मकवानपुर । जेनजी आन्दोलनको कारण भौतिक सम्पत्तिमा क्षति पुगेपछी बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि पुनरावलोकन गर्ने भएको छ । आ.व २०८२/८३ को लागि विनियोजित बजेटमा पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।
बैठकले यसबारे अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको बताए ।
वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरवालोकन गर्नुपर्ने भएको मन्त्री तामाङले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनको लागि अध्ययन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो । बजेटमाथिको विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिको अध्ययन कार्यदल गठन गरेर बजेटमा भएको बदनीयत र त्रुटीको अध्ययन भएको थियो ।
बिहीबार साँझ हेटौंडामा बसेको सर्वदलीय बैठकले पनि प्रदेश सरकारको खर्च कटौती गर्ने निर्णय गरेको थियो । सरकारले बजेटको पुनरावलोकनबाट खर्च कटौती, प्रशासनिक संरचनाको हेरफेरलगायतका काम गर्ने तयारी गरेको छ ।
यसैगरी, अघिल्लो मन्त्रिपरिषद् बैठकले १० लाख वा १० लाख भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्ने निर्णय गरेको थियो । अघिल्लो सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेको थियो । चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बिनियोजन भएको छ । प्रदेश सरकारको १४ वटा मध्ये ८ वटा मन्त्रालयहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संविधान दिवसकाे शुभकामना व्यक्त गर्नु भएकाे छ । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज १० बर्ष पूरा भएको छ ।
यसै अवसरमा उहाँले शुभकामना सन्देश मार्फत भन्नु भएकाे छ ‘यो सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्दछु ।’
‘संविधान देशको मुल कानून हो । यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ । नेपाली जनताको संघर्ष र बलिदानबाट वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस / राष्ट्रिय दिवस मनाइरहेका छौँ उहाँले शुभकामनामा भन्नु भएकाे छ । देशको वर्तमान परिस्थिती उल्लाषपूर्ण नभएकाे बताउँदै उहाँले जेनजी आन्दोलनबाट भएका सबैप्रकारका क्षतिलाई परिपुरण गर्नेगरी आगामी कदम चाल्नुपर्ने बताउनु भएकाे छ ।
उहाँले शुभकामना सन्देशमा भन्नु भएकाे छ ‘केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको आजको दिनलाई उत्सवको रुपमा मनाउँदै अघि बढ्नु पर्नेछ ।’

यो १० वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका छन्’ उहाँले भन्नु भएकाेछ ‘संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ ।’
सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहन्छ । त्यसैले पनि संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा हार्दिक अनुरोध समेत गर्दछु उहाँले भन्नु भएकाे छ ।
प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ ‘संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस / राष्ट्रिय दिवस, २०८२ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।’
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज अस्थायी रुपमा पुनः सुरु भएकाे छ । जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि मन्त्रालयकाे काम कृषि विकास निर्देशनालयकाे भवनबाट अस्थायी रुपमा पुनः सुरु भएको छ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीले हेटौंडा–१ चौकीटोलस्थित मन्त्रालयको भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवन पूर्णरुपमा नोक्सान भएपछि मन्त्रालयको सम्पूर्ण काम रोकिएको थियो। मन्त्रालयको कामकाज हाल अस्थायी रुपमा हेटौंडा स्थित कृषि विकास निर्देशनालयको भवनबाट सुरु गरिएको छ। मन्त्रालयले भने क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षण गरी आवश्यक निर्णय पछि मात्र स्थायी व्यवस्थाबारे टुंगो लाग्ने जनाएको छ।
कर्मचारीहरुलाई मनोबल उच्च राखेर काम गर्न हौसला प्रदान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले “जेन–जीको नाममा अराजक समूहले सरकारी तथा निजी संरचनामा नोक्सानी पुर्याएको छ” भन्दै घटना दुःखद भएको टिप्पणी गरेका छन्। भदौ २३ गते आन्दोलनकै क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पौडेलले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सामाजिक संजाल मार्फत राजिनामा घोषणा गरेका सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईंलाई सम्बाेधन गर्दै लिखित राजीनामा बुझाएका हुन् ।
राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।
उनले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा लेखिएको छ, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरें । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएका थिए । २८ पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी समेत गरी ६४ मत सहित प्रदेश सभाकाे सभामुख निर्वाचित भएका थिए ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनु भएको छ । आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो ।
“उनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो” उहाँले सन्देशमा भन्नुभएको छ । यस वर्षको “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ आज आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाहरूको चौतर्फी विकास हुने उनीहरू जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य पनि हो । बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उहाँले उल्लेख गर्नु भएको छ ।
“विशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरूको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौं” उहाँले भन्नुभएको छ ।