबार र बुधवारको बैठक स्थगित भएको थियो ।
आव २०८०/०८१ को बजेट असन्तुलित र भेदभावपूर्ण भएको भन्दै एमाले, राप्रपा,नेमकिपाले बजेटको विरोध गर्दै आएका छन् । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले- सदन सञ्चालन गर्न प्रतिपक्षीसँग छलफल भैरहेको बताए । उनले प्रतिपक्षीले आरोप लगाएजस्तो सत्तापक्षले बजेटमार्फत प्रतिपक्षीलाई दमन गर्न नखोजेको कुरा प्रष्ट पारेका छन् ।
बजेट सत्तापक्ष, प्रतिपक्ष सबैको भएको हुनाले प्रतिपक्षलाई जिम्मेवार बनेर सदनमा प्रस्तुत हुन उनले अनुरोध गरे । प्रतिपक्ष गैरजिम्मेवार भएर सदन अवरोध मात्रै गरिरहे सरकार विधिमा जान बाध्य हुने प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।