मकवानपुर । बागमती प्रदेशको निर्माणधिन प्रदेश सभा सचिवालय अपाङमैत्री बनाउन माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको हो ।
महासंघले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । हालको सचिवालय अपाङगमैत्री छैन । प्रदेश सभामा हाल रहेको भवन न्यूनतम पूर्वाधार समेत पुरा नभएको कारण समस्या भएपछि अहिले नयाँ भवन निर्माण कार्य जारी छ ।
महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका ह्विलचियर प्रयोगकर्ता सदस्यलाई सहज हुने गरी प्रदेशसभाको संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनबाट बागमती प्रदेशमा समानुपातिकतर्फबाट १ जना सदस्य अपाङ्गता भएको व्यक्ति छन् ।
स्पाइनल कर्ड इन्जुरीको कारण ह्विलचियर प्रयोगकर्ता सांसदलाई समेत सहज हुने गरी सचिवालय निर्माण गर्न ध्यानाकर्षण गराइएको हो ।
महासंघको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपांगता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ ।’
यस्तै, ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख सचिव खड्काले नयाँ बन्ने प्रदेशसभा बैठकको निर्माण कार्य तिब्र गतिमा भइरहेको र उक्त भवनलाई अपाङ्गमैत्री बनाउनतत्काल पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरे निर्वाचित भएकी छन् । बागमती प्रदेश सभाको सचिवालय गत बैशाखमा निर्माण सम्पन्न हुनुपर्नेमा काम नसिएपछि आगामी जेठसम्मको लागि म्याद थप गरिएको छ ।
मकवानपुर । प्रतिनिधिसभामा बागमती प्रदेशबाट ५ दलका २९ जना समानुपातिक सांसद निर्वाचित हुने भएका छन् । आगामी ५ वर्षे कार्यकालका लागि बागमती प्रदेशबाट ५ दलले समानुपातिक तर्फ २९ जना सांसद सिफारिस गरेका हुन् ।
७ राष्ट्रिय दल मध्ये प्रतिनिधि सभातर्फ बागमती प्रदेशबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समानुपातिक तर्फ प्रतिनिधत्व गर्ने छन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदहरूको सिफारिस सूचीमा बागमती प्रदेशबाट १० जिल्लाकाे प्रतिनिधित्व गर्दै २९ जनाकाे नाम समेटिएकाे छ ।
नेपाली कांग्रेसबाट ९ जना, एमालेबाट ७ जना, माओवादी केन्द्रबाट ४ जना, रास्वपाबाट ५ जना र राप्रपाबाट ४ जना प्रतिनिधिसभा समानुपातिक सांसद सिफारिस हुँदा प्रदेशकाे १० वटा जिल्लाकाे प्रतिनिधित्व गरेकाे छ । ५ दलले सिफारिस गरेकाे नाममा काठमाडाै, लतितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेक, नुवाकाेट, चितवन, धादिङ, दाेलखा र सिन्धुली समेटिदाँ प्रदेश राजधानी भएकाे जिल्ला मकवानपुर सहित रसुवा र रामेछाप ३ जिल्लाबाट प्रतिनिधित्व छैन ।
कांग्रेसले खसआर्य पुरुष तर्फ डा.प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फ अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर)लाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ । उसले आदिवासी जनजाति महिलातर्फ सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौँ), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फ शान्ति विक (चितवन) र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको छ ।
यस्तै एमालेले आदिवासी–जनजातितर्फ देवीप्रसाद भट्टचन (ललितपुर), नैनकला थापा मगर (चितवन), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौँ)लाई सिफारिस गरेको छ । एमालेले खस आर्य पुरुष कोटामा रघुजी पन्त (काठमाडौँ), दलित पुरुष कोटामा ईश्वरबहादुर रिजाल (दोलखा) र दलित महिला कोटामा रुक्मिनी राना बराइली (काभ्रे)लाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रले बागमती प्रदेशबाट समानुपातिक सांसदकाे लागि आदिवासी महिलातर्फ मिना तामाङ (काभ्रे) को नाम समावेश गरिएको छ । यस्तै खस आर्य महिला कोटामा ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट) र दलित पुरुष कोटामा रणेन्द्र बराली (चितवन) लाई सांसद पदका लागि सिफारिस गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद्का लागि आदिवासी–जनजाति तर्फ सुमना श्रेष्ठ (काठमाडौँ), खस–आर्य महिला तर्फबाट डा.चन्दा कार्की (ललितपुर), खस आर्य पुरुष तर्फ डोलप्रसाद अर्याल (काठमाडौँ), दलित पुरुष तर्फ सन्तोष परियार (भक्तपुर) र मुस्लिम तर्फ असिम शाह (काठमाडौँ) लाई सिफारिसमा गरेकाे छ ।
बागमती प्रदेशबाट राप्रपाको समानुपातिक सांसदका लागि खस आर्य कोटामा पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक), आदिवासी जनजाति पुरुषतर्फ बुद्धिमान तामाङ (धादिङ), आदिवासी जनजाति महिला तर्फ बिना लामा (धादिङ) र खस आर्य महिलातर्फ रोशन कार्की (ललितपुर) को नाम सिफारिस भएकाे छ ।
सिफारिस गरिएका समानुपातिक सांसदहरुकाे नामावलीमा दलहरुले निर्वाचन आयाेगमा पेश गरेकाे बन्दसूची भिडाइ याेग्य अयाेग्य रहेकाे हेरिन्छ । निर्वाचन कानून सम्बन्धी प्रक्रिया पुरा गरे पछी साेमबार आयाेगले समानुपातिक सांसद निर्वाचित भएकाे घाेषणा गर्ने भएकाे छ ।
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको छ । साेही अवधीमा देशभरमा १ सय १ वटा उजुरी परेकाेमा बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले जनाएकाे छ ।
प्रदेश कार्यालय हेटौंडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानवअधिकारको अवस्थाबारेको रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो । प्रदेशको १३ जिल्ला मध्ये मानव अधिकार उलंघनका सबैभन्दा बढी काठमाडौं जिल्लाकाे उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
प्रदेशकाे मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुर जिल्लाबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले जानकारी दिए । काठमाडौं जिल्लाबाट ८ वटा उजुरी दर्ता हुँदा ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको उनले बताए । अधिकारीका अनुसार सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २/२ वटा,रामेछापको १ वटा उजुरी दर्ता भएकाे छ ।
