मकवानपुर । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अघि नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री थिए । अधिकारी दाेस्राे कार्यकालकाे लागि मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मकवानपुर । बागमती प्रदेशकाे चितवन, रसुवा र दोलखा जिल्लामा ४ जनाको मृत्यु भएको छ । ति जिल्लामा पछिल्लो २४ घण्टामा विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर १ जना महिलाको मृत्यु भएको छ ।कालिञ्चोक गाउँपालिकाको पुस्टियाङबाट सिंगटीनर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कालिञ्चाेक २ बाबरे बस्ने ३६ वर्षीय सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो भने ४ जना घाइते भएका प्रदेश प्रहरीले जनाएकाे छ । ट्याक्टर चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा बेहोस अवस्थामा भेटिएका एक विदेशी नागरिकको मृत्यु भएको छ । लाङटाङ घुमेर फर्किने क्रममा बेहोस भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् । उनको नाम, थर र देश खुलिनसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका ३ मा १ जना व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको प्रदेश प्रहरीकाे भनाई छ । प्रहरीका अनुसार उनको शव भरतपुर अस्पतालमै रहेको र नाम, थर र ठेगाना खुलेको छैन । चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार नै मदन भण्डारी राजमार्ग अन्तरगत हेटौडा– सिन्धुली खण्डका भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १२ च ६४७४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको स ९ प ३५२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा कार चालक ईश्वर पौडेलसहित ३ जना घाइते भएका हुन् । चालक पौडेललाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुरको जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
मकवानपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गते आइतबारदेखि हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने भएकाे हाे ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ भने पुरुष फुटबल हेटौंडास्थित गौरीटार रङ्गशालामा हुने भण्डारीले बताए । प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरिने कार्यक्रम रहेकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले पुर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पुर्णता पाएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिइएकाे हाे । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठले भने पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यो सँगै गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेकाे ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएकाे हाे । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए ।
सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ गराइएको र एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ ।
सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् । आफूलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार आलेले प्रदेशसभा बैठकमा भग लिन समेत आनाकानी गरेको बताइन्छ । मन्त्री बनाउने आश्वासनपछि मात्रै आले बैठकमा सहभागी हुन काठमाडौबाट हेटौंडा आएकी थिइन् ।
१ सय १० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासकाे मत प्राप्त गरेका थिए । ५६ जनाले विश्वासको मत दिएपछि उनकाे सरकारले निरन्तरता पाएकाे छ ।
बागमती प्रदेशका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेकाे छ । ती मन्त्रायलमा क्रमशः गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मुक्तान मन्त्री छन् । मुख्यममन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय समेतकाे कार्यभार सम्हाल्दै आएका छन् ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया चैत १७ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् । चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।