मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी मंगलबारकाे मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यस्तै उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेकाे छ। ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए ।
नेपाल प्रहरी स्थापनाको सु-अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रवक्ता गिरीले जानकारी दिए । असोज ३० गते “६५ औं प्रहरी दिवस २०७७” मनाईने छ ।
मकवानपुर । सिन्धुपाल्चोकमा शिक्षा तथा बालबालिकाका लागि क्रियाशील संघसंस्थाहरुको भर्चुअल जिल्ला भेलाले ९ सदस्यीय समिति सर्वसम्मत गठन गरेको हो ।
संस्था नै सदस्य रहने प्रावधानअनुसार संयोजक तामाङ ग्रामीण महिला सिर्जनशील परिवार(जिएमएसपी)का प्रतिनिधी हुन् । समितिको सह–संयोजकमा पेम्बातेम्बा लामा (केटाकेटी संस्था), सचिवमा सरु गिरी (हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप–हेल्प), कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली (टुकी संघ सुनकोशी) र सदस्यहरुमा गोविन्द सापकोटा (सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च–सिडिइसिएफ), डोल्मा तामाङ (महिला आत्मनिर्भरता केन्द्र–माङ्क, रोशनी अधिकारी लामा (हेलम्बु महिला सञ्जाल सशक्तिकरण), छिरिङ लामा (नेपाल शिक्षा अभियान संस्था–एनइआइओ) र गणेश सिग्देल (विकासका लागि हामी–डब्लुएफडी) रहेका छन् ।
साधारण भेलाले छिरिङ लामा र रोशनी अधिकारी लामालाई केन्द्रीय प्रतिनिधीको रुपमा चयन पनि गरेको छ । भेलाको उदघाटन सत्रलाई सम्बोधन गर्दै एनसिई नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराम सुवेदीले संवैधानिक रुपमै प्राप्त शिक्षा अधिकार व्यवहारत कार्यान्वयन गर्नका निम्ति एनसिई नेपालको सञ्जाल देशव्यापी बनाउने र सार्वजनिक शिक्षाको पक्षमा अभियानले सार्थकता पाउन सक्ने बताए । ‘सिन्धुपाल्चोकका शिक्षामा काम गरिरहेका संस्थाबिच समन्वय र सञ्जालीकरण गर्ने काम समन्वय समितिमार्फत् सम्भव बनाउनुपर्छ’ उनले भने ।
एनसिई नेपालका महासचिव लालबहादुर ओलीले शिक्षा विकासमा लामो समयदेखि अनुभव सम्हालेका र उल्लेखनीय योगदान दिइरहेका संस्थाहरुको उपस्थितिले एनसिईले लिएको अभियान सफल बन्नेमा विश्वास व्यक्त गरे । समाज कल्याण परिषद्की सदस्य एवं ग्रामीण महिला सिर्जनशील परिवारकी कार्यकारी निर्देशक नानीमाया थापाले एनसिई नेपालले स्थापनाकालदेखि नै थालेको अभियानप्रति आफू जानकार रहेको भन्दै यसको सदस्यका रुपमा संस्थाहरु आबद्ध हुन पाउनु खुशीको विषय भएको बताईन् ।
एनसिई बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उनले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा संवैधानिक रुपमै उल्लेख भएकाले यसलाई यथार्थमा परिणत गर्न अभियानकर्मी एकजुट हुनुपर्नेमा जोड दिए ।
देशभर साँढे तीन सयभन्दा बढी संघ–संस्थाको सञ्जालका रुपमा क्रियाशील एनसिई नेपाल मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै प्रदेश र जिल्ला तहमा बिस्तार हुँदै आएको छ । सात वटै प्रदेश समन्वय समिति रहेको एनसिई नेपालको अहिलेसम्म २८ जिल्लामा समन्वय समिति गठन भईसकेको एनसिई केन्द्रीय सचिव सुदर्शन सिग्देलले बताए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र बिमोचन गर्दै उनले नीति अनुसार काम नभए उद्देश्य प्राप्ती नहुने बताए।
अहिले पनि तीनै तहले बिकासमुखी भन्दा पनि बितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका हुन्। ‘बजेटलाई अहिलेपनि छर्ने परिपाटी रहेको छ, यो हामीले अन्त्य गर्नुपर्छ’ पाैडेलले भने- ‘सम्बृद्धि हासिल गर्न उत्पादनमुखी काम गर्न जरुरी छ ।’ पौडेलले मौलिक हकको अनुभूति हुनेगरी कार्यान्वयन गर्ने, दायित्व तीनै तहका सरकारको भएको बताए । देशका लागि स्थायित्व र दिगो रूपमा विकास लक्ष्यहरु हासिल गर्दै, समृद्ध नेपालःसुखी नेपालीको सपनालाई टेवा दिने महत्वपूर्ण रूपमा बागमती प्रदेश रहेको उनले बताए ।
समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच प्रदेश सरकारको रहेको पनि उनले स्पष्ट पार्दै भने–‘भौगोलिक विकटता, जनसांख्यिक विविधता, समावेशीताजन्य चुनौती र समस्याहरूसँग जुध्दै समाजवाद उन्मुख वातावरण तयार पार्ने दायित्व समेत प्रदेश सरकारको छ ।’ प्रदेशले दिगो विकासका रणनीतिक प्राथमिकताका विषयगत लक्ष्य तथा उद्देश्यहरूको सूचकहरू जसलाई गतवर्ष प्रकाशित पहिलो आवधिक योजनामा समावेश गरिएका जानकारी दिदैं यसैलाई दिगो विकासको लक्ष्यको आधारभूत तथ्यांक स्रोतको रूपमा प्रयोग भएको उनले जानकारी दिए।
