मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औँ प्रहरी दिवस सोमबार मनाएको छ । दिवसमा विभिन्न कार्यक्रमहरु गरी मनाएको हो ।
दिवसको अवसरमा बागमती प्रदेश मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रहरीको सेवा कठीन रहेको बताए । उनले शान्ति सुरक्षा सेवा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरु प्रति समवेदना प्रकट समेत गरे । ‘प्रहरीको उपस्थिति हुँदा राज्यको उपस्थिति हुनेछ’ पाण्डेले भने-‘प्रहरीले आफ्नो दायित्वमा रहेर कार्य गर्नु पर्ने हुन्छ ।’ नेपालको संविधान अनुसार प्रहरी प्रदेश सरकारको समायोजनमा आउनुपर्नेमा त्यसो हुन नसकेको पाण्डेले बताए । प्रदेशमा स्मार्ट पोलिस कन्ट्रोल रुम बनाउन प्रदेश सरकारको निर्णय भएको र छिटै काम हुनेमा उनले जानकारी दिए ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले सरकार सञ्चालनमा एक महत्वपुर्ण संगठन प्रहरी संगठन रहेको बताए । ‘जनताको नजिक भएको संस्था भएकोले भरोसा योग्य साथीको रुपमा अगाडी बढ्नु पर्छ’ उनले भने ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुनेछ ।’
दिवसको अवसरमा प्रदेश प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्य सम्मानित भएका छन । बज्राचार्यलाई मुख्यमन्त्री पाण्डेले सम्मानित गरेका हुन । मकवानपुरका ट्राफिक प्रहरी कार्यालय प्रमुख मुनेन्द्र थापालाई ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गरिएको भन्दै सम्मानित गरिएको छ । यस्तै, प्रहरी निरिक्षक मधु कुमार थापालाई सर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा सम्मानित गरिएको छ । कार्यक्रममा सहिद प्रहरीहरुको नाममा उनीहरुको परिवारलाई समेत सम्मान गरिएको थियो ।
२०१२ असोज ३१ गते विधिगत रुपमा प्रहरी संगठनको स्थापना भएको थियो । हरेक बर्ष असोज ३१ गते प्रहरी दिवस मनाउने गरिन्छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुर । संघीयता अभ्यासको ५ वर्ष पुरा हुँदै गर्दा यो संरचनाको बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीहरु नै बढी आउने गरेको छ । तर सरकारी तहबाट भने अन्य कार्यक्रममा भाषणको शैलीमा बाहेक यसको समिक्षा भएको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडामा एक सञ्चारगृहले आयोजना गरेको कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले प्रदेश सरकार विकास निर्माणमा बेकम्मा भएको टिप्पणी गरेका छन् । “दलका नेताहरु कुर्सीमोहमा डुब्ने, जनताको करले मन्त्री पाल्नु पर्ने, यो बेकम्मा प्रदेश तह किन चाहियो” कार्यक्रममा सहभागीहरुले यस्तै आक्रोश पोखेका छन् ।
न्युज २४ टेलिभिजनले हेटौंडामा आयोजना गरेको सिधा कुरा मुख्यमन्त्रीसँग कार्यक्रममा सहभागीहरुले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार बीचको बिचौलिया जस्तो भएको बताए । संघले देला भनेर प्रदेश आशा गरिने, तर संघले सधैं साघुरो मन गर्ने गरेको कारण पनि प्रदेशको औचित्य नभएको टिप्पणी सहभागीहरुले गरेका हुन् ।
कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारलाई बलियो बनाउने जिम्मेवारी केन्द्रले आफ्नो हो भनेर नसोच्दा समस्या भएको बताए । “केन्द्रिकृत मानसिकताले विकास गर्न दिएन” मुख्यमन्त्री पाण्डले भने “केन्द्रिय राजनीति छिन्नभिन्न भएपछि प्रदेशमा कुर्सी मोह बढेजस्तो देखिएको हो, राजनीतिक स्थिरता नभएपछि कसरी विकास हुन्छ ।”
मन्त्रालय फुटाएर मन्त्री थप्ने, जनतालाई पाल्नै गाह्रो भएको सवाललाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डले भने “एउटै मन्त्रीको जिम्मेवारीमा धेरै मन्त्रालयहरु गाभिएको कारण मन्त्रीले सबै तिर ध्यान दिनदिन सक्नु भएन, सोचे अनुसारको विकास भएन, अनि मन्त्रालय फुटाएको हो ।”
कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको संरचनालाइ केन्द्रिय कर्मचारी तन्त्रले नस्वीकारेको बताए । केन्द्रीकृत अभ्यास लामो समयको अभ्यास भएकोले यो संघीयताको बानि पार्न पनि केही लामै समय लाग्ने पौडेलले बताए ।
आफू मख्यमन्त्री भएर आएपछि संरचना निर्माणमा समय लागेको बताउँदै पौडेलले भने “यहासम्म आईपुग्न धेरै संघर्ष गर्न पर्यो, अब खाका बनेको छ, प्रदेश सरकार देखिने भएको छ ।”
कार्यक्रममा नागरिक समाजका अगुवा पत्रकार प्रताप बिष्टले नयाँ संरचनाको कारण केही सकस रहे पनि, जनताको अपेक्ष अधुरो रहेको बताए । “प्रदेश सरकार आफै पनि सेतु बनेर बस्यो, केन्द्रले दिएन भनेर पन्छिएर प्रदेश सरकारले पार पाउने अवस्था हैन ।”