आयोगमा उजुरी दर्ता भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले गुनासाे गरेका छन् उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताए । नेपालमा आयोगमा परेका उजुरी मध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको समेत उनले जानकारी दिए ।
प्रदेशमा नागरिक तथा राजनितिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठनागरिकको अधिकार, मानव वेचविखन, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।
मकवानपुर । मंसिर ४ गते भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा तर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाकाे पहिलाे हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ ५ जना मात्रै महिला निर्वाचित भएका हुन । बागमती प्रदेश सभाकाे प्रत्यक्ष तर्फ ६६ निर्वाचन क्षेत्र रहेकाेमा ७ दशमलब ५ प्रतिशत महिला प्रत्यक्षमा विजयी भएका हुन् ।
प्रदेशकाे दाेलखा बाहेक १२ जिल्लाकाे हालसम्मकाे नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २/२ जना रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन् । ५ जना विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए । ५ जनाकाे प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएकाे हाे ।
हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ । बागमती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ प्रतिनिधित्व गर्ने महिलाहरुमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ काे १ बाट नेकपा माओवादी केन्द्री कुमारी मुक्तानले जित हासिल गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् । उनले १९ हजार ८ सय ७३ मत ल्याइन् भने ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए । मुक्तान प्रदेशकाे वहालवाला सामाजिक मन्त्री हुन् । यस्तै माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ काे १ बाट विजयी भइन् । उनले १६ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत पाए ।
यसैगरी सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् ।
काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए ।
यस्तै काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरलाई पछि पार्दै जित हासिल गरेकी छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए ।
महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाकाे प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम हुन पुगेको बताइन्छ ।
मकवानपुर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै वाग्मती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ । माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा एकीकृत समाजवादीले ५, हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।
वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।
समानुपातिकतर्फको पूरा मत गनिसकेपछि मात्रै सांसदको संख्या टुंगो लाग्ने र सदनको दोस्रो र तेस्रो ठूलो दल को बन्ने भन्ने निश्चित हुनेछ । हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।
हाल सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेको सांसदको हालसम्मको ९दोलखाबाहेक० संख्या ४३ पुगेको छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने निश्चित जस्तै छ ।
प्रदेशसभामा निर्वाचित सांसदहरूमा केही पुरानै अनुहार दोहोरिए पनि अधिकांश नयाँ छन् । केही सांसदले दोहोरिएर उम्मेदवार बने पनि पराजय भोग्दै दोस्रो पटक सदनमा प्रवेश पाउन यसपल्टलाई विराम लागेको छ । प्रदेशका बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूमध्ये पनि केही मात्रै विजयी हुन सकेका छन् । निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ काठमाडौंमा राप्रपाका सुनील केसीसँग पराजित भए । श्रेष्ठलाई एमालेले भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । उपसभामुख राधिका तामाङ भने नुवाकोटबाट पुनः निर्वाचित भएकी छन् ।
मन्त्रीहरू माओवादीका रत्नप्रसाद ढकाल, कुमारी मोक्तान, शालिकराम जम्मकट्टेल पुनः निर्वाचित हुँदा श्रम तथा यातायातमन्त्री रहेका माओवादीकै घनश्याम दाहाल भने चितवनमा पराजित भए । पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललाई पनि पुनः सदनमा देख्न सकिने भएको छ । जम्मकट्टेललाई माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघि प्रदेशमा दुई पटक मन्त्री भइसकेका छन् । मन्त्रीमा कांग्रेसबाट टिकट पाउनेमा दीपेन्द्र श्रेष्ठ मात्रै थिए । उनी पुनः निर्वाचित भएका छन् । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भएकाहरूको नामसमेत बन्द सूचीमा समावेश गरेको छैन । जसका कारण कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्ने सबै नयाँ अनुहार हुनेछन् ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गरेका छन् । यसअघि आलोपालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । जसका कारण यसपल्ट उनलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको हो । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल र वसन्तप्रसाद मानन्धर पनि पुनः निर्वाचित भएका छन् ।
यस दलबाट अन्य मन्त्री तथा राज्यमन्त्रीहरू उम्मेदवार बनेनन् । मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी मैदानमै उत्रिएनन् । एमालेबाट प्रदेशसभामा मन्त्री भएका रामेश्वर फुयाँल प्रदेशमा, कैलाशप्रसाद ढुंगेल र सरेश नेपाल प्रतिनिधिसभामा पराजित भए । चितवनबाट सांसद भएका जगन्नाथ थपलिया प्रदेशमा एमाले संसदीय दलको नेता हुने सम्भावना रहेको उनीनिकट नेताहरू दाबी गर्छन् । यसअघि प्रदेशसभामा मुख्य सचेतक रहेका एमालेका दीपक निरौला पराजित हुँदा कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, प्रभात तामाङ, एकीकृत समाजवादीकी रमा आलेमगर, नेमकिपाका सुरेन्द्रराज गोसाईं भने पुनः निर्वाचित भएका छन् । छिरिङ, प्रभात, रमा र सुरेन्द्र अघिल्लो पटक पनि प्रत्यक्षबाटै निर्वाचित भएका थिए । इकान्तिपुरबाट ।