मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश प्रदान गर्नुभएको छ ।
बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएकाे हो ।
नयाँ वर्ष २०८२ काे उपलक्ष्यमा शुभकामना सन्देश प्रकाशित गर्नु हुँदै प्रदेश प्रमुख देवकाेटाले भन्नु भएकाे छ “नयाँ वर्ष भित्तेपात्रो फेरिने विषयमा मात्र सीमित नरही आम नेपालीको जीवनस्तर सुदृढ हुने गरी नेपालीको ओठमा मुस्कान लिएर आउनेछ भन्ने अभिलाषा लिएको छु।”
“यो वर्षले उत्साह र कर्मशीलता बोकेर हामी सबैलाई सभ्य र अनुशासित बनाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा दिने अपेक्षा राखेको छु” उहाँले सन्देशमा भन्नु भएकाे छ ।
देशलाई अस्थिरता र अन्तहीन द्वन्द्वको दिशामा धकेल्ने प्रवृत्ति र क्रियाकलापका विरुद्ध एकजुट हुन नयाँ वर्षले सबैलाई ऊर्जा गर्ने विश्वास उहाँले लिनुभएको छ ।
समयबाट सबैले पाठ सिक्दै, उद्यमशीलताको विकास गरेर परनिर्भरतालाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनु भएकोछ ।
विश्व परिवेशमा आएको उतारचढावले आत्मनिर्भर बन्न, स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएर आयातलाई कम गर्दै निर्यातमुखी अर्थतन्त्रको दिशामा अघि बढ्न मौका र चुनौती थपेको देवकोटाले उल्लेख गर्नु भएको छ ।
सकारात्मक सोच राखेर मात्र नहुने र यसको लागि सकारात्मक कार्य गर्नुपर्ने उहाँको भनाइ छ। “क्रिया अर्थात् सकारात्मक कार्यमा परिवर्तन नहुने सोच विष सरह हुन्छ” उहाँले शुभकामना सन्देशमा भन्नु भएकाे छ ।
वि.सं. २०८१ अब इतिहासको रूपमा रहेको सन्दर्भमा विगतका कमीकमजोरीलाई अन्तिम कमीकमजोरी ठानेर आ-आफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न सबैलाई वि.सं. २०८२ ले मार्गदर्शन गर्नेछ उहाँको विश्वास छ ।
मकवानपुर । बागमती प्रदेशको ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा १३ करोड ८१ लाख रुपैयाँमा अस्पताल निर्माण गरिएको छ ।
अस्पतालको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका छन् । गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले जनताको स्वास्थ अधिकारलाई सम्बोधन गर्न सरकार सधै तत्पर रहेको बताए ।
प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । भवन मात्र भएर नहुँने बताउँदै मन्त्री श्रेष्ठले चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली पनि सँगै हुनुपर्ने बताए ।
कोभिड १९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्सलगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ। यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ ” मन्त्री थापाले भने ।
सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको उनले जानकारी दिए। स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको स्थानयहरुले बताएका थिए। मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् । थप १ रोपनी सरकारी जग्गा र २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो । २०७८ भदौ २३ गते निर्माण कम्पनीसङ्ग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।
मकवानपुर । नेपाल आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
४ वर्षमा सरकारले आदिवासी जनजातिको सवालमा गरेको काम समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाउनु भएको हो । गुरुङले प्रदेश प्रमुख समक्ष संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०।०८१ को पाँचौ वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।
वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेश सरकार मुख्यमन्त्री र प्रमुख सचिवलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाउनु भयो । आयोगका सदस्य गुरुङले आयोगको औचित्य र महत्वलाई बुझ्न आवश्यक रहेको बताउनु भयो। आयोगको सिफारिस तीनै तहका सरकारले कार्यान्वयन नगरिएको विषय पनि प्रतिवेदनको तालिकामा समेटिएको उहाँले बताउनुभयो । आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत् सरकारलाई गरेको सिफारिस कार्यान्वयनको अवस्था प्रभावकारी नभएको गुरुङले जानकारी दिनुभयो ।
नेपालमा जनजातिको संख्या ६० रहेकोमा बागमती प्रदेशमा मात्र ४७ आदिवासी जनजाति रहेका छन् । यस्तै ७८ प्रतिशत जनजाति साक्षर रहेका छन् । कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानाको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राती १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाकाे चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हाे । प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको उनले जानकारी दिए ।
संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद प्रभावित भएको थियो । प्रदेश सभाकाे हिउँदे अधिवेशन गत १८ माघमा आव्हान गरिएकाे थियाे । २६ माघमा बसेर अनिश्चित कालकाे लागि स्थगित भएकाे बैठक २ महिना पछि मंगलबारकाे लागि आव्हान गरिएकाे भए पनि दलहरु बीच सहमति जुट्न नसक्दा संचालन हुन सकेन । आज बुधबार दिउँसो १ बजेकाे लागि बैठक बाेलाइएकाे भए पनि आजकाे बैठक समेत प्रभावित हुन सक्ने एक नेताले बताए ।
मकवापुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उहाँले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको बताउनु भएको छ । निम्न आय भएका किसान, श्रमिक र मजदुरको समुदायभित्रकै पूँजी परिचालन मार्फत् आर्थिक संकट टार्ने, उद्यमशीलता विकास गर्ने र बचतको संस्कृति मार्फत् आर्थिक उपार्जनमा मद्दत गर्ने सहकारी क्षेत्रको अभियान प्रशंसनीय रहेको प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत् समृद्ध अर्थतन्त्रको परिकल्पना गरेको छ। प्रमुख देवकोटाले सहकारीको विकास र विस्तार समृद्धिको महत्वपूर्ण पाटो हुनसक्ने कुरामा उहाँले जोड दिनु भएको छ । तर, केही व्यक्तिहरूको संलग्नतामा बचतकर्ताहरूको रकम हिनामिना गरी आर्थिक अपराध गर्ने र सम्पूर्ण सहकारी क्षेत्रलाई बदनाम गराउने क्रियाकलापहरू भएको सन्दर्भमा सहकारीकर्मीहरू सचेत र गम्भीर भई गलत प्रवृत्तिको पुनरावृत्ति हुन नदिन पहल गर्नु पर्ने समेत उहाँले बताउनु भएको छ ।
सम्बन्धित निकायले बचतकर्ताको बचत सुरक्षणमा कुनै कसर बाँकी राख्न नहुनेमा उहाँले जोड दिनुभएको छ। उहाँले सहकारी संस्थाहरू पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गरिनुपर्ने बताउनु भयो। सहकारी दिवसले सहकारीको गरिमालाई उच्च राख्न सबैलाई प्रेरणा दिने उहाँले सन्देशमा बताउनु भएकाे छ ।