प्रतिवेदनमा नेपालको दिगो विकासको चित्रण प्रस्तुत गर्नको साथै महत्वपूर्ण वर्षको रूपमा रहेको २०१९, २०२२ र २०२५ को लागि प्रमुख आधार तथ्यांकहरू समावेश गर्दै सन् २०३० को लागि मार्गचित्र प्रस्तुत गरेको उनले जानकारी दिए । ‘लक्ष्यहरू पूरा गर्नका लागि केही समय चुनौति रहेपनि हाम्रा विकासका लक्ष्यहरू, निर्धारित उद्देश्यहरू समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी नीजि र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक छ ।’ मुख्यमन्त्री पाैडेलले भने ।
मकवानपुर । पोष्ट बहादुर बोगटी सुरुङमार्ग (भीमफेदी कुलेखानी) सडक आयोजनाको कार्यालय उद्घाटन भएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत रहने गरि शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयालले उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै मन्त्री फुयाँलले बागमती प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम अगाडी बढाउने बताए । उनले नेपाल सुरुङ मार्गमा प्रवेश गरिसकेको भन्दै सुरुङ मार्गको काम अगाडी बढिसकेको दाबी गरे । पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी)को टेण्डर आह्वान हुने गरि काम भईरहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयको उद्घाटनमा सुरुङ मार्गको जानकारी दिँदै पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी) आयोजनाका प्रमुख नबिन कुमार सिंहले यहि आर्थिक वर्षको पुसको दोस्रो हप्तामा वातावरणीय प्रभाव मुल्यांकन(इआइए) सकिए फागुनको पहिलो हप्ता टेण्डरका आह्वान हुने बताए ।
यस्तै अहिलेकै गतिमा काम गर्न सके आर्थिक वर्षको अन्तिम तिर अर्थात जेठको तस्रो हप्ता सम्झौता हुने समेत दाबी गरेका छन् । कार्यालय प्रमुख सिंहका अनुसार भीमफेदी–कुलेखानी सुरुङ मार्ग मकवानपुरको भीमफेदी बजारबाट करिब २ किलोमिटर उत्तर पूर्वबाट ७ दशमलव ५ मिटर व्यास भएको दुईवटा सुरुङ्गमार्ग निर्माण हुनेछ। उनले भने ‘भीमफेदीबाट कुलेखानीसम्मको करिब १६ किलोमिटर जटिल भू बनावट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किलोमिटरमा घटाएर काठमाडौसँग हेटौंडा तथा तराई मधेशको दूरी अझ छोट्याउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।’
सिंहले दिएको जानकारी अनुसार आयोजनाको प्रमुख संरचनाको रुपमा दुई वटा सुरुङ्गहरु एक आपसमा ४० मिटरको फरकमा समानान्तर रुपमा साढे दुई किलोमिटर दुई लेनको सडक, ७५ मिटर र ३५ मिटर लम्बाईको दुई वटा पक्कीपुलहरु बन्ने छन् । सुरुङको आयोजनाको अन्तर्गत नै सुरुङ भित्रको बाहेक अन्य सुरुङ संग जोडिएको बागमती प्रदेशको राजधानी तर्फ संघको राजधानी तर्फको सडकको स्तर वृद्धि हुने भएको छ ।
जस अन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड तथा कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्ड पनि दुईलेनको सडक बनाएर स्तरवृद्धि गरिने भएको हो । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तगर्तबाट कुलेखानी–फाखेल–फर्पिङ्ग सडक सुधार एवम् स्तरोन्नती गर्ने कार्य भईरहेको मन्त्रालयका सचिव सन्जिव बरालले जानकारी दिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरी आयोजनाको सम्भाव्यता अध्ययन तथा निर्माणको लागि तयारी कार्य हुँदै आएको सचिव बरालले बताए । आयोजना निर्माण गर्नको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चितता पश्चात १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपैंया लागतको बहुबर्षिय खरिद गुरुयोजना स्वीकृत गरिसकेको छ ।
सुरुङमार्गको परामर्शदाताको रुपमा काम गर्न दक्षिण कोरिया, चीन,अष्ट्रेलिया, टर्की सहित विभिन्न देशबाट १२ संस्थाले इच्छुक रहेको भन्दै जानकारी गराएको सचिव बरालले बताए । यस्तै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सुरुङमार्गको आयोजनालाई प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था गरेको बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।