मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ईद (ईद उल फित्र) पर्वको शुभकामना दिएका छन् । मंगलबार मुख्यमन्त्री पाण्डेले इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद (ईद उल फित्र) पर्वको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि कामना गर्दै शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा पाण्डेले विविधतायुक्त नेपाली समाजमा रहेका हरेक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेको बताएका छन् । हाम्रा साझा सांस्कृतिक धरोहरका रुपमा रहेका असल संस्कृति तथा परम्पराहरुको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन प्रर्वधनमा सघाउ पुग्न गई राष्ट्रिय अर्थतन्त्रमा मद्दत पुग्नेमा विश्वस्त रहेको पाण्डेले बताए ।
‘चाडपर्वहरुले हामी बिच नयाँ उमड्ड र उत्साहका साथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल भएको अनुभूति भएको छ’ शुभकामना सन्देशमा उनले भनेका छन् ‘भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्धिको कामना गर्दछु ।’
संविधानको कार्यान्वयन गर्दै नेपाल भित्रका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा देशलाई अघि बढाउनु आजको आवश्यकता भएको उनले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ । यसका लागि बागमती प्रदेश सरकार प्रदेश भित्र मनाइने पर्व तथा संस्कृतिको संरक्षण¸ जगेर्ना र विकास गर्न प्रतिबद्ध रहेको उनले बताए ।
यस्तै, ईद पर्वले हामी बिच आत्मीयता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भइ समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजिनामा दिएका छन् ।
सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् ।
प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस भएका छन् । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार रेनु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए।
यसपटक पनि उनी सोहि स्थानमा संभवत सोहि व्यक्तिसंग चुनावि मैदानमा आउदैछन । स्थानीय तहको बिकासमा आफ्नो लगाब रहेको र पार्टीले अवसर दिने भएपछि आफूले प्रदेशको सांसद पद त्यागेको उनले बताए ।
मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्षमा आरती पाठक सर्वसम्मत चयन भएकी छिन् ।हेटौंडामा विहीबार भएको दोस्रो अधिवेशन तथा तेस्रो साधरणसभाबाट मकवानपुरकी पाठकको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी समिति उपाध्यक्ष कमलकुमार विश्वकर्मा (मकवानपुर), सचिव नरेश श्रेष्ठ (ललितपुर), सहसचिव मीनकुमार केसी (नुवाकोट), कोषाध्यक्ष सुमित्रा चेपाङ (धादिङ) रहेका छन् । यस्तै समिति सदस्यमा गणेश भण्डारी (काठमाडौं), अनिता नेपाली (चितवन), देवकी पौडेल (नुवाकोट), अनिता मानन्धर (काभ्रे) छन् । समितिको कार्यकाल ३ वर्षको रहनेछ । पाठक मानवअधिकार संरक्षण तथा मानब बेचबिखन विरुद्ध संजालका संयोजक समेत हुन् ।
दामोदर अर्यालको अध्यक्षतामा भएकाे साधारणसभामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
मुख्यमन्त्री पाण्डेद्वारा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको निरीक्षण, कामको रफ्तार बढाउन निर्देशन
मकवानपुर/बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रिय प्राथमिकता आयोजना काठमाण्डौँ तराइ मधेश द्रुतमार्गको सञ्चालित विकास निर्माण कार्यको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेपछि राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको अवस्थाबारे निरीक्षण गरेका हुन् । समितिको बैठक १५ चैतमा बसेको थियो । बैठकमा भएको छलफल अनुसार आयोजनाको कामको अनुगमन गर्न बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल सहित निरीक्षण गर्न आयोजना क्षेत्रमा पुगेका मुख्यमन्त्री पाण्डेले द्रुतमार्ग अन्तर्गत लेनडाँडा क्षेत्रमा निर्माणाधीन सुरुङ तथा पुलहरुको निरीक्षण गरे ।
उनले हाल भैरहेको कामको गति सकरात्मक भएको भन्दै आयोजना अन्तर्गत अन्य क्षेत्रमा कामको गतिमा तीब्रता प्रदान गर्न तोकिएको समय सीमा भित्र आयोजना सम्पन्न गर्ने गरी काम रफ्तार बढाउन निर्देशन दिए । राष्ट्रिय गौरवको प्राथमिकता आयोजनालाई नाम अनुसार कार्य प्रगति हासिल हुने गरी कार्यमा तीब्रता दिन उनले निर्देशन दिएका हुन् ।
