मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको “महिनाको उत्कृष्ट प्रहरी छनौट व्यवस्था’ अनुसार २०७७ चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको छ । घाेषणा अनुसार २०७७ साल चैत महिनाकाे सर्वोत्कृष्ट प्रदेश प्रहरी कर्मचारी बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडामा कार्यरत प्रहरी निरीक्षक राेशन थापा भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार २०७७ चैत महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best province Police Of The Month)” घोषणा गरिएको हाे ।
प्रहरी निरीक्षक थापाले आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गरेकाे, टेलिभिजन कार्यक्रम सम्पादन, संचालन, उत्कृष्ट श्रव्यदृष्य सामग्री सहित टेलिभिजन कार्यक्रम निर्माण गरेकाेमा उनलाइ सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएकाे प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले बताइन् ।

साथै प्रहरी निरीक्षक थापाले बागमती प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रहरी कार्यक्रम प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कर्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन गर्ने कार्यमा अहम जिम्मेवारी निर्वाह गरेको लगायतकाे सूचककाे आधारमा अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न प्रहरी निरीक्षक रोशन थापालाई २०७७ चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVIENCE POLICE OF THE MONTH) घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशसभाको चालु सातौँ अधिवेशन मंगलबार राती १२ बजेबाट अन्त्य भएकाे छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख प्रसाइले मंगलबार सूचना जारी गर्दै अाज रातको १२ बजे देखि प्रदेशसभाको चालु सातौँ अधिवेसन बैठक अन्त्य गरेका हुन् । ७४ दिन पछी बसेकाे प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार संसद् अवरुद्ध गर्दै आएको थियो ।
माओवादी केन्द्रले सरकारले बिना मापदण्ड विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको, पर्याप्त छलफल बिना नै निजी कम्पनीको समायावधी बाँकी रहँदै सुरुङ्ग मार्ग निर्माणको काम अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख सहयोग गरिएकोलगायतका विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लगातार अवरोध गरेपछि सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले संसद चलाउन सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले बहिष्कार गरेका थिए ।
बागमती प्रदेश सभामा मंगलबारसम्म चालु हिउँदे अधिवेशनमा पास हुनुपर्ने दूई वटा विधेयक पेश नभई रोकिएको छ । कार्यसुचिमा रहेका भौतिक पुर्वाधार मन्त्रालयले पेश गरेको सडक सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालयले पेश गरेको पर्यटन सम्बन्धी विधेयक छलफल विना नै राेकिएकाे हाे । त्यस्तै महालेखा परीक्षणको प्रतिवेदन, लोक सेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन ।

मकवानपुर । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रका सबै शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएकाे छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएकोमा त्यस्तो निर्देशन दिएका हुन् । यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ ।
त्यसैगरी सिनेमाहल पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रंगशालामा हुने दर्शक सहितको खेलकुद, मनिसहरुको भिडभाड हुने कुनैपनि कार्यक्रम बैशाख मसान्तभित्र नगर्न आदेश जारी गरेका छन् ।
त्यस्तै सार्वजकि स्थल मठ मन्दिर भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न र सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा उल्लेख गरिएको छ ।

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेकाे अविश्वासकाे प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन्। दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।
दुई मन्त्रीले दिए राजीनामा

यसैबीच लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राजीनामा दिएका हुन् ।
मकवानपुर । बागमती प्रदेशसभाकाे आजकाे बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले अबरूद्ध गरेकाे छ । बैठक अबरूद्ध भएसँगै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको भएको प्रदेशसभा सचिवालयले जनाएको छ । माओवादीले सदन अवरुद्ध गरेको योसँगै लगातार चौथो पटक हो ।
यस अघी ७४ दिन पछी चैत २४ गते प्रदेशसभा बैठक बसेकाे थियाे । चैत २४, २५ र २६ गते लगातार ३ दिन बैठक बसेकाेमा ३ नै दिन माओवादी केन्द्रले अबरूद्ध गरेपछी अर्काे सूचना नभएसम्मकाे लागि स्थगित भएकाे थियाे । आज बैशाख २ गते बसेकाे बैठकमा यस अघीकाे बैठकमा उठाएका विषयमा सरकारले उचित जवाफ नदिएकाे भन्दै अवरुद्ध गरेकाे माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेलले जानकारी दिए ।
प्रदेश सरकारले राष्ट्रिय सरोकारका विषय बिना कार्यविधी, मापदण्ड र पूर्वाधार नै नबनाई विद्युतीय बस खरिद प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका थिए ।
सांसदहरुले संसदमा उठेर अवरोध खडा गरेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभए सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खडु्काले जानकारी दिए ।