कार्यान्वय तहमा संघीयता आएपनि संघीय आचरण सोचेजस्तो नबनेको उनले बताए । “ केन्द्रीय नेतृत्व सामन्तीवादी प्रवृत्ति छ, यता प्रदेशमा चुनाव उठ्दा दलले धेरै आशा देखायो, तर पूरा गर्न सकेन अनि जनतामा निराशा बढेको छ ।”
कार्यक्रममा हेटौंडाका व्यवसायी राजकुमार न्यौपानेले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएपछि जनताको दुख झनै बढेको बताए । दलहरूबिच खिचातानी भयो, कुर्सी मोह अति भयो, प्रदेशमा काम गर्ने नेताले पनि केन्द्रको दोष दिएर कुर्सीमा बस्न मिल्दैन” न्यौपानेले भने “आफूले गर्न नसके कुर्सी छाडे भैगोनि, केन्द्रले दिएन भन्न पाइन्छ” उनले प्रश्न गरे ।
दशकौ देखि हेटौंडाको बजारको संरचना अस्तव्यस्त रहेको, अस्पतालको अवस्था नाजुक भएको, खेल मैदान, शिक्षा, स्वास्थ्य, रोजगारबारे युवाहरुले मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
मकवानपुर । चितवन जिल्लामा स्क्रब टाइफसका बिरामीकाे संख्या बढेका छन् । गत १ महिनाकाे अवधिमा स्क्रब टाइपसकाे विरामीकाे संख्या बढेकाे भरतपुर अस्पतालले जनाएकाे छ ।
अस्पतालले मंगलबार विज्ञप्ति निकालेर स्क्रब टाइपसकाे विरामीकाे संख्या पछिल्लाे समय बढ्दै गएकाे जनाएकाे हाे । अस्पतालका अनुसार पछिल्ला दिनहरुमा बहिरङग र अन्तरङग विभागमा भर्नाका भएका अधिकांश ज्वरोका बिरामीहरुमा स्क्रब टाइफसका बिरामी देखा परेका छन् । ढिलोगरि अस्पतालमा उपचार गराउन आउने बिरामीमा जटिल लक्षणहरु रगतको प्रेसर घटेर बहुअंग (मृगौला, कलेजो, फोक्सो इत्यादि) बिग्रने र आइसीयूमा उपचार गराउनु पर्ने बिरामीको संख्या उल्लेखीय रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले खुला चौरमा अनावश्यक लामो समय नबस्ने र रोगका लक्षणहरु (ज्वरो आउने शरीर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुनिने, छालामा किर्नाको टोकाईबाट भएको कालो घाउ/खत) देखिमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत विज्ञप्ति मार्फत सर्वसाधारणमा अनुराेध गरेको छ ।
खेतबारीमा रहने मुसाजन्य प्रजातिमा लाग्ने किर्नाकाे टोकाइकाे कारण स्क्रब टाइपस राेग लाग्ने हुँदा घरवरपर झाडी, वुट्यान सफा गर्ने, खेतबारी वा जंगल जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउन आवश्यक रहेको अस्पतालका प्रवक्ता डा.गोविन्द कंडेलले विज्ञप्ति जारी गरी बताएका छन् ।
मकवानपुर । बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप सोमबार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढी भिडभाड तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने हुँदा बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको हो ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङ जिल्लामा ६, नुवाकोट जिल्लामा ६, रसुवा जिल्लामा ६, काभ्रे जिल्लामा ९, सिन्धुपाल्चोक जिल्लामा ५, दोलखा जिल्लामा १, रामेछाप जिल्लामा २ र सिन्धुली जिल्लामा ५ वटा गरी ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालय जानकारी दिएकाे छ । बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढी भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।
स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । प्रवक्ता रेग्मीले ‘यात्रा गर्दा तथा आफूलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखि आफ्नो समस्या समाधान गर्न समेत अनुरोध गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभा सदस्य रिता माझी राप्रपा नेपाल पार्टी प्रबेश गरेकी छिन । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य माझी राप्रपा नेपाल प्रवेश गरेकी हुन् ।
शुक्रबार बागमती गाउँपालिका-३ मा भएको कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराउदै स्वागत गरेका थिए । कार्यक्रममा अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा थापाले बताए ।
मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको दाबी रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत बताए ।
कार्यक्रममा बोल्दै माझीले इमानदारीता, निष्ठाका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएकोले थापा सङ्ग काम गर्दा गौरवको अनुभूति हुने समेत विचार व्यक्त गरिन् ।
कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए । कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझी लगायतको उपस्थित रहेको थियो ।