उक्त कार्यक्रममा नेपाली सेना २८ नम्बरका बाहिनीपति सहायक रथी हिम्मत विष्ट, नेपाली सेना काठमाण्डौँ तराइ मधेश द्रुतमार्ग आयोजना लेन डाँडाका क्याम्पका प्रमुख मेजर राम सागर यादवले मुख्यमन्त्रीलाइ योजनाको समग्र कार्य प्रगतिको अवस्थाको बारेमा जानकारी गराएका थिए । सुरुङ्मार्गको निर्माण पश्चात ७२ दशमलब ५ किलोमिटर लम्बाइ रहने द्रुतमार्गको कामलाइ बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले समयमा नै सम्पन्न गरेर विकासमा नयाँ फड्को मारेको आभाष बागमती प्रदेशवासीका साथै समग्र नेपालीले गर्न पाउने वातावरण सृजना गर्न र मालसामानको ढुवानीमा हुने गरेको खर्च घटाउने र काठमाडौँ उपत्यका भित्र बढ्दो जनसंख्याको चापलाइ कम हुने अवस्था निर्माणका लागि समेत यो आयोजना नेपालको लागि अत्यावश्यक रहेको बताए ।
निरीक्षणका क्रममा आयोजना अन्तर्गत धेरे क्षेत्रमा निर्माणधानीन सुरुङ, गुणस्तर मापन प्रयोगशाला, रुख कटान गरिएका क्षेत्र लगायतको स्थलगत अवलोकन तथा फिल्डमा खटिएका प्राविधिक तथा मजदुरहरुसँग अन्तक्रिया गरेका थिए ।
प्रस्तावित निजगढ विमानस्थल र द्रुतमार्ग एक आपसमा परिपूरक आयोजना भएकोले बागमती प्रदेश र मधेश प्रदेश विचको सम्बन्धको सेतुको रुपमा अघि बढाउँदै यी दुबै आयोजनालाइ नेपालको गेम चेञ्जर आयोजनाको रुपमा सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिनु भए ।
बागमती प्रदेश सरकार आयोजना सम्पन्न गर्ने क्रममा आउने अवरोधहरुलाइ समयमा नै निराकरण गर्न र सहजीकरण गर्न प्रतिवद्ध रहेको बताए ।
मकवानपुर/बागमती प्रदेश सभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन,२०७८ जारी भएको सातौ दिन परिषदको बैठक बसेको छ ।उच्च शिक्षा ऐनले उत्कृष्ट राष्ट्रिय–अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रकृया, व्यवस्थापन र सञ्चालन पद्धतिलाई अनुसरण गर्ने प्रयत्न गरेको दाबि गरिएको छ ।
यो ऐनले नेपालमा उच्च शिक्षा सम्बन्धी फरक प्रयोग कार्यान्वयन गराउने ध्येय राखेको प्रदेशका मूख्यमन्त्री तथा परिषदका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उक्त ऐनमा व्यवस्था भए अनुसार प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठक २० चैत मा बसेको थियो । ऐन १४ चैतमा जारी भएको थियो । प्रदेशका मूख्यमन्त्री तथा परिषदका अध्यक्ष पाण्डेको अध्यक्षतामा बैठक बसेको हो ।
ऐन जारी भए पश्चात बसेको परिषदको प्रथम पटक प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई कार्यान्वयन गर्नको लागि परिषदलाई पुर्णता दिने, प्रदेश उच्च शिक्षा नियमावली तर्जुमा गर्नका लागि विज्ञ सहितको कार्यदल निर्माण गरी प्रक्रिया अघि बढाउने, ऐनका प्रावधान बारे सरोकार संस्थासंग छलफल अघि बढाउने, परिषद सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाउने, आवश्यक पर्ने बजेटको श्रोतको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
ऐन अन्तरगत उच्च शिक्षा परिषद्को व्यवस्था, सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था गरेको छ । यस अन्तर्गत छुट्टै विधानद्वारा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना हुने विश्वविद्यालय र प्रतिष्ठान छुट्टा छुट्टै संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को ढाँचामा सञ्चालन हुने र विकृतिको रुपमा रहेको सम्बन्धन दिने परम्परालाई निरुत्साहित गरिएको छ ।
बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री तथा परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आगामी दिनमा समुन्नत र शिक्षित बागमती प्रदेश निर्माण गर्नको लागि विषयगत रुपमा सक्षम शैक्षिक संस्थाहरुलाइ विश्वविद्यालयको रुपमा विकास गर्न र लोपोन्मुख कला र सीपलाइ शैक्षिक रुपमा प्रमाणिकरण गर्न र त्यसको सम्मान गर्नका लागि सोही अनुसारको पाठ्यक्रम निर्माण र शैक्षिक मापदण्ड अनुसार स्तरीकृत गर्नका लागि विश्वविद्यालयहरु मार्फत शैक्षिक पाठ्यक्रम निर्माण गरी अध्ययन र अध्यापन गर्ने वातावरण सृजना गर्नु आवश्यक रहेको छ । श्रमको सम्मान गर्ने शैक्षिक प्रणालीको विकास गर्नका लागि बागमती प्रदेश सरकार नीति तर्जुमा गरी आगामती दिनमा अघि बढ्ने पाण्डेले बताए ।
परिषद्का उपाध्यक्ष एवम् सामाजिक विकास मन्त्री कुमारी मोक्तान, परिषद सदस्य तथा प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, सदस्य तथा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णराज पन्त, सदस्य तथा सामाजिक विकास मन्त्रलायका सचिव श्रीकृष्ण नेपालको उपस्थितिमा बसेको थियो ।