मकवानपुर । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत मकवानपुर जिल्लामा २२ हजार ७१३ जना किशोरीलाई एचपीभी खोप लगाईने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको हाे ।
जिल्लाका विद्यालयहरुमा अध्ययनरत ६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरुलाई लक्षित गरी खाेल लगाइने भएकाे छ । विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशाेरीलाई समेत उक्त खाेप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपिभी खोप) लगाउन लागिएको हाे । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाईने भएकाे हाे । ‘पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइने प्रमुख मिजारले बताए । स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुरुप खोप डोज माग गरिएकाे बताउँदै उनले भने २२ माघदेखी २५ माघसम्म खाेप संचालन हुनेछ । केही स्थानीय तहले भने २८ माघसम्म खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।
उक्त खाेपकाे लागि संकलन गरिएकाे तथ्याङ्क अनुसार मकवानपुरमा सबैभन्दा बढी किशोरीहरु हेटौंडा उपमहानगरमा रहेकाे पाइएकाे छ। उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत ११ हजार ६८ जना र विद्यालय बाहिरका १०५ जना गरी ११ हजार १७३ जनालाई खोप लगाइने छ । यसैगरी थाहा नगरपालिकामा विद्यालयका १ हजार ८ सय १६ जना र विद्यालय बाहिरका ७३ जनागरि एक हजार ८ सय ८९ जना, ईन्द्रसरोवर गाउँपालिकामा विद्यालयका ४४८ जना र विद्यालय बाहिरका ३८ जनागरी ४८६ जना, मकवानपुरगढीमा विद्यालयका १ हजार १२ जना र विद्यालय बाहिरका ६१ जनागरी १ हजार ७३ जनालाई एचपीभी खोप लगाइने बताइएकाे छ ।
त्यस्तै, भीमफेदीमा विद्यालयका ८११ जना र विद्यालय बाहिरका ३३ जनागरी ८४४ जना, मनहरीमा विद्यालयका २ हजार २ सय जना र विद्यालय बाहिरका ६२ जनागरी २ हजार २६२ जना, राक्सिराङमा विद्यालयका ७ सय ७९ जना र विद्यालय बाहिरका १९ जनागरी ७९८ जना, कैलाशमा विद्यालयका ९२२ जना र विद्यालय बाहिरका ७९ जनागरी १ हजार १ जनालाई खोप लगाइने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । यसैगरी बागमतीमा विद्यालयका १ हजार ३०७ जना र विद्यालय बाहिरका ३२ जनागरी १ हजार ३३९ जना र बकैयामा विद्यालयका १ हजार ६९६ जना र विद्यालय बाहिरका १ सय ५२ जनागरी १ हजार ८४८ जना किशोरीलाई खोप लगाइने उनले बताए ।
‘जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौं, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौं’ प्रमुख मिजारले भने । जिल्लाका सवै स्वास्थ्य चौकी तथा केन्द्रहरुले समेत पालिका तथा वडामा अभिमुखीकरण कार्यक्रम गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका सवै स्वास्थ्य केन्द्रमा मंगलबार अभिमुखीकरण गरिएकाे छ ।
अभियानमा सिकोलिन नामक खोप लगाइने बताउँदै मिजारले भने ‘स्वास्थ्यकर्मीबाट ०.५ मिलि खोप मासुमा लगाउने खाेप हाे ।’ यो खोप नेपाल सरकारले आव ०८२/०८३ देखी नियमित रुपमा लगाउने गरी तयारी गरेकाे बताइएकाे छ । सरकारी तयारी पुरा भए आगामी वर्षहरुमा १४ वर्ष माथि उमेरसमूहलाई पनि खोप लगाउने गरी आउने उनले जानकारी दिए ।
यसैगरी बागमती प्रदेशमा भने २ लाख ९८ हजार ५५९ जनालाई उक्त खोप लगाइने छ । खाेप विद्यालयका ६ कक्षादेखि १० कक्षाका २ लाख ७५ हजार ७१ जना किशाेरी तथा विद्यालय बाहिरका २३ हजार २३४ जना किशोरीलाई लगाइने लक्ष्य रहेकाे स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए । उक्त भाइरस पुरुषकाे कारण सर्ने समेत बताइएकाे छ ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सय महिलाको निधन हुने गरेको जनाइएको छ । खाेप अभियान २२ माघदेखि ६ फागुनसम्म देशैभरी संचालन हुनेछ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा प्रदेशस्तरीय शैक्षिक सामग्री प्रदर्शनी भएको छ । सोमबार भएको प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनीमा काभ्रे धुलिखेलको सेतीदेवी मावि प्रथम भएको छ ।
शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय, खैरहनी द्वितीय, सिन्धुपाल्चोको कृष्णरत्न गंगा मावि तृतीय भएका थिए । यस्तै धादिङको पासाङचोक महादेव मावि सान्त्वना भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदान उक्त विद्यालयहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका एक/एकवटा माध्यमिक विद्यालयको प्रदर्शनी राखिएको थियो ।
१ जना मेन्टर शिक्षक र २ जना विद्यार्थीले सहभागिता जनाएका प्रदर्शनीमा विद्यालयले सामाजिक, विज्ञान, गणित, नेपाली र अंग्रेजी त्रिआयामिक शैक्षिक सामग्रीहरु, मोडेल र विभिन्न अवधारणालाई मूर्त रुप दिने व्यवहारिक सामग्रीहरु प्रदर्शनी गराएका थिए । सहभागी १३ वटा विद्यालयका विद्यार्थी र शिक्षकलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले विद्यालयहरुले शैक्षिक सामग्री सहित पठनपाठन गराउन यस्ता प्रदर्शनीहरु फलदायी हुने बताइन् । ‘मूर्त बस्तुसहितको शैक्षिक सामग्रीले विद्यार्थीको सिकाइ अभिवृद्धि गर्नेछ’ उनले भनिन् ।
शिक्षा विकास निर्देशनालय, हेटौंडाका महानिर्देशक खुबीराम अधिकारीको अध्यक्षतामा तथा मन्त्री खड्गीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पवित्रा तिमल्सेना, बालकुमार श्रेष्ठ, सुवास खनाल, सरस्वती अधिकारी निर्देशनालयका सूचना अधिकारी धनश्याम खनाल लगायतको सहभागिता रहेको थियो ।
चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेश अधिवेशन चितवनमा हुने भएको छ ।
प्रदेश कमिटिको दोश्रो अधिवेशन ७ फागुनमा चितवनमा गरिने भएको चौतारी बागमती अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए। प्रदेश कमिटिको ५ माघमा चितवनमा बसेको पूर्ण बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष खतिवडाको संयोजकत्वमा कार्यसमिति र १० वटा जिल्लाका अध्यक्ष रहने गरी मुल समिति गठन गरिएको कमिटिका महासचिव प्रकाश दाहालले जानकारी दिए ।
अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत काम भइरहेको छ । बागमती प्रदेशका १० जिल्लामा प्रतिनिधी छनौटको काम भइरहेको छ । अधिवेशनमा ४ जनालाई प्रेस चौतारी बागमती पुरस्कार र उत्कृष्ट शाखालाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनको लागि कोषाध्यक्ष प्रज्वल पौडेलको संयोजकत्वमा सचिवालय सदस्य गोविन्द घिमिरे, सुनिल पौडेल र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डित रहनेगरी आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ ।
प्रदेश सचिवालय सदस्य दिपेन्द्र अधिकारीको संयोजत्वमा मकवानपुर ईन्चार्ज रामशरण दुलाल र सदस्य लक्षमण गौतम रहेको प्रतिनिधि ब्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रदेश सदस्य आरती ढकालको संयोजकत्वमा प्रदेश कमिटि सदस्य रोहिणी त्रिपाठी र रामचन्द्र रुपाखेती रहेको अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
यसैगरी चितवन इन्चार्ज रामकान्त पौडेलको संयोजकत्वमा लक्ष्मण गौतम र कृष्ण खनाल रहेको भोजन तथा आवास उपसमिति गठन गरिएको छ । प्रदेश सचिव विदुर पौडेलको संयोजकत्वमा सचिवालय सदस्य विवश अधिकारी र नविन तिमल्सिना रहने गरि सम्मान तथा पुरस्कार व्यबस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै सचिव वासु श्रेष्ठको संयोजकत्वमा काभ्रे इन्चार्ज केदार तिमल्सिना,प्रदेश सदस्य सिमोन न्यौपाने, श्रीराम अधिकारी सहित १० जिल्लाका अध्यक्ष रहनेगरी प्रचार प्रसार उपसमिति गठन गरिएको छ । प्रदेश कमिटिका सदस्य मधुसुधन दवाडीको संयोजकत्वमा होमनाथ सापकोटा र बालकृष्ण अधिकारी रहने गरी प्रस्तावना लेखन समिति गठन गरिएको छ ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक ४ महिना पछि बस्ने भएकाे छ । प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन १८ माघमा आह्वान गर्ने निर्णय गरेसँगै ४ महिना पछि प्रदेश सभाकाे बैठक संचालन हुने भएकाे हाे ।
गत १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो ।शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले १८ माघ २०८१ बिहान ११ बजेका लागि प्रदेश सभाको १५ औँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाकाे अधिवेशन आह्वान गर्ने छन् । १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण तथा कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए । उनका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिएको उनले बताए ।
यसैगरी बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको छ । यसैगरी प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ । बैठकले प्रदेश भवन नीति, २०८१ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको उनले जानकारी दिए ।
मौलाकालिका, नवलपुर । पत्रकारको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न प्रेस चौतारीले माग गरेको छ । समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।
पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामाको प्रमुख आतिथ्यमा तेस्रो पूर्ण बैठक बसेको हो । जारी घोषणापत्रमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ ।
घोषणापत्रमा भनिएको छ “विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।” स्वरोजगाार मिडियाको संरक्षण र प्रवर्द्धनका लागि विशेष जोड दिंदै घोषणापत्रमा अगाडि भनिएको छ “स्वरोजगार मिडियाको संरक्षण प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ ।
साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ ।” स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता/ नविकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन समेत बैठकले माग गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई समेत ज्ञापन गरिएको छ ।
प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प पनि बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ “पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौं ।”
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ “सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौं । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पुर्याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौं ।”
चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन), प्रेम दाहाल (सिन्धुली)ले तयार गरेकाे घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महत लगायतको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले माग समेत गरेको छ ।