मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको युसेस वचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट सहकारीहरुको अवलोकन भ्रमण सुरु गरेको छ ।
आर्थिक बर्ष २०८१। ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहकारीले मधेस प्रदेशका विभिन्न जिल्लाका सहकारीहरुको ३ दिने अवलोकन भ्रमणको आयोजना गरेको हाे । शुक्रबारबाट सुरु भएको अवलोकन भ्रमण अन्तर्गत पहिलो दिन सर्लाहीको हरिवन नगरपालिका – ११ मा रहेको सगुन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेको छ ।
उक्त अवसरमा युसेस सहकारीका अध्यक्ष उत्तम शर्मा ढकाल र सगुनका अध्यक्ष केशव प्रसाद ढकाल तथा सहकारीका व्यबस्थापक एवं सहकारीमा आवद्ध सदस्यहरुले आआफ्नो अनुभव आदानप्रदान गरेका थिए । सगुन सहकारीका प्रवन्धक रबिन्द्र रानाले सहकारीले संचालन गरिरहेका आर्थिक तथा सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विभिन्न सहकारी संस्थाहरुले गरेका कार्यहरु र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको युसेस सहकारीका उपाध्यक्ष एवं अवलोकन भ्रमणका संयोजक हयग्रीव आचार्यले जानकारी दिए । भ्रमण टोलिमा ३७ जना सहभागिता रहेका छन् ।
हाल सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् भने संस्थाको वार्षीक कारोबार साढे ८ करोड रहेको ब्यवस्थापक गिता भट्टराई पोखरेलले जानकारी दिइन् ।
मकवानपुर । गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ ।
” यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु” उहाँले सन्देशमा भन्नुभएको छ।
आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो” उहाँले सन्देशमा भन्नू भएको छ “जुन नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन हो।”
ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ ।
देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरि समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ । अभ्यासमा कहिँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चिन बाध्य भयो तर आजको युवपुस्तालाई आन्दोलन होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ” उहाँले सन्देशमा भन्नुभएको छ ।
हामीले गणतन्त्रको मूल मर्म– जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको उहाँको ठहर छ। “समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि हामी सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ” उहाँको सन्देशमा भनेको छ।
नयाँ पुस्तामा निराशाको बादल छाउनु अप्रिय कुरा भएको हुँदा कतै केही कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रनुपर्नेमा उहाँले सुझाव दिनुभएको छ।
“परिणाममुखी कार्यहरूमा जोड दिएर युवापुस्ता र आम नागरिकको विश्वास जित्नुपर्दछ, हामी यो र त्यो भनेर घटना परिघटनामा विल्कुल अलमलिनु हुँदैन, इतिहासका विभिन्न कालखण्डका जनआन्दोलनका सहिदहरूको सहादत, घाइतेहरूको आहत अनि आश्रितहरू र आफन्तको पीडालाई उपेक्षा गर्नु अक्षम्य भूल हुनेछ” सन्देशमा उल्लेख छ ।
बिशेष दिन सबैखाले अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुने दिशामा कोशेढुंगा साबित हुने विश्वास लिएको उहाँको सन्देशमा उल्लेख छ।
मकवानपुर । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्मा प्रस्तुत भएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशका सबै क्षेत्रगत नीति कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात् गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्र्थापनालाई प्राथमिकता दिने जनाएको छ ।
प्रदेश गौरवका आयोजना, बहु वर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्रै सम्पन्न गर्ने, आयोजना छनौट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीलाई तहगत आबद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति कार्यक्रम रहेको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना, प्रदेशको प्रशासनिक भवन तथा आवासको निर्माण कार्य सुरु गर्ने, प्रदेशको विद्यमान संरचना र जनशक्तिको पुनरावलोकन गरी अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र छरितो बनाउने, प्रदेश सरकारको प्रशासनिक तथा अनुगमन कार्यलाई विद्युतीय प्रणालीमा आधारित बनाउने, उच्च प्रतिफलयुक्त र आन्तरिक आयमा योगदान गर्ने आयोजनाको छनौट तथा प्रभावकारी कार्यान्वयन गरी उत्पादन अभिवृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने, वित्तीय अनुशासन अभिवृद्धि गर्दै अनुत्पादक चालु खर्चमा कटौती गरी सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, प्रदेशको राजस्वको दायरा विस्तार गर्दै राजस्व चुहावट नियन्त्रण गर्न अन्तर प्रदेश समन्वय मार्फत करका दरहरूमा एकरूपता कायम गर्ने, प्रादेशिक सडक यातायात गुरुयोजना अद्यावधिक गरी प्राथमिकताका आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरु विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ सडकका ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्ने, सडक बोर्ड ऐनलाई समयानुकूल परिमार्जन गर्न नेपाल सरकारसँग पहल गर्ने, प्रदेशस्तरीय पूर्वाधार गुणस्तर प्रयोगशालाहरू निर्माण गर्ने सरकारको नीति कार्यक्रम उल्लेख छ ।
सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागू गर्ने, ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रम अघि बढाउने सरकारको तयारी रहेको छ ।
राइड सेयरिङलाई कानून तर्जुमा गरी प्रभावकारी नियमन तथा राजस्वको दायरामा ल्याउने, निर्णय प्रक्रिया र अनुगमन तथा मूल्याङ्कन प्रणालीमा कृत्रिम बौद्धिकता (ए.आई.) र सूचना प्रविधिको प्रयोग बढाउने, विद्युतीय रूपान्तरण (डिजिटल ट्रान्सफर्मेशन) कार्य योजना तयार गरी प्रदेशलाई चाहिने विभिन्न प्रणालीहरूको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गरी प्रशासनिक सुधार एवम् गतिशीलता प्रदान गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्य योजना तयार गरी कार्यान्वयन गर्ने, नमुना वडा समाजवादी कार्यक्रम र स्थानीय तहमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना रहेको छ ।
रातोपाटीबाट
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मानव अधिकारको सवालमा चनाखो हुनुपर्ने बताउनु भएको छ ।
न्याय,समता र मानव गरिमाको सुनिश्चितता नै आधुनिक र समृद्ध राष्ट्रनिर्माणको आधारशिला भएको उहाँले बताउनु भएको हो ।
मानव अधिकार आयोगको रजत जयन्तीको अवसर बागमती प्रदेश कार्यालयले हेटौंडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । “जबसम्म नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकारको ग्यारेन्टी हुदैन तबसम्म देश विकास हुन सक्दैन” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।
नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक, अधिकार तथा स्वतन्त्रताहरूको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाह गरेको भूमिका समय सापेक्ष, सशक्त र प्रेरणादायी रहँदै आएको उहाँले बताउनु भयो ।
बार्षिकोत्सव केवल एक उत्सव मात्र नभई विगतका कार्यसम्पादनलाई बस्तुगत तवरले मूल्याङ्कन गर्ने, वर्तमानका चुनौतीहरूलाई चिर्ने संकल्प गर्ने र आगामी दिनमा स्पष्ट दिशा तय गर्ने अवसर पनि भएको उहाँले बताउनुभयो। “मानव अधिकारको सार्वभौम मान्यताअनुरूप समाजमा न्याय, समावेशिता र सहिष्णुताको संस्कृति संस्थागत गर्न सक्ने प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ” उहाँले भन्नुभयो ।
आयोगले सामाजिक न्यायका पक्षमा गरेको अभियान सराहनीय छ तर अझै पनि समाजमा हिंसा, द्वन्द, विभेद कायमै रहेको उहाँले बताउनुभयो । “जसरी पनि मानवको सम्मानपूर्बक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्दछ” उहाँले भन्नुभयो “कहालीलाग्दा मानव अधिकार हननका घटना घटिराख्नु दूर्भाग्य हो ।”
नेपालको वर्तमान संविधानको धारा २४८ र २४९ ले मानव अधिकार आयोगको गठन, काम, कर्तब्य र अधिकारको बारेमा उल्लेख गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रको २०८०/२०८१ को २४ औं बार्षिक प्रतिवेदन हेर्दा प्रवर्धनात्मक कार्यमा हेटौंडा कार्यालय तुलनात्मक रूपमापछि परेको हो कि जस्तो देखिने उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सचिव महादेव पन्तले सरकार मानव अधिकारको पक्षमा रहेको बताउनुभयो । यसैगरी जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलानले मानव अधिकारको सवाल संवेदनशील भएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर शाहीले मानव अधिकार आयोग र यसक्षत्रमा काम गर्नेहरूलाई सरकारले सधैं साथ र समर्थन गर्दै आएको बताउनुभयो । “मानव अधिकार सबैको सरोकारको सवाल हो” उहाँ भन्नुभयो ।
आयोगको निमित्त प्रमुख पवित्रा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका सहायक प्रजिअ राजेन्द्र प्रसाद कंडेल, उच्च अदालत बारका अध्यक्ष मनप्रसाद भट्टराई, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेशका मन्त्रालयहरुले पेश गरेका योजना तथा कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने गरी प्रभावकारी ढंगबाट कार्यक्रम तयार गरेको उनले बताए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने छ । १४ जेठमा १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुखले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्य सूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
यसैगरी बैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नियुक्तिका लागि धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई राजनीतिक सहमतिका आधारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रवक्ता लामिछानेले बताए ।
यस्तै प्रदेश मन्त्रिपरिषद्ले नीजि वनको साल प्रजातिको रुख कटान तथा ओसारप्रसार अनुगमन सम्बन्धि कार्यविधि, २०८२ स्वीकृत गरेको छ। स्वीकृत कार्यविधि अनुसार प्रदेश सरकारले अनुगमन गर्न सक्ने गरी अधिकार सुनिश्चित गरिएको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित ‘बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२’ लाई बैठकले स्वीकृत गरेको